सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युक्रेन युद्ध अन्त्यका लागि सहयोग गर्ने ट्रम्पको प्रस्ताव, पुटिनसँग ९० मिनेट वार्ता

सोमबार, २२ असार २०८३, १३ : ३३
सोमबार, २२ असार २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन संवाद गरी युक्रेन युद्ध अन्त्यका लागि सहयोग गर्ने प्रस्ताव गरेका छन् ।
  • ट्रम्पले नेटो शिखर सम्मेलनको सन्दर्भमा युक्रेन युद्धको समाधान खोज्न आफू तयार रहेको बताएका थिए ।
  • युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्रम्पसँगको वार्तालाई अत्यन्त राम्रो बताएका छन् र दुई नेताबीच नेटो शिखर सम्मेलनमा भेट्ने सहमति भएको छ ।

वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब ९० मिनेट टेलिफोन संवाद गर्दै युक्रेन युद्ध अन्त्यका लागि समाधान खोज्न सहयोग गर्ने प्रस्ताव गरेका छन् । त्यसपछि उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि छुट्टै कुराकानी गरेका छन् ।

क्रेमलिनका वरिष्ठ सहयोगी युरी उशाकोभका अनुसार शनिबार अमेरिकाको स्वतन्त्रता दिवसका अवसरमा भएको फोनवार्ताका क्रममा ट्रम्पले अर्को साता टर्कीमा हुने उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) शिखर सम्मेलनको सन्दर्भमा युक्रेन युद्धको समाधान खोज्न आफू तयार रहेको बताएका थिए ।

उशाकोभका अनुसार ट्रम्पले लडाइँलाई छिटो अन्त्य गर्न र वर्तमान संकट समाधान गर्ने उपाय खोज्न अमेरिका प्रतिबद्ध रहेको कुरा पुनः दोहोर्याएका थिए । वार्तालाई व्यावसायिक र निकै रचनात्मक भएको उल्लेख गर्दै उनले रुसले आफ्नो आधारभूत अडानलाई सम्मान गर्ने राजनीतिक तथा कूटनीतिक समाधान चाहेको बताए । युक्रेन र उसका युरोपेली सहयोगीहरूले युद्धलाई लम्ब्याउने, अझ चर्काउने तथा सर्वसाधारणमाथि आक्रमण गर्ने रणनीति अपनाइरहेको आरोप पनि उशाकोभले लगाए । रुसका तेल पूर्वाधारमाथि युक्रेनले गरेको लामो दूरीका आक्रमणका कारण केही रुसी क्षेत्रमा इन्धन अभाव सिर्जना भएको उनले दाबी गरे ।

फोनवार्ताका क्रममा पुटिनले ट्रम्पलाई युद्धभूमिको अवस्थाबारे पनि जानकारी गराएका थिए । उशाकोभका अनुसार पुटिनले रुसी सेनाले पूर्वी युक्रेनमा क्रमशः नयाँ–नयाँ बस्ती नियन्त्रणमा लिइरहेको बताएका थिए । यसअघि रुसी सैन्य कमान्डरहरूले रणनीतिक रूपमा महत्त्वपूर्ण कोस्त्यान्टिनिभ्का सहर आफ्नो नियन्त्रणमा आएको दाबी गरेका थिए । तर जेलेन्स्की र युक्रेनको जनरल स्टाफले उक्त दाबी अस्वीकार गर्दै सहर अझै युक्रेनी सेनाकै नियन्त्रणमा रहेको बताएका छन् ।

रुसले कुनै पनि शान्ति सम्झौताका लागि युक्रेनको डोनबास क्षेत्र पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आउनुपर्ने अडान दोहोर्याउँदै आएको छ । युक्रेनले भने त्यो सर्त अस्वीकार गर्दै आएको छ । गत महिना जेलेन्स्कीले पुटिनलाई प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गरे पनि पुटिन त्यसका लागि तयार भएका थिएनन् ।

उशाकोभका अनुसार ट्रम्पले अमेरिकी विशेष दूत स्टिभ विटकोफ र जारेड कुशनरले युद्धविरामका लागि मध्यस्थता प्रयास जारी राख्ने र आवश्यक परे पुनः मस्को भ्रमण गर्न तयार रहेको जानकारी दिएका थिए । पुटिनले ट्रम्पलाई मस्को भ्रमणका लागि दिइएको खुला निमन्त्रणा अझै कायम रहेको पनि स्मरण गराएको उनले बताए ।

उता जेलेन्स्कीले आफ्नो टेलिग्राम सन्देशमा ट्रम्पसँगको वार्तालाई अत्यन्त राम्रो बताएका छन् । उनले दुई नेताबीच करिब १ हजार २०० किलोमिटर लामो युद्ध मोर्चाको अवस्थाबारे विस्तृत छलफल भएको जानकारी दिए ।

‘यो युद्ध अन्त्य गर्ने वास्तविक सम्भावना देखिएको छ, र त्यसमा अमेरिकाको दृढ अडान निर्णायक हुनेछ,’ जेलेन्स्कीले लेखेका छन् । उनका अनुसार आफू र ट्रम्पले टर्कीमा हुने नेटो शिखर सम्मेलनका क्रममा प्रत्यक्ष भेटेर युक्रेन युद्धबारे थप छलफल गर्ने सहमति गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप