बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने

बिहीबार, २५ असार २०८३, १३ : ४२
बिहीबार, २५ असार २०८३

सारांश

  • लर्ड्स क्रिकेट मैदानमा १४२ वर्षपछि पहिलो पटक महिला टेस्ट क्रिकेट खेल आयोजना हुन लागेको छ ।
  • शुक्रबारदेखि सुरु हुने चारदिने ऐतिहासिक खेलमा इङ्गल्यान्डले भारतको सामना गर्नेछ ।
  • यो खेल इङ्ग्ल्यान्डकी अनुभवी ब्याटर ट्यामी बिउमन्टको अन्तर्राष्ट्रिय क्रिकेट करियरको अन्तिम खेल पनि हुनेछ ।

काठमाडौँ । लन्डनस्थित विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा पहिलो पुरुष टेस्ट आयोजना भएको १४२ वर्षपछि अन्ततः पहिलो महिला टेस्ट क्रिकेट खेल हुन लागेको छ । 

शुक्रबारदेखि सुरु हुने चारदिने ऐतिहासिक खेलमा इङ्गल्यान्डले भारतको सामना गर्नेछ । भारतका मुख्य प्रशिक्षक अमोल मुजुमदारले यस ऐतिहासिक अवसरप्रति उत्साह व्यक्त गर्दै भने, ‘लर्ड्समा यो पहिलो महिला टेस्ट हुन लागेको कुरा सोच्दा नै अचम्म लाग्छ ।’

उनले थपे, ‘यो साँच्चिकै विशेष अवसर हो र हामी यसको निकै प्रतीक्षामा छौँ ।’

यो खेल लर्ड्समा आयोजना भएको पहिलो महिला अन्तर्राष्ट्रिय क्रिकेट खेलको ५० वर्षभन्दा बढी समयपछि हुन लागेको हो । सन् १९७६ अगस्ट ४ मा भएको उक्त एक दिवसीय खेलमा इङ्गल्यान्डले अस्ट्रेलियालाई आठ विकेटले पराजित गरेको थियो ।

त्यसबेला इङ्ग्ल्यान्ड टोलीको कप्तानी महिला क्रिकेटकी अग्रणी व्यक्तित्व राचेल हेहो फ्लिन्टले गरेकी थिइन् । त्यो समय महिला खेलाडीहरूले अहिलेझैँ सेता वा रंगीन पाइन्ट होइन, स्कर्ट लगाएर क्रिकेट खेल्ने गर्थे ।

सन् २०१७ मा निधन भएकी हेहो फ्लिन्टको सम्मानमा अहिले लर्ड्सको एउटा प्रवेशद्वारको नाम उनकै नाममा राखिएको छ ।

तर सन् १९७६ मा लर्ड्सको स्वामित्व रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले महिलालाई सदस्यता दिने व्यवस्था गरेको थिएन । त्यसबेला महिला खेलाडीहरूले मैदान प्रवेश गर्नुअघि ऐतिहासिक ‘लङ–रुम’ हुँदै हिँड्ने कल्पना पनि गर्न सक्दैनथे ।

लर्ड्स क्रिकेट मैदानमा पहिलो पटक महिला टेस्ट क्रिकेट खेल हुँदैछ, जहाँ इङ्गल्यान्डले भारतसँग ऐतिहासिक चारदिने टेस्ट खेल्नेछ ।

त्यो ऐतिहासिक खेलमा इङ्ग्ल्यान्डका लागि पाँचौं नम्बरमा ब्याटिङ गरेकी मेगन लियरले त्यस अनुभवलाई चन्द्रमामा मानव अवतरणसँग तुलना गरेकी थिइन् ।

उनले द गार्डियनसँग भनेकी थिइन्, ‘सन् १९७६ मा लर्ड्सको पवित्र मैदानमा पाइला टेक्नु हाम्रो लागि एउटा सानो कदम थियो, तर महिला क्रिकेटको भविष्यका लागि त्यो विशाल फड्को थियो ।’

आज अवस्था धेरै बदलिएको छ । अहिले दुवै टोली पूर्ण रूपमा व्यावसायिक क्रिकेट खेलिरहेका छन् । यो टेस्ट इङ्ग्ल्यान्ड महिला टोलीको एक साताभित्र लर्ड्समा हुने दोस्रो खेल पनि हुनेछ । गत आइतबार यही मैदानमा सम्पन्न महिला टी–२० विश्वकपको फाइनलमा इङ्ग्ल्यान्ड अस्ट्रेलियासँग पराजित भएको थियो । उक्त खेल हेर्न दर्शकदीर्घा पूर्ण रूपमा भरिएको थियो ।

विश्वकप टोलीका नौ खेलाडी यस टेस्टका लागि पनि इङ्ग्ल्यान्ड टोलीमा समावेश छन् । कप्तान न्याट स्किभर–ब्रन्ट पिँडुलाको चोटबाट पूर्ण रूपमा निको नभए पनि खेल्ने आशामा छन् ।

‘इतिहास रचिने क्षण’

इङ्ग्ल्यान्डकी मुख्य प्रशिक्षक शार्लोट एडवाड्र्सले भनिन्, ‘हामीलाई धेरैअघि नै थाहा थियो कि यो टेस्ट हाम्रो तालिकामा छ ।’

उनले थपिन्, ‘हाम्रा धेरै खेलाडीहरूले टी–२० विश्वकपकै क्रममा पनि टेस्ट क्रिकेटको तयारी गरिरहेका थिए । त्यसैले हामी सबै यो अवसरलाई लिएर निकै उत्साहित छौँ ।’

सन् २००९ मा लर्ड्समै भएको महिला टी–२० विश्वकप जिताउने कप्तानसमेत रहेकी एडवाड्र्सले भनिन्, ‘यो हाम्रो टोली र भारतीय टोली दुवैका लागि ऐतिहासिक टेस्ट हो । आगामी चार दिन फेरि ठूलो दर्शकसामु खेल्न पाउने प्रतीक्षामा छौँ ।’

१८ वर्षीया युवा स्पिनर टिली कोर्टिन–कोलम्यानले पनि यस अवसरको महत्त्व राम्ररी बुझेकी छन् ।

उनले भनिन्, ‘मैले लोटी (सार्लोट) एडवाड्र्ससँग कुरा गर्दा उहाँले आफू खेल्दा महिलालाई लङ रुममा प्रवेश गर्न अनुमति नहुने कुरा सुनाउनुभएको थियो ।’

यो खेल लर्ड्समा आयोजना भएको पहिलो महिला अन्तर्राष्ट्रिय क्रिकेट खेलको ५० वर्षभन्दा बढी समयपछि हुन लागेको हो । सन् १९७६ अगस्ट ४ मा भएको उक्त एक दिवसीय खेलमा इङ्गल्यान्डले अस्ट्रेलियालाई आठ विकेटले पराजित गरेको थियो ।

उनले थपिन्, ‘लर्ड्समा पहिलो महिला टेस्ट इतिहास बन्ने क्षण हो । त्यसको हिस्सा बन्न पाउनु मेरो लागि सबैभन्दा ठूलो गौरवको विषय हुनेछ ।’

ट्यामी बिउमन्टको अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदाइ

यो ऐतिहासिक खेल इङ्ग्ल्यान्डकी अनुभवी ब्याटर ट्यामी बिउमन्टको अन्तर्राष्ट्रिय क्रिकेट करियरको अन्तिम खेल पनि हुनेछ ।

१७ वर्षअघि राष्ट्रिय टोलीबाट डेब्यु गरेयता उनले इङ्ग्ल्यान्डका लागि २६० अन्तर्राष्ट्रिय खेल खेलेकी छन् । उनी टेस्ट क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो इङ्ग्लिस महिला खेलाडी पनि हुन् । उनले सन् २०२३ मा ट्रेन्ट ब्रिजमा अस्ट्रेलियाविरुद्ध २०८ रन बनाएकी थिइन् ।

३५ वर्षीया बिउमन्टले भनिन्, ‘जब म सानी छँदा क्रिकेटसँग प्रेम गर्न थालेकी थिएँ, त्यतिबेला इङ्ग्ल्यान्डका लागि क्रिकेट खेल्न सकिन्छ भन्ने कल्पना पनि गरेकी थिइनँ ।’

घरेलु क्रिकेट भने निरन्तर खेलिरहने उनले थपिन्, ‘लर्ड्समा पहिलो महिला टेस्ट खेल्दै अन्तर्राष्ट्रिय करियरको अन्त्य गर्न पाउनु मेरो जीवनकै सबैभन्दा उपयुक्त अवसरजस्तो लागेको छ । मैले आफ्नो क्रिकेट यात्रा यति विशेष हुनेछ भनेर कहिल्यै सोचेकी थिइनँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप