रास्वपाको केन्द्रीय समितिले कहिले पाउँछ पूर्णता ?
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन भएको १० दिन पूरा भएको छ । तर पदाधिकारी र केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन । असार ७ देखि १२ गतेसम्म चितवनमा भएको महाधिवेशनमा ९९ केन्द्रीय सदस्य र ७ जना पदाधिकारी निर्वाचित भएका थिए । रास्वपाको संशोधित विधान अनुसार १८ सदस्यीय पदाधिकारी सहित १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । पार्टी सभापतिमा रवि लामिछाने निर्वाचित भएका छन् । तीन जना उपसभापतिमध्ये पुरुषतर्फ डा. स्वर्णिम वाग्ले, महिलातर्फ सोविता गौतम निर्वाचित भएकी छिन् ।
दुई महामन्त्रीमध्ये एकमा विपिनकुमार आचार्य निर्वाचित भएका छन् । पाँच जना सहमहामन्त्रीमध्ये पुरुषतर्फ असिम शाह र हरि ढकाल निर्वाचित भएका छन् । एक महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छिन् । बाँकी पदाधिकारी सहित ५१ केन्द्रीय सदस्यलाई मनोनित गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिइएको छ ।
नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई रविले असार १७ गते पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । शपथग्रहण सम्पन्न लगत्तै केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा सभापति रविले मानेनित सदस्यहरूको प्रस्ताव पेस गरेनन् ।
महामन्त्री विपिनकुमार आचार्यले विधान अनुसार सभापतिले मनोनित गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको विषयमा छलफल भइरहेको जानकारी दिए । विधान अनुसार समावेशी, भूगोल र पार्टी एकताको भावनालाई मध्यनजर गरी सभापतिले गृहकार्य गरिरहेको आचार्यको जिकिर छ ।

‘निर्वाचित केन्द्रीय सदस्यहरूले भर्खर शपथग्रहण गर्नुभएको छ । पार्टीको विधान अनुसार ५१ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार सभापतिलाई दिइएको छ’, रातोपाटीसँग उनले भने, ‘समावेशी, भूगोल र एकताको भावना अनुसार सबै पक्षलाई समेटेर लैजान सभापतिलाई मनोनित गर्ने अधिकार दिएको हो । त्यही अनुसार उहाँ (रवि)ले गृहकार्य गरिरहनुभएको छ । सकभर चाँडै नै केन्द्रीय समितिलाई जानकारी दिनुहुन्छ ।’
आचार्यको अनुसार बाँकी ११ पदाधिकारीमध्ये चारजना अनिवार्य महिला र बाँकी खसआर्य बाहेकका मनोनित हुनुपर्ने बाध्यकारी व्यवस्था विधानमा छ । निर्वाचित हुने ७ जना पदाधिकारीमध्ये असिम बाहेक सबै खसआर्यका छन् । विधान बमोजिम महिला ३३ प्रतिशत, खसआर्य ३०.२८ प्रतिशत, आदिवासी जनजाति २८.७२ प्रतिशत, मधेसी १६.१५ प्रतिशत, दलित १३.४४ प्रतिशत, थारु ६.५२ प्रतिशत र मुस्लिम ४.८९ प्रतिशत केन्द्रीय समितिमा प्रतिनिधित्व हुनुपर्नेछ । तर निर्वाचन प्रक्रियाबाट अधिकांश खसआर्य क्लटरबाट आएका छन् ।
स्रोतका अनुसार सभापति रवि र वरिष्ठ नेता बालेन शाह समूहबाट ५०/५० प्रतिशत मनोनित गर्ने विषयमा सहमति जुटेको छैन । रविले आदिवासी जनजाति, थारू, मुस्लिम, मधेसी लगायत क्लस्टर मिलाउन ६० प्रतिशत आफू राख्ने र बाँकी बालेन समूहलाई दिनेगरी छलफल भइरहेको छ ।
‘सबै पक्षलाई समेटेर जैजानुपर्ने चुनौती सभापतिलाई छ । आइतबारसम्म ६०/४० मा मनोनित गर्नेगरी रवि र बालेनबिच छलफल भइरहेको छ । ५१ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार पार्टीले रविलाई दिएको छ । आदिवासी जनजाति, महिला, मुस्लिम, थारू, मधेसी सबै पक्षलाई मिलाएर मनोनित गर्नुहुन्छ । एकपटक मनोनित नभएपनि आवश्यकता अनुसार हुनसक्छ’, स्रोतले भन्यो ।
पूर्व भद्र सहमति अनुसार वरिष्ठ नेतामा प्रधानमन्त्री रहेका बालेन सर्वसम्मत छन् । उपसभापतिमा बालेन समूहबाट सुनिल लम्सालको चर्चा छ ।

उनी अहिले भौतिक पूर्वाधार विकासमन्त्री छन् । महामन्त्रीमा भूपदेव शाहको चर्चा छ । यद्यपि गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री बालेनका नीति, प्रशासन तथा सुशासन सल्लाहकारले पनि आकांक्षा देखाएको बुझिएको छ ।
प्रवक्तामा प्रमोद न्यौपानेको सम्भावना बलियो छ । निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, निर्वतमान प्रवक्ता मनिष झाले इच्छा नदेखाएको स्रोतले बतायो ।
‘बालेन समूहबाट को–को पदाधिकारीमा बस्ने टुंगो लागेको छैन । महामन्त्रीमा भूपदेव ब्याक भएको जानकारी आएको छैन । उपसभापति र महामन्त्री बालेन पक्षले राख्ने लगभग निश्चित नै छ । प्रवक्तामा प्रमोदजीको सम्भावना छ । कवीन्द्रजी महामन्त्री भइसकेको व्यक्ति भएकाले प्रवक्ता बन्न इच्छुक हुनुहुन्न । मनिषजीले प्रवक्ता नबन्ने भनिसक्नुभएको छ’, स्रोतले भन्यो ।
सहमहामन्त्रीमा थारू समुदायको प्रतिनिधित्व हुनेगरी लक्ष्मण थारुको सम्भावना रहेको बुझिन्छ । कोषाध्यक्षमा निर्वतमान लीमा अधिकारीले दोहोरिने इच्छा देखाएकी थिइनन् । अधिकारीले सहमहामन्त्रीमा उम्मेदवारी दिएर फिर्ता लिएकी थिइन् । रविले कोषाध्यक्षमा अधिकारीलाई नै प्रस्ताव गरेका छन् । सहकोषाध्यक्षमा महिला तथा आदिवासी समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले बसुमाया तामाङ दोहोरिने सम्भावना बलियो छ । यसैगरी तीन जना सहप्रवक्ता र एक सहकोषाध्यक्षको पनि टुंगो लागेको छैन ।
पार्टी एकताको बेला रास्वपाले बालेन समूह, विवेकशील साझा समूह, जेनजी समूह, थारुहट/थारुवान समूह र दलित समुहलाई समायोजन गरेको थियो । विवेकशील साझाबाट उपसभापतिमा उम्मेदवारी दिएकी समीक्षा बास्कोटा, महामन्त्रीमा उम्मेदवारी दिएकी रञ्जु दर्शनाले फिर्ता लिएकाले उनीहरूको व्यवस्थापन मिलाउनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको हनिमुन पिरियड सकियोः जस्तो थियो उस्तै छ फेवाताल
-
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा
-
५४ वर्षसम्म पनि डुम्रे–बेँसीसहर सडक स्तरोन्नति हुन सकेन
-
१९ दिनमा साढे ४० हजार मेट्रिकटन मल आपूर्ति
-
‘सरकारले देशलाई सही दिशा दिन सकेको देखिँदैन, प्राविधिक सुधार चाहिँ राम्रै छ’
-
लुटपाट आरोपमा फिलिपिन्सका अर्का सिनेटर पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण