मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
सशस्त्र प्रहरी स्कुलको रकम हिनामिना प्रकरण

सशस्त्रको स्कुलको ११ करोड रकम एमडी ट्राभल्सको खातामा

मङ्गलबार, २३ असार २०८३, १९ : ५७
मङ्गलबार, २३ असार २०८३

काठमाडौँ। कीर्तिपुर स्थित सशस्त्र प्रहरीको नेपाल एपीएफ स्कुलमा भएको आर्थिक अनियमितता प्रकरणमा काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको छ । स्कुलमा लेखापालको रूपमा कार्यरत इन्स्पेक्टर कल्पना गुरुङ र काभ्रेको मंगलटार घर भएका लिला बहादुर लामा तामाङ अहिले जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छन् । दुवै जना असार २० मा पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले सुरुमा घटनाबारे आन्तरिक छानबिन गरेको थियो । कानुन निर्देशनालयले आन्तरिक छानबिन गर्दा त्रुटि भेटिएपछि त्यसबारे अनुसन्धान गर्न सशस्त्रले काठमाडौँ प्रहरीलाई पत्राचार गरेको थियो।

आरोपीहरू विरुद्ध ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

इन्स्पेक्टर गुरुङ विगत ६ वर्षदेखि निरन्तर एपीएफ स्कुलको लेखा प्रमुखको रूपमा कार्यरत थिइन् । सशस्त्रको विद्यालयको खातामा हुनुपर्ने रकम लिला बहादुर लामाले सञ्चालन गरेको एमडी एडभेन्चर ट्राभल्स एण्ड टुर्स प्रालिमा अनधिकृत रूपमा ट्रान्सफर गरेको भेटिएको छ।

लामा काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–९ स्थित पिन्थलीका स्थानीय हुन् । नक्सालमा कार्यालय रहेको सो ट्राभल्स एण्ड टुर्ससँग स्कुलको कुनै कारोबार नभए पनि ११ करोड रुपैयाँ लेखापालको समन्वयमा ट्रान्सफर गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सो रकम चालु आर्थिक वर्षभित्र ट्राभल्सको खातामा ट्रान्सफर गरिएको हो।

यसअघिका आर्थिक वर्षमा पनि गुरुङ र लामा मिलेर स्कुलको रकम अनियमितता गर्ने गरेको आशङ्का छ। सशस्त्रले चालु आर्थिक वर्षको मात्रै हिसाब आन्तरिक छानबिन गरेको थियो । एमडी एड्भेन्चर ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक लिला बहादुर लामा तामाङ लैनचौर स्थित ‘भाउडे’को पनि सञ्चालक मध्येका हुन्। भाउडे जर्मनीको आउटडोर ब्राण्डका कपडा उत्पादन गर्ने कम्पनी हो । लैनचौरमा भाउडेका ज्याकेट र आउटडोर कपडा सोरुमसँगै रेस्टुरेन्ट पनि सञ्चालनमा छ । सो सोरुमको मुख्य सेयर लगानीकर्ता मध्येका लामा एक जना हुन्।

सशस्त्रको स्कुलको रकम लगेर लिलाले भाउडेमा पनि लगानी गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । अनुसन्धानमा संलग्न एकजन अधिकृत भन्छन्, ‘स्कुलको रकम सिधै भाउडेमा गएको देखिँदैन तर, लामा भाउडेका सञ्चालक मध्येका एक हुन् ।’

एमडी एडभेन्चर ट्राभल्स एण्ड टुर्स प्रालिमा लगेर सो रकम भाउडेमा समेत लगानी गरेको प्रहरीको आशङ्का छ । त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

स्कुलको रकम ३ वटा बैंकको खाताबाट एमडी एडभेन्चरको खातामा ट्रान्सफर गरेको भेटिएको छ । ग्लोबल आइएमई बैंक, एनआईसी एसिया र राष्ट्रिय बाणिज्य बैंकबाट करोडौं रकम अनधिकृत तवरले ट्रान्सफर भएको भेटिएको हो । इन्स्पेक्टर कल्पना गुरुङले स्कुलको पत्र बनाएर बैंकको शाखामा आफैँ पटक पटक पुगेको र रकम ट्रान्सफर गर्न लगाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । केही रकम गुरुङले कनेक्ट आइपिएस मार्फत पनि ट्रान्सफर गरेको भेटिएको छ। स्कुलका कमाण्डेन्टलाई झुक्याएर लेखापालले कीर्तिपुरमा रहेका बैंक शाखाबाट भन्दा बाहिरबाट रकम ट्रान्सफर गराएकी थिइन् । सो विद्यालय कीर्तिपुरमा सञ्चालित छ । विद्यालयको कमाण्डेट हाल एसपी लेखनाथ खनाल छन् ।

सशस्त्र प्रहरी हेड्क्वार्टरले प्रारम्भिक छानबिन गर्दा ४ आर्थिक वर्षको बैंकिङ्ग कारोबारको विवरण मागेर हेरेको थियो। गुरुङ सशस्त्र प्रहरी नायव निरीक्षक (सई) हुँदा देखी नै एपीएफ स्कुलको लेखामा कार्यरत थिइन् । इन्स्पेक्टरमा बढुवा भएपछि पनि लगातार ४ वर्षदेखि त्यहीँ कार्यरत छिन्।

एपीएफ स्कुल गुठी अन्तर्गत सञ्चालन हुँदै आएको छ। प्रशासनिक नेतृत्व सशस्त्रको भए पनि कीर्तिपुर नगरपालिकाको नीति अनुसार सो विद्यालय नियमन हुने गर्छ। यसअघि २०८२ मंसिरमा पनि विद्यालयको रासन व्यवस्थापनमा अनियमितता भएको आरोप सहित विभिन्न निकायमा उजुरी परेको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप