सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
कृषि

असारको तेस्रो साता ३२ प्रतिशत मात्रै रोपाइँ, गत वर्षभन्दा १२ प्रतिशत कम

सोमबार, २२ असार २०८३, १६ : ३७
सोमबार, २२ असार २०८३

सारांश

  • यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा सुस्त देखिएको छ, जसको मुख्य कारण मनसुन ढिलो सक्रिय हुनु हो ।
  • हालसम्म देशभरि कुल धान रोपाइँ हुनसक्ने क्षेत्रफलको करिब ३२.३८ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको सोही अवधिको ४५.० प्रतिशतको तुलनामा करिब साढे १२ प्रतिशतले कम हो ।
  • कोशी प्रदेशबाहेक अन्य सबै प्रदेशहरूमा गत वर्षको तुलनामा रोपाइँको प्रतिशत घटेको छ, विशेषगरी मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रोपाइँको दर कमजोर देखिएको छ ।

काठमाडौँ । नेपालमा यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा  सुस्त देखिएको छ । कृषि, वन तथा पर्यावरण  मन्त्रालय अन्तर्गत कृषि विभागले आज निकालेको  तथ्याङ्क अनुसार मनसुन ढिलो सक्रिया हुँदा देशभरि रोपाइँ प्रभावित भएको हो ।

विभागका अनुसार  मुलुकभर हालसम्म कुल धान रोपाइँ हुनसक्ने क्षेत्रफलको करिब ३२.३८ प्रतिशत भूभागमा मात्र रोपाइँ सम्पन्न भएको छ । गत वर्ष २०८२ सालको असार २२ गतेसम्ममा नेपालभर ४५.० प्रतिशत क्षेत्रमा रोपाइँ भइसकेको तुलनामा यस वर्षको सोही अवधिसम्मको प्रगति करिब साढे १२ प्रतिशतले न्यून देखिएको हो ।

हालसम्म नेपालको कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेती योग्य क्षेत्रफलमध्ये ४ लाख ४३ हजार ५ सय ९५ दशमलव शून्य ९ हेक्टरमा मात्र रोपाइँ सकिएको छ ।

कोशीमा बाहेक अन्य प्रदेशमा घट्यो धान रोपाइँ 

प्रदेशगत विवरण अनुसार कोशी प्रदेशबाहेक अन्य सबै प्रदेशहरूमा गत वर्षको तुलनामा रोपाइँको प्रतिशत घटेको देखिन्छ । कोशी प्रदेशमा सोमबारसम्मको तथ्याङ्क अनुसार कुल २ लाख ७६ हजार ३ सय ८७ हेक्टर क्षेत्रफलमध्ये ८७ हजार ३३ हेक्टर अर्थात् ३१.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।  जुन गत वर्षको सोही अवधिको २९.५ प्रतिशत भन्दा सामान्य बढी हो ।

सबैभन्दा बढी धान खेती योग्य जमिन रहेको मधेस प्रदेशमा भने रोपाइँको दर निकै सुस्त देखिएको छ । ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर क्षेत्रफल रहेको मधेस प्रदेशमा असार  १९ गतेको तथ्याङ्क अनुसार १५.६ प्रतिशत अर्थात् ६० हजार ३ सय ४६ हेक्टरमा मात्र रोपाइँ सकिएको छ, जबकि गत वर्ष यस अवधिमा त्यहाँ २५.१ प्रतिशत रोपाइँ भइसकेको थियो ।

यसैगरी बागमती र गण्डकी प्रदेशमा पनि रोपाइँको दर गत वर्षको तुलनामा कमजोर देखिएको छ । बागमती प्रदेशमा कुल १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ३३।२ प्रतिशत अर्थात् ३८ हजार २६ हेक्टरमा मात्र रोपाइँ भएको छ ।

जुन गत वर्ष ५१.९ प्रतिशत रहेको थियो । गण्डकी प्रदेशमा कुल ९३ हजार ६ सय ६ हेक्टर क्षेत्रफलमध्ये ४१ प्रतिशत अर्थात् ३८ हजार ३ सय ८९ हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्ष गण्डकीमा यस अवधिमा ५५.६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । लुम्बिनी प्रदेशमा कुल ३ लाख १ हजार ३ सय ७२ हेक्टर क्षेत्रफलमध्ये ३७.३ प्रतिशत (१ लाख १२ हजार ५ सय ९ हेक्टर) भूभागमा रोपाइँ भएको छ । यहाँ गत वर्ष ५२.१ प्रतिशत रोपाइँ सकिएको थियो । 

कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि रोपाइँको रफ्तारमा गिरावट आएको देखिन्छ । कर्णाली प्रदेशमा कुल ४३ हजार २ सय ९० हेक्टर क्षेत्रफलमध्ये असार १९ गतेसम्म ४०.५ प्रतिशत अर्थात् १७ हजार ५ सय ४९ हेक्टरमा मात्र रोपाइँ भएको  छ र  जुन गत वर्षको ७१.७ प्रतिशतको तुलनामा निकै कम हो । प्रतिशतका आधारमा सबैभन्दा बढी रोपाइँ भएको सुदूरपश्चिम प्रदेशमा पनि गत वर्षको तुलनामा यसपालि सुस्तता देखिएको छ । सुदूरपश्चिमको कुल १ लाख ५४ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमध्ये हालसम्म ५७.९ प्रतिशत अर्थात् ८९ हजार ७ सय ४२ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ र।  जबकि गत वर्ष सोही अवधिमा त्यहाँ ८२.८ प्रतिशत रोपाइँ भइसकेको थियो ।

विभागका  अनुसार मध्य क्षेत्र र पश्चिम क्षेत्रमा मनसुन समयमै सक्रिय नहुँदा समयमै रोपाइँ हुन नसकेको हो । विभागका अनुसार मनसुनको सक्रियता र सिँचाइको उपलब्धतामा आएको फेरबदलका कारण यस वर्ष धान रोपाइँको समग्र राष्ट्रिय औसत दरमा कमी आएको आकलन गरिएको छ ।

734931980_860435690165469_8042820582008561653_n 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप