शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

कर्णाली नदीको डङ्डगे क्षेत्रमा भेटिएको शव साङ्गेतडा दुर्घटनाकी सिर्जनाको, अझै दुईको अवस्था अज्ञात

शुक्रबार, २६ असार २०८३, ०८ : ४४
शुक्रबार, २६ असार २०८३

सारांश

  • पश्चिम सुर्खेतको डङ्डगे क्षेत्रमा कर्णाली नदीमा भेटिएको शव साङ्गेतडा दुर्घटनामा बेपत्ता भएकी सिर्जना खड्काको भएको पुष्टि भएको छ।
  • कालिकोटको रास्कोट नगरपालिका-२ की १८ वर्षीया सिर्जनाको शव घटना भएको स्थानदेखि निकै तल पश्चिम सुर्खेतको चौकुने गाउँपालिका-४ मा पर्ने डङ्डगे क्षेत्रमा भेटिएको थियो।
  • यस दुर्घटनामा अझै दुई जना, तुलाराम सुबेदी र सहचालक राम प्रसाद सुवेदीको अवस्था अज्ञात छ।

‎‎सुर्खेत । कर्णाली नदी अन्तर्गत पश्चिम सुर्खेतको डङ्डगे क्षेत्रमा भेटिएको शव साङ्गेतडा दुर्घटनामा बेपत्ता भएकी सिर्जना खड्काको भएको पुष्टि भएको छ।

‎‎जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकका अनुसार, बिहीबार सिर्जनाका बुबा धन बहादुर खड्काले शवको पहिचान गरी सनाखत गरेका हुन्।

‎‎कालिकोटको रास्कोट नगरपालिका-२ की १८ वर्षीया सिर्जनाको शव घटना भएको स्थानदेखि निकै तल पश्चिम सुर्खेतको चौकुने गाउँपालिका (४ मा पर्ने डङ्डगे क्षेत्रमा मंगलबार स्थानीयले देखेका थिए।

‎‎निकै विकट स्थान भएकाले बुधबार प्रहरी चौकी बिजौराको टोली गएर ल्याएको थियो। ‎प्रदेश अस्पतालमा राखिएको शव बिहीबार उनका बुबाले खनाखत गरी लगेको प्रहरी नायव उपरीक्षक विकले बताए।

‎‎अघिल्लो बिहीबार बिहान ११:३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा दुर्घटना भएको थियो।

‎‎गाडी राजमार्गबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो । त्यसपछि गाडी नदीमा डुबेको थियो। गाडीमा सवारमध्ये कालिकोट पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए। 

‎दुल्लु अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

‎‎त्यस्तै गाडीसँगै नदीमा बेपत्ता भएका कालिकोटको पचालझरना गाउँपालिका–९, का मेगे तिरुवाको शव सोमबार कैलालीको सुङ्गरखाला क्षेत्रमा भेटिएको थियो। ‎अझै दुई जनाको अवस्था भने अज्ञात नै छ।

‎पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–८, का तुलाराम सुबेदी र सहचालक राम प्रसाद सुवेदीको अवस्था अज्ञात छ। चालक र सहचालक दुई दाजुभाइ हुन्।

‎‎गाडी र बेपत्ताको खोजीका लागि ३ वटै सुरक्षा निकायका दर्जनौं सुरक्षाकर्मी खटिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप