सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

कांग्रेसको १५ औँ महाधिवेशन ‘डिजिटलाइज’ हुने, उपत्यकामा महिला निर्वाचन अधिकृतलाई प्राथमिकता दिइने

आइतबार, २१ असार २०८३, १७ : २६
आइतबार, २१ असार २०८३

काठमाडौँ । नेपाली कांग्रेसले १५औं महाधिवेशनलाई प्रविधिमैत्री बनाउने भएको छ । आइतबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा  बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई ‘डिजिटलाइजेशन’ गर्ने र विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने निर्णय गरेको हो ।

समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न १५औँ महाधिवेशनमा परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको हो । निर्वाचन प्रक्रियालाई पेपरलेस बनाउन इभिएम वा अन्य डिजिटल प्रविधिलाई अगाडि बढाइने समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए । 

निर्वाचन समितिले लैङ्गिक समावेशितालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा महिला कानुन व्यवसायीहरूलाई निर्वाचन अधिकृतको रूपमा प्राथमिकताका साथ खटाउने निर्णय गरेको छ । उपत्यकाका १५ वटै निर्वाचन क्षेत्र, महानगरपालिका र नगरपालिकाहरूमा महिलाहरूले निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्नेछन् ।

निर्वाचन प्रक्रिया सुरु भएदेखि नै निर्वाचन आचारसंहिता पूर्ण रूपमा लागू हुने समितिले जनाएको छ । विधानमा उल्लेख भए बाहेकको अवस्थामा आचारसंहिता पालना गर्न केन्द्रीय कार्यसमिति लगायत सबै तह र निकायलाई आग्रह गरिएको छ ।

निर्वाचन कार्यलाई व्यवस्थित बनाउन समितिले कानुन व्यवसायी तथा अन्य पेशागत समूहहरूलाई स्वयंसेवकको रूपमा सहयोग गर्न आह्वान गरेको छ । इच्छुक व्यक्तिहरूको रोस्टर तयार पारी उनीहरूलाई अभिमुखीकरण दिएर मात्र निर्वाचन अधिकृतको रूपमा खटाइने विज्ञप्तिमा उल्लेख छ । 

समितिले यसअघिका निर्वाचन अधिकृत र सरोकारवालाहरूको अनुभव र सुझावलाई समेत समेटेर महाधिवेशनको तयारीलाई तीव्रता दिने बताएको छ ।

Capture11

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप