बर्ड फ्लुका कारण व्यवसाय नै डुब्यो
सारांश
- सूर्यविनायक नगरपालिका वडा नं. १, सिरुटारमा एक कुखुरा पालक किसानको बर्ड फ्लुका कारण करिब १२ देखि १५ लाख रुपैयाँको क्षति भएको छ ।
- फार्ममा अचानक कुखुरा मर्न थालेपछि पशु सेवा विभागको टोलीले परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको थियो ।
- बर्ड फ्लुका कारण १ हजार कुखुरासहित फार्ममा रहेका दाना र अण्डाहरू नष्ट गरिएपछि किसान ठूलो आर्थिक सङ्कटमा परेका छन् ।
धेरै ठुलो महत्त्वाकाङ्क्षा बोकेर होइन, आफ्नै देशमा केही गरौँ भन्ने सामान्य सोचका साथ मैले कुखुरा पालन व्यवसाय सुरु गरेको थिएँ । खोरभरि मैले स्थानीय जातका कुखुरा हालेको थिएँ । यही व्यवसायबाट मेरो र परिवारको जीविकोपार्जन राम्रोसँग चल्थ्यो ।
अहिले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १, सिरुटारमा रहेको मेरो फार्ममा सन्नाटा छाएको छ । खोरभरि छरिएका दानाका भाँडा र रित्ता गुँड हेरेर बस्नुबाहेक मसँग कुनै विकल्प छैन ।
खोर निर्माण, मानिस बस्ने ठाउँ, पानी, बत्तीको व्यवस्थापन र अन्य पूर्वाधार तयार पार्दा लगभग १२ देखि १५ लाख रुपैयाँ खर्च भएको थियो । २ हजार कुखुरा अटाउने क्षमताको खोरमा मैले पहिलो चरणमा १ हजार स्थानीय जातका कुखुरा पालेको थिएँ ।
स्थानीय कुखुरा भएकाले अलि ढिलो अण्डा उत्पादन हुने भए पनि बजारमा यसको माग राम्रो थियो । १ हजार कुखुरामध्ये ५०० जति अण्डा पार्ने उमेरका थिए । ती कुखुराले अण्डा पार्न थालेको भर्खर २–३ महिनामात्र भएको थियो । बाँकी ५०० कुखुरा अण्डा पार्ने तयारीमा रहेका साना चल्ला थिए । ती ५०० माउ कुखुराबाट दैनिक १५ देखि २० क्रेटसम्म अण्डा उत्पादन हुन थालेको थियो । ती साना र ठुला कुखुरा हुर्काउन, दाना खुवाउन र औषधि उपचारमा मात्रै मेरो थप ठुलो रकम खर्च भइसकेको थियो ।
सामान्यतया १०० वटा कुखुरा हुर्काएर अण्डा पार्ने उमेरसम्म पुर्याउन १ लाख रुपैयाँ खर्च हुन्छ । यस हिसाबले अण्डा पार्ने ५०० कुखुराका लागि ५–६ लाख र साना चल्लाका लागि ३ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको थियो, तर मेरो यो सङ्घर्ष धेरै दिन टिक्न पाएन ।
- मर्न थालेपछि पशु सेवा गुहारेँ
गत भदौको सुरुवाती दिनमा केही कुखुरा अचानक बिरामी पर्न थाले । सुरुमा त सामान्य रोग होला सोचेर मैले बजारबाट औषधि ल्याएर खुवाएँ, तर औषधिले काम गर्नुको साटो दिनदिनै कुखुरा मर्ने क्रम तीव्र गतिमा बढ्दै गयो ।
कुखुरा धमाधम मर्न थालेपछि केही सिप नलागेर मैले पशु सेवा विभागको टोलीलाई खबर गरेँ । उहाँहरूले आएर कुखुराको रगत र र्यालको नमुना परीक्षणका लागि प्रयोगशालामा लैजानुभयो ।
जब प्रयोगशालाबाट बर्ड फ्लु पुष्टि भएको रिपोर्ट आयो, मेरो खुट्टा मुनिको जमिन नै भासिएझैँ भयो । बर्ड फ्लु पुष्टि भएपछि पशु सेवा विभागको टोली आयो र भदौ २० गते मेरो फार्मका सबै १ हजार वटा कुखुरा, फार्ममा रहेका दाना र अण्डाहरू वैज्ञानिक विधिबाट नष्ट (डिस्पोज) गरिदियो ।
आफ्नै हातले दानापानी खुवाएर हुर्काएका कुखुराहरूलाई खाल्डोमा हालेर माटोले पुर्दै गर्दा मलाई आर्थिकमात्र होइन, भावनात्मक चोट पनि महसुस भयो ।
मलाई कता–कता दानाकै कारण मेरो फार्ममा यो रोग भित्रियो कि भन्ने शङ्का लाग्छ । मलाई जसले दाना उपलब्ध गराउनुहुन्थ्यो, उहाँको फार्ममा पनि त्यसभन्दा एक हप्ता अगाडि नै बर्ड फ्लु देखिएर कुखुरा नष्ट गरिएको रहेछ । उहाँको कुखुरा नष्ट भएपछि मैले त्यो दाना प्रयोग नगरौँ कि भन्ने सोचेको थिएँ, तर उहाँले कुखुरा ओसारपसार गर्ने गाडी र दाना ढुवानी गर्ने गाडी फरक–फरक भएकाले केही हुँदैन भन्नुभयो ।
उहाँकै विश्वासमा परेर मैले अन्तिम पटक ८ बोरा दाना मगाएँ, तर त्यो दाना खोरमा हालेको भोलिपल्टैदेखि कुखुरा मर्न थाले । त्यसपछि त मैले त्यो दाना हाल्नै परेन, किनकि खोर नै रित्तियो । यद्यपि, पर्याप्त प्रयोगशाला परीक्षणबिना दानाकै कारण शतप्रतिशत रोग सरेको हो भनेर कानुनी रूपमा दाबी गर्न सकिने अवस्था त रहँदैन, तर यो संयोगले मलाई सधैँ झस्काइरहनेछ ।
अर्कोतर्फ, फार्मको वरिपरि बाँसका झाडी छन्, जहाँ चराचुरुङ्गी र काग आउने–जाने गर्थे । कतै ती चराबाट यो भाइरस सरेको हो कि भन्ने अर्को शङ्का पनि छ । खोर बाहिर कुखुरा ननिकाले पनि चराको आवतजावतलाई रोक्न सकिँदो रहेनछ । मेरो छरछिमेकमा रहेका अन्य फार्महरूमा पनि बर्ड फ्लु फैलिएर ठुलो सङ्ख्यामा कुखुरा नष्ट गरिएको छ ।
यो महामारीले मेरो प्रत्यक्ष १० देखि १२ लाख रुपैयाँको क्षति गराएको छ । यदि कुखुराको बीमा भएको भए मलाई यति ठुलो आर्थिक धक्का लाग्ने थिएन होला । मैले खोर र भौतिक पूर्वाधारको बीमा त गरेको थिएँ, तर कुखुराको बीमा गराउन खोज्दा कुखुराको बीमा हुँदैन भन्ने जानकारी पाएकाले गराउन सकेको थिइनँ । बीमा नहुँदा क्षतिपूर्तिको सम्पूर्ण भार मेरै टाउकोमा आइलागेको छ ।
अहिले म ठुलो आर्थिक सङ्कटमा छु । वडा कार्यालय, नगरपालिका र पशु सेवा विभागमा राहत र क्षतिपूर्तिको लागि आवश्यक सबै कागजात र सिफारिस बुझाइसकेको छु । अहिलेसम्म कतैबाट पनि राहतको अत्तोपत्तो छैन । प्राविधिक टोलीले फोनमार्फत खबर आउँछ भनेका थिए, तर अहिलेसम्म कसैको फोन आएको छैन ।
हामीजस्ता साना किसानले आफ्नो बुताले भ्याएसम्म मेहनत गरेर राज्यको अर्थतन्त्रमा थोरै भए पनि योगदान पुर्याउने कोसिस गरिरहेका हुन्छौँ । यस्तो सङ्कटको घडीमा सरकारले हाम्रो पीडा बुझिदिएन र उचित राहत उपलब्ध गराएन भने हामी कसरी पुनः उठ्न सक्छौँ होला र ? म सरकारसँग केवल यति प्रार्थना गर्दछु कि मेरो वास्तविक क्षतिको मूल्याङ्कन गरेर केही राहत उपलब्ध गराइयोस्, ताकि मैले यो व्यवसायलाई पुनः ब्युँताउन सकौँ र आफ्नै माटोमा पसिना बगाउने मेरो चाहना अधुरो नरहोस् ।
(भक्तपुरमा पोल्ट्री व्यवसाय सञ्चालन गर्दै आएका दाहालसँग रातोपाटीकर्मी अमृत चिमरियाले गरेको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
-
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न
-
आवेग भनेर टार्न मिल्दैन, निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरियोस्: जसपा
-
गणेश नेपालीको मृत्यु राज्यको असंवेदनशीलताको पराकाष्ठा : प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण