युट्युब हेरेरै सुलोचना बनिन् व्यावसायिक कागती कृषक
दाङ। अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम बन्ने गरेको छ। तर दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी सुलोचना शेर्पाले त्यही युट्युबलाई आफ्नो जीवन बदल्ने पाठशाला बनाएकी छन्।
पाँच वर्षअघि मोबाइलको पर्दाबाट सुरु भएको सिकाइले आज उनलाई व्यावसायिक कागती कृषकका रूपमा स्थापित गरेको छ। कुनै औपचारिक तालिम नलिई र कृषि विज्ञको ढोका नढकढक्याई सुलोचनाले युट्युबमा उपलब्ध सामग्री हेरेरै कागतीखेतीका आधुनिक विधि सिकेकी हुन्।
त्यसपछि घरसँगै जोडिएको ११ कट्ठा जग्गामा ३०० वटा कागतीका बिरुवा रोपेर उनले व्यावसायिक खेती सुरु गरेकी थिइन्। उनले भनिन्, ‘मैले युट्युबबाट धेरै कुरा सिकेँ, त्यसबाट आत्मविश्वास बढ्यो र खेती सुरु गर्ने निर्णय गरेँ।’
सुरुआती वर्षमा उत्पादन कम भए पनि उनी निराश भइनन्। बोटको नियमित हेरचाह, सिँचाइ र प्राङ्गारिक मलको प्रयोगलाई निरन्तरता दिएपछि त्यसको प्रतिफलस्वरूप गत वर्ष सबै खर्च कटाएर करिब १ लाख ५० हजार रुपैयाँ आम्दानी गर्न उनी सफल भइन्। यस वर्ष भने उनको बगैँचाका अधिकांश बोट फलले लटरम्म छन्। उत्पादन बढेकाले यसपालि आम्दानी २ लाख रुपैयाँसम्म पुग्ने अपेक्षा उनको छ। उनले खुसी हुँदै भनिन्, ‘गत वर्षभन्दा यसपालि धेरै राम्रो फल लागेको छ, मेहनतको प्रतिफल देखिन थालेको छ।’
अहिले सुलोचनाले विभिन्न कृषिसम्बन्धी सङ्घसंस्था र सरकारी निकायबाट पनि प्राविधिक सहयोग लिन थालेकी छन्। झोल मल, गोठे मल र गड्यौला मलको प्रयोग गरेर प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिइरहेकाले उत्पादनको गुणस्तर सुधारिनुका साथै लागत पनि घटेको उनको अनुभव छ।
उनको बुझाइमा अहिले सूचना र प्रविधिको पहुँच गाउँसम्म पुगेकाले त्यसलाई मनोरञ्जनमा मात्र सीमित नराखी सीप सिक्ने माध्यमका रूपमा उपयोग गर्न सके आत्मनिर्भर बन्न सकिन्छ। कुनै समय मनोरञ्जनका लागि चलाइएको मोबाइल आज उनका लागि खेतीको गुरु बनेको छ भने कागती बगैँचाले उनको जीवनमा आर्थिक आत्मनिर्भरताको नयाँ अध्याय लेखिदिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
-
लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न सम्झौता
-
दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्यो : संयुक्त राष्ट्रसङ्घ
-
कर्णाली नदीमा भेटिएको शवको पहिचान, साङ्गेतडा दुर्घटनाका ३ जना अझै सम्पर्कविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण