विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
सारांश
- फिफा विश्वकप २०२६ मा केप भर्डेका ४० वर्षीय गोलरक्षक भोजिन्हाले उत्कृष्ट प्रदर्शन गर्दै विश्वभर चर्चा बटुलेका छन्।
- उनले स्पेनविरुद्ध सात र अर्जेन्टिनाविरुद्ध आठ बचाउ गर्दै विश्वकपभर कुल १८ बचाउ गरी सर्वाधिक बचाउ गर्ने गोलरक्षकमा तेस्रो स्थान हासिल गरे।
- क्लबविहीन रहेका भोजिन्हाको विश्वकप प्रदर्शनपछि उनलाई राम्रो क्लब पाउने अनुमान गरिएको छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ मा केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हाले आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत विश्व फुटबलको ध्यान खिचेका छन्। ४० वर्षीय गोलकिपरले प्रतियोगिताभर गरेको शानदार बचाउपछि उनी अहिले विश्वभर चर्चाको विषय बनेका हुन्।
स्पेनविरुद्धको समूह चरणको खेलपछि भावुक हुँदै आँसु झार्दै केप भर्डेको झण्डा गर्वका साथ फहराएको उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको थियो। तर उनको लोकप्रियताको मुख्य कारण त्यो तस्वीर मात्र होइन, मैदानमा देखाएको असाधारण प्रदर्शन पनि हो।
भोजिन्हाले स्पेनविरुद्ध सात तथा अर्जेन्टिनाविरुद्ध आठ उत्कृष्ट बचाउ गरेका थिए। विश्वकपभर उनले कुल १८ बचाउ गर्दै प्रतियोगिताका सर्वाधिक बचाउ गर्ने गोलरक्षकहरूको सूचीमा तेस्रो स्थान हासिल गरे। यो सूचीमा कुरासाओका एलोय रुम (२० बचाउ) पहिलो तथा पाराग्वेका ओरलान्डो गिल (१९ बचाउ)सहित दोस्रो स्थानमा रहेका छन्।

हाल भोजिन्हा कुनै पनि क्लबसँग आबद्ध छैनन्। पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेससँगको उनको सम्झौता समाप्त भएपछि उनी फ्री एजेन्टको रूपमा रहेका छन्। तर उनको विश्वकप प्रदर्शनपछि अब उनलाई नयाँ क्लब पाउन धेरै समय नलाग्ने अनुमान गरिएको छ।
इङ्ग्ल्यान्डका पूर्व डिफेन्डर तथा विश्लेषक ग्यारी नेभिलले भोजिन्हाको प्रशंसा गर्दै भने, 'यो विश्वकपपछि उनले राम्रो क्लब पाउनेछन्। उनको खेल शान्त, आत्मविश्वासी र उत्कृष्ट थियो। यति राम्रो गोलकिपर कहाँ लुकेका थिए ?'

त्यस्तै, अर्का पूर्व इङ्ग्लिस स्ट्राइकर इयान राइटले अर्जेन्टिनाविरुद्धको प्रदर्शनपछि भोजिन्हामा 'साँचो नायकको ऊर्जा' देखिएको प्रतिक्रिया दिएका छन्।

केप भर्डे प्रतियोगिताबाट बाहिरिए पनि अन्तिम खेलमा अर्जेन्टिनालाई पारेको सकसका कारण सिंगो टिमको चर्चा भइरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण