शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

काग र लोकल कुखुराकै कारण बर्ड फ्लु नियन्त्रणमा समस्या

शुक्रबार, २६ असार २०८३, ११ : ३४
शुक्रबार, २६ असार २०८३

सारांश

  • सरकारले प्रयास गर्दा पनि काग र लोकल कुखुराका कारण उपत्यका र काभ्रेमा बर्ड फ्लु नियन्त्रणमा समस्या भएको छ ।
  • यस पटक सङ्क्रमण फैलिने माध्यम जङ्गली चरा (काग), कृषकले मरेका कुखुरा जथाभावी फाल्नु र रिपोर्टिङमा ढिलाइ प्रमुख कारण हुन् ।
  • बर्ड फ्लुको सङ्क्रमण मुख्य रूपमा जङ्गली तथा बसाइसराइ गरी आउने चराहरूसँग जोडिएको छ र यस वर्षको भाइरसको नयाँ उत्परिवर्तनबारे जेनोमिक सिक्वेन्सिङको रिपोर्ट आउन बाँकी छ ।

सरकारले बर्ड फ्लु नियन्त्रणमा सबैखाले प्रयास गरिरहे पनि उपत्यकाको तीन जिल्लासहित काभ्रे जिल्लाको सहरी क्षेत्रमा अझै नियन्त्रण हुन सकेको छैन । अन्य समयको भन्दा यो पटक बर्ड फ्लु सङ्क्रमण हुने र फैलिने शैली फरक पाइएको छ ।

बर्ड फ्लु नियन्त्रणमा सरकार र किसानको भूमिका लगायतको विषयमा रातोपाटीले पशु सेवा विभागका  वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायसँग कुराकानी गरेको छ ।

प्रस्तुत छ डा. उपाध्यायसँग गरिएको कुराकानीको सम्पादित अंश :

  • विगतका वर्षहरूमा बर्ड फ्लु देखापर्दा तुलनात्मक रूपमा चाँडो नियन्त्रण हुने गरेको देखिन्थ्यो, तर यस पटक सङ्क्रमण नियन्त्रण गर्न किन बढी समय लाग्यो ?

विगतका वर्षहरूमा बर्ड फ्लु सङ्क्रमण निश्चित र सीमित क्षेत्रहरूमा मात्र देखिने गर्दथ्यो, जसले गर्दा अन्य क्षेत्रमा फैलिन नपाउँदै चाँडो नियन्त्रण गर्न सहज हुन्थ्यो । यस पटक परिस्थिति अलि फरक र जटिल बन्यो । अहिले सङ्क्रमण फैलिने मुख्य माध्यम जङ्गली चरा, विशेष गरी काग बन्न पुग्यो । कागहरू सजिलै एक ठाउँबाट अर्को ठाउँमा उडेर जाने हुनाले रोग तीव्र रूपमा फैलियो ।

यसका साथै कतिपय ठाउँमा कृषकहरूले मरेका कुखुराहरू जथाभावी फ्याँकिदिने र ती मरेका कुखुरा कुकुर वा अन्य जनावरले ओसारपसार गर्दा सङ्क्रमण थप फैलिन मद्दत पुग्यो ।

अर्को मुख्य समस्या भनेको रिपोर्टिङमा ढिलाइ हुनु हो । सुरुमा कुखुरा मर्न थाल्दा कृषकहरूले रोग लुकाउने वा जथाभावी फाल्ने गरे र जब रोगले ठुलो रूप लियो, तबमात्र विभागलाई जानकारी गराए । यस ढिलाइले गर्दा हामीले नियन्त्रणका कदमहरू चाल्नुअघि नै भाइरस धेरै ठाउँमा फैलिसकेको थियो ।

  • हालसम्म देशका कुन–कुन जिल्ला बर्ड फ्लुबाट बढी प्रभावित छन् र ती क्षेत्रहरूमा स्थिति कस्तो छ ?

अहिलेसम्म देशका ११ वटा जिल्लामा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये ७ वटा जिल्लामा हामीले सङ्क्रमण पूर्ण रूपमा नियन्त्रण गरिसकेका छौँ । हाल त्यहाँ कुनै नयाँ केस देखिएका छैनन् । बाँकी ४ जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा अझै पनि सङ्क्रमणको केही असर बाँकी छ ।

यी चार जिल्लामध्ये ललितपुरमा सङ्क्रमण निकै न्यून भइसकेको छ र स्थिति नियन्त्रणउन्मुख छ । भक्तपुर र काठमाडौँमा अझै पनि फाट्टफुट्ट रूपमा नयाँ केस देखिने क्रम चलिरहेको छ । काभ्रेपलाञ्चोकको बनेपा र पनौती क्षेत्रमा भने सङ्क्रमण अलि बढेको पाइएको छ । समग्रमा भन्नुपर्दा हामी नियन्त्रणको प्रयासमा छौँ र स्थिति बिस्तारै सामान्य बन्दै गइरहेको छ ।

  • बर्ड फ्लु हरेक वर्ष प्रायः एउटा निश्चित ऋतु वा समयमा दोहोरिने गरेको देखिन्छ । यो समस्या नियमित जस्तै हुनुको मुख्य कारण के हो ?

बर्ड फ्लु नियमित देखिनुको मुख्य कारण जङ्गली र बसाइसराइ गरी आउने चराहरूसँग जोडिएको छ । हिउँदको समयमा बाह्य मुलुकबाट नेपालतर्फ बसाइसराइ गरेर आउने जङ्गली चराहरूले आफूसँगै बर्ड फ्लुको भाइरस बोकेर आउने गर्छन् । कतिपय वर्ष यी चराले यहाँका स्थानीय वा घरपालुवा पक्षीहरूमा भाइरस सार्छन् भने कुनै वर्ष सङ्क्रमण नफैलाई फर्कन्छन् ।

कुनै वर्ष वातावरणीय अनुकूलता र जङ्गली पक्षीको सङ्ख्याका कारण सङ्क्रमण बढी देखिन्छ भने कुनै वर्ष शान्त रहन्छ । त्यसैले यो बाह्य चराहरूको आवागमन र तिनीहरूले यहाँका घरपालुवा पक्षीहरूसँग गर्ने सम्पर्कको स्तरमा भर पर्ने कुरा हो ।

  • काठमाडौँ उपत्यकामा व्यावसायिक र स्थानीय (लोकल) कुखुरा पालनको दायरा कसरी परिवर्तन भएको छ र यसले जैविक सुरक्षामा कस्तो चुनौती थपेको छ ?

पहिले हामी ‘लोकल कुखुरा पालन’ भन्नाले घर–घरमा पालिने १०–२० वटा कुखुरामात्र बुझ्ने गर्दथ्यौँ, तर अहिले काठमाडौँ उपत्यकामा स्थानीय कुखुरा पालन पनि व्यावसायिक भइसकेको छ । कतिपय फार्मले १० देखि २० हजारसम्म लोकल कुखुरा व्यावसायिक रूपमा पालेका छन् ।

यसरी ठुलो सङ्ख्यामा कुखुरा पालिए पनि जैविक सुरक्षाका उपाय भने निकै फितलो पाइएको छ । पशु चिकित्सकको स्वीकृत प्रमाणपत्र (भेटेरिनरी सर्टिफिकेट) बिना नै कुखुरा ओसारपसार गर्ने, मरेका कुखुरा जथाभावी फाल्ने जस्ता हेलचेक्य्राइँ भइरहेका छन् । साथै, उपत्यकाका कतिपय फार्महरू शिवपुरी राष्ट्रिय निकुञ्ज वा जङ्गलको छेउछाउ, बाँसको झाडी नजिक छन्, जहाँ चील, गिद्ध र कागजस्ता चरा बस्छन् । यस्ता ठाउँमा जङ्गली चराबाट घरपालुवा कुखुरामा रोग सर्न सक्ने सम्भावना निकै उच्च रहन्छ ।

  • बर्ड फ्लु नियन्त्रणका लागि विभागले अन्य सरकारी निकाय र स्थानीय प्रशासनसँग कसरी समन्वय गरिरहेको छ ?

हामीले जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय र स्थानीय निकायहरूसँग निरन्तर समन्वय गरिरहेका छौँ, तर नियन्त्रण कार्यका क्रममा केही व्यावहारिक कठिनाइ अवश्य छन् । कतिपय अवस्थामा जब प्राविधिक टोली सङ्क्रमित क्षेत्रमा कुखुरा नष्ट गर्न जान्छ, स्थानीय कृषक वा व्यवसायीहरूबाट अवरोध सिर्जना हुने गर्दछ । आफ्नो खोरको कुखुरा मार्न नदिने भन्दै उनीहरूले अवरोध गर्दा नियन्त्रण कार्य ढिलो हुन पुग्छ ।

यसका साथै, विनाप्रमाणपत्र कुखुरा ओसारपसार गर्ने र मरेका कुखुरा फाल्नेहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासन अझ बढी सक्रिय हुनुपर्ने देखिन्छ । नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन राज्यका सबै अङ्ग र स्वयं कृषकहरूको पनि उत्तिकै सहयोग आवश्यक पर्छ ।

  • खुला सिमानाका कारण बर्ड फ्लु भारतबाट नेपालतर्फ भित्रिएको हुनसक्ने आशङ्का कतिपयको छ, यसबारे विभागको अध्ययनले के भन्छ ?

अहिले काठमाडौँ उपत्यकामा फैलिएको बर्ड फ्लुको सङ्क्रमण भारत वा खुला सिमानाका कारण भित्रिएको होइन, यसमा हामी प्रस्ट हुनुपर्छ । यो सङ्क्रमण विशुद्ध रूपमा बसाइसराइ गरी आउने जङ्गली चराहरूका माध्यमबाट भित्रिएको हो ।

सीमा क्षेत्रमा गृह मन्त्रालय र स्थानीय प्रशासनले सुरक्षा र निगरानी निकै कडा बनाएका छन्, जसका कारण सीमा नाकाबाट अवैध रूपमा पक्षी वा पक्षीजन्य उत्पादन भित्रिने सम्भावना न्यून छ । त्यसैले अहिलेको सङ्क्रमणको स्रोत आन्तरिक रूपमै जङ्गली चराहरूसँगको सम्पर्क नै हो ।

  • के यस वर्ष नेपालमा देखिएको बर्ड फ्लु भाइरसमा कुनै नयाँ प्रकार भएको आशङ्का गरिएको छ ? यसको अन्तर्राष्ट्रिय रिपोर्टिङ कसरी भइरहेको छ ?

यस वर्षको भाइरसमा कुनै नयाँ उत्परिवर्तन भएको छ वा छैन भन्ने कुरा पत्ता लगाउन हामीले ‘जेनोमिक सिक्वेन्सिङ’को प्रक्रिया अघि बढाएका छौँ । यसको रिपोर्ट आएपछि मात्र भाइरसले आफ्नो रूप परिवर्तन गरेको हो वा होइन भन्ने आधिकारिक रूपमा भन्न सकिन्छ । यद्यपि, हालसम्म सङ्क्रमण भएका चराहरूमा देखिएका लक्षण र मृत्युदरको ढाँचा सामान्य भाइरसकै जस्तो छ ।

अन्तर्राष्ट्रिय रिपोर्टिङको हकमा हामी पारदर्शी छौँ । नेपालमा बर्ड फ्लु देखिएको हरेक घटनाको जानकारी हामीले नियमित रूपमा विश्व पशु स्वास्थ्य संगठनलाई पठाइरहेका छौँ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सूचना आदानप्रदान गर्ने कार्य निरन्तर भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप