शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
अपडेट

केप भर्डेले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा धकेल्यो

शनिबार, २० असार २०८३, ०५ : ४७
शनिबार, २० असार २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा विश्व विजेता अर्जेन्टिनालाई नवप्रवेशी केप भर्डेले १–१ को बराबरीमा रोक्दै खेल अतिरिक्त समयमा पुर्‍याएको छ।

मियामी स्टेडियममा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि विजेताको टुंगो अतिरिक्त समयमा लाग्ने भएको हो। यस खेलको विजेताले अन्तिम १६ मा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।

अर्जेन्टिनाले खेलको २९औँ मिनेटमा कप्तान लियोनेल मेस्सीको उत्कृष्ट गोलमार्फत अग्रता लिएको थियो। लिसान्द्रो मार्टिनेजको लामो पासलाई मेस्सीले शानदार नियन्त्रण गर्दै गोलरक्षक भोजिन्हालाई छलाएर जाली चुमाएका थिए।

तर दोस्रो हाफको ५९औँ मिनेटमा रायन मेन्डेसको पासमा डेरोय डुआर्टेले सशक्त प्रहार गर्दै केप भर्डेलाई १–१ को बराबरीमा ल्याए। उक्त गोलपछि केप भर्डेले आत्मविश्वासपूर्ण प्रदर्शन गर्दै साविक विश्वविजेतालाई दबाबमा राख्यो।

बराबरीपछि अर्जेन्टिनाले लगातार आक्रमण गरे पनि केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हाले उत्कृष्ट प्रदर्शन गरे। ७३औँ मिनेटमा मेस्सीको चलाखीपूर्ण फ्रिकिकलाई उनले शानदार बचाउ गर्दै टोलीलाई खेलमा कायम राखे। अन्तिम समयमा डिफेन्डर पिको लोपेसले गोललाइनबाट महत्वपूर्ण क्लियरेन्स गर्दै सम्भावित गोल रोकेपछि खेल अतिरिक्त समयमा पुगेको हो।

विश्व वरीयतामा दोस्रो स्थानमा रहेको अर्जेन्टिनाविरुद्ध ५९औँ स्थानमा रहेको केप भर्डेले दिएको चुनौतीलाई विश्वकपकै सबैभन्दा ठूलो रोमाञ्चमध्ये एकका रूपमा हेरिएको छ। पहिलो पटक विश्वकपको नकआउट चरण खेलेको केप भर्डेले साविक च्याम्पियनलाई अतिरिक्त समयमा धकेल्दै ऐतिहासिक प्रदर्शन गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप