प्रशान्त महासागरमा चीनद्वारा क्षेप्यास्त्र परीक्षण
सारांश
- चीनले सोमबार आणविक पनडुब्बीबाट प्रशान्त महासागरतर्फ एउटा क्षेप्यास्त्र परीक्षण गरेको छ ।
- चीनको यो कदमप्रति जापान, अस्ट्रेलिया र न्युजिल्यान्डले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
- चीनले यो परीक्षणलाई वार्षिक सैन्य अभ्यासको नियमित कार्यक्रम बताए पनि छिमेकी मुलुकहरूले यसलाई क्षेत्रीय स्थायित्वमा नकारात्मक असर पार्ने कदम मानेका छन् ।
बेइजिङ । चीनले सोमबार आणविक पनडुब्बीबाट प्रशान्त महासागरतर्फ एउटा क्षेप्यास्त्र परीक्षण गरेको छ । चीनको यो कदमप्रति छिमेकी मुलुकहरू जापान, अस्ट्रेलिया र न्युजिल्यान्डले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार जनमुक्ति सेनाको नौसेना आणविक पनडुब्बीबाट स्थानीय समयअनुसार दिउँसो १२ः०१ बजे अभ्यासका लागि नक्कली वारहेड बोकेको क्षेप्यास्त्र अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा प्रक्षेपण गरिएको थियो । उक्त क्षेप्यास्त्र पूर्वनिर्धारित समुद्री क्षेत्रमा खसेको जनाइए पनि चीनले त्यसको ठ्याक्कै स्थान भने सार्वजनिक गरेको छैन ।
सिन्ह्वाले यो परीक्षणलाई चीनको वार्षिक सैन्य अभ्यासअन्तर्गतको नियमित कार्यक्रम बताउँदै कुनै विशेष देश वा लक्ष्यविरुद्ध लक्षित नभएको दाबी गरेको छ । तर, अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङले चीनले परीक्षणअघि अस्ट्रेलियालाई जानकारी गराएको पुष्टि गर्दै यस्तो कदमले क्षेत्रीय स्थायित्वमा नकारात्मक असर पार्न सक्ने बताएकी छन् ।
फिजीको राजधानी सुवामा आयोजित पत्रकार सम्मेलनमा उनले चीनको तीव्र सैन्य विस्तार पर्याप्त पारदर्शी नरहेको र यसको उद्देश्यबारे क्षेत्रीय मुलुकले अपेक्षा गरेको स्पष्टता नदेखिएको टिप्पणी गरिन् । त्यसैले यस्तो परीक्षणलाई अस्थिरता निम्त्याउने कदमका रूपमा अस्ट्रेलियाले हेरेको उनको भनाइ थियो ।
जापान सरकारले पनि क्षेप्यास्त्र परीक्षणबारे अग्रिम सूचना प्राप्त गरेको जनाएको छ । टोकियोले चीनको बढ्दो सैन्य गतिविधिप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गर्दै यस्ता परीक्षण पुनर्विचार गर्न आग्रह गरेको छ । जापानका अनुसार चीनले आइतबार नै जापानी तटरक्षक बललाई सम्भावित अन्तरिक्षीय भग्नावशेष जापानको विशेष आर्थिक क्षेत्र (ईजेड) नजिक खस्न सक्ने जानकारी दिएको थियो । जापानी समाचार संस्था क्योडोका अनुसार क्षेप्यास्त्र भने जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिरै खसेको थियो ।
यसैबिच, न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सले पनि न्युजिल्यान्डले प्रक्षेपण भएको केही घण्टामै जानकारी पाए पनि यस घटनालाई अस्वीकार्य र चिन्ताजनक बताएका छन् । उनले जारी गरेको विज्ञप्तिमा न्युजिल्यान्ड तथा अन्य प्रशान्त टापु राष्ट्रहरूले चीनले दक्षिण प्रशान्तलाई आफ्नो क्षेप्यास्त्र परीक्षणस्थल बनाएको हेर्न नचाहेको उल्लेख गरेका छन् ।
चीनले यसअघि सन् २०२४ मा एउटा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) परीक्षण गरेको थियो र त्यतिबेला पनि उक्त परीक्षणलाई चीनको तीव्र रूपमा बढिरहेको सैन्य क्षमताको सङ्केतका रूपमा हेरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले–कांग्रेसले संविधान संशोधनबारे कार्यदललाई कुनै सुझाव नदिने
-
‘लालीबजार’, ‘रोल नं. १’, ‘आई एम जितबहादुर’ र ‘जाँड’को आम्दानी कति ?
-
सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु
-
भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल
-
हमासले गाजाको प्रशासनिक निकाय विघटन गर्ने
-
ट्रम्पद्वारा इटालीकी प्रधानमन्त्री मेलोनीमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण