शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

अधिकांश क्षेत्रमा सरकार असफल : आजपा

शनिबार, २० असार २०८३, २० : ३८
शनिबार, २० असार २०८३

सारांश

  • आम जनता पार्टी (आजपा) ले सरकारको पहिलो १०० दिनको कार्यसम्पादन समीक्षा गर्दै अधिकांश क्षेत्रमा सरकार अपेक्षाअनुसार सफल हुन नसकेको निष्कर्ष निकालेको छ।
  • आजपाका अनुसार सुशासन, सामाजिक न्याय, राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्रलगायतका क्षेत्रमा सरकारले अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन।
  • पार्टीले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह, नागरिकता, सीमा विवाद, आर्थिक सुधार र रोजगारी सिर्जनामा सरकार असफल भएको आरोप लगाएको छ।

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै अधिकांश क्षेत्रमा सरकार अपेक्षाअनुसार सफल हुन नसकेको निष्कर्ष सार्वजनिक गरेको छ।

आजपाले सार्वजनिक गरेको समीक्षा दस्तावेजमा सुशासन, सामाजिक न्याय, राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्रलगायतका क्षेत्रमा सरकारले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उल्लेख गरिएको छ।

पार्टीका अनुसार सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, सेवा प्रवाह, सामाजिक न्याय र आर्थिक सुधारका क्षेत्रमा प्रभावकारी काम गर्न सकेको छैन। जेनेजी आन्दोलनका पीडितलाई राहत तथा दोषीमाथि कारबाहीको विषय ओझेलमा परेको, सम्पत्ति छानबिनमा पक्षपात भएको, महँगी नियन्त्रण गर्न नसकेको तथा मन्त्रालयमा सल्लाहकार र स्वकीय सचिवालय विस्तार गरेर अनावश्यक खर्च बढाएको आरोप आजपाले लगाएको छ।

आजपाले संविधान संशोधनको प्रक्रिया कर्मकाण्डमा सीमित भएको, प्रशासनिक सुधार र सेवा प्रवाह कमजोर रहेको तथा सार्वजनिक पदाधिकारी नियुक्तिमा अध्यादेश निष्क्रिय बनाएर निकट व्यक्तिलाई नियुक्त गरिएको दाबी गरेको छ।

सामाजिक न्यायको क्षेत्रमा सुकुम्बासी व्यवस्थापनमा प्रगति हुन नसकेको, दलित समुदायसँग गरिएका प्रतिबद्धता कार्यान्वयन नभएको, सीमान्तकृत समुदायमाथि विभेद कायम रहेको तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर नागरिकको मौलिक अधिकारमाथि असर परेको आजपाको भनाइ छ।

राष्ट्रिय हितका विषयमा सरकारी उच्च पदमा विदेशीलाई प्रवेश गराइएको, विदेशीलाई वंशजको नागरिकता दिने प्रक्रिया अघि बढाइएको, नेपाली पूँजी विदेश लैजान सक्ने नीति सुरु गरिएको तथा भारतसँगको सीमा विवादमा सरकारका अभिव्यक्तिले नेपालको दाबी कमजोर बनाएको आरोप पनि आजपाले लगाएको छ। साथै, नेपाली डाटा विदेशीलाई उपलब्ध गराउने नीति र नेतृत्वको संवादहीनताका कारण नेपाल अन्तर्राष्ट्रिय कूटनीतिमा कमजोर बनेको दाबी दस्तावेजमा गरिएको छ।

लोकतान्त्रिक अभ्यासतर्फ लोकतान्त्रिक मूल्य–मान्यतामा ह्रास आएको, कानुनी शासनको सट्टा मनपरी शासनको अभ्यास भएको, संसद्को भूमिका कमजोर बनाइएको तथा पारदर्शी र जनउत्तरदायी शासनको सट्टा अदृश्य समूहको प्रभावमा शासन सञ्चालन भएको आजपाको आरोप छ।

अर्थतन्त्रका विषयमा सरकारले दलाल वर्गलाई संरक्षण गरेको, कर तथा ऋणको भार बढाएको, रुग्ण उद्योग सञ्चालनभन्दा बिक्री गर्ने नीति अघि सारेको, राजस्व संकलन र पुँजीगत खर्च दुवैमा कमजोर प्रदर्शन गरेको तथा रोजगारी सिर्जना, वैदेशिक लगानी आकर्षित गर्न र बजार चलायमान बनाउन असफल भएको आजपाले जनाएको छ।

पार्टीले पुँजीगत बजेट खर्च न्यून रहेको, नयाँ विकास पूर्वाधार आयोजनाको अभाव देखिएको, गरिब, बेरोजगार र किसानका समस्या बेवास्ता गरिएको, योजना छनोटमा पक्षपात भएको तथा बजेट बाँडफाँटमा मनपरी गरिएको आरोप पनि लगाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप