शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

अमेरिकामा शेयर सूचीकरणबाट एसके हाइनिक्सले उठायो साढे २६ अर्ब डलर

शुक्रबार, २६ असार २०८३, १२ : ०६
शुक्रबार, २६ असार २०८३

सारांश

  • दक्षिण कोरियाको कम्प्युटर चिप निर्माता एसके हाइनिक्सले अमेरिकामा शेयर सूचीकरणबाट २६ अर्ब ५० करोड डलर उठाएको छ ।
  • यो अमेरिकामा कुनै विदेशी कम्पनीले गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो सेयर सूचीकरण भएको कम्पनीले जनाएको छ ।
  • एआई चिपको तीव्र बढ्दो मागका कारण एसके हाइनिक्सको बजार मूल्य र दक्षिण कोरियाको कोस्पी सूचकांकमा उल्लेख्य वृद्धि भएको छ ।

वाशिङटन डीसी । दक्षिण कोरियाको कम्प्युटर चिप निर्माता एसके हाइनिक्सले अमेरिकामा शेयर सूचीकरणबाट २६ अर्ब ५० करोड डलर उठाएको  छ । यो अमेरिकामा कुनै विदेशी कम्पनीले गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो सेयर सूचीकरण (लिस्टिङ) भएको कम्पनीले जनाएको छ ।

कृत्रिम बौद्धिकता (एआई) चिप निर्माता एनभिडियाको प्रमुख आपूर्तिकर्तामध्ये एक रहेको एसके हाइनिक्सले बिहीबार १७ करोड ७९ लाख अमेरिकी डिपोजिटरी सेयर प्रतिकित्ता १४९ अमेरिकी डलरका दरले बिक्री गरेको हो । यी सेयरहरू शुक्रबारदेखि नास्डाक स्टक एक्सचेन्जमा कारोबार हुनेछन् । एआई चिपको तीव्र बढ्दो मागका कारण गत मे महिनामा दक्षिण कोरियामै एसके हाइनिक्सको बजार मूल्य १० खर्ब लरभन्दा माथि पुगेको थियो ।

यस वर्ष दक्षिण कोरियामा कम्पनीको सेयर मूल्य तीन गुणाभन्दा बढीले बढेको छ । एसके हाइनिक्स र सामसङ इलेक्ट्रोनिक्सको तीव्र वृद्धिका कारण कोस्पी सूचकांक पनि सोही अवधिमा ७० प्रतिशतभन्दा बढीले उकालो लागेको छ । एसके हाइनिक्स विश्वका अग्रणी मेमोरी चिप उत्पादकमध्ये एक हो । एआईसम्बन्धी प्रविधिमा विश्वभर सयौं अर्ब डलरको लगानी भइरहेका कारण मेमोरी चिप उद्योगले उल्लेखनीय गति पाएको छ ।

यसैबिच प्रतिस्पर्धी कम्पनी सामसङ इलेक्ट्रोनिक्स र माइक्रोनका सेयर मूल्य पनि पछिल्ला केही महिनामा दोब्बरभन्दा बढीले बढेका छन् । सोल राष्ट्रिय विश्वविद्यालयका वित्त प्राध्यापक जेवोन चोईका अनुसार अमेरिकी सेयर बजारमा सूचीकरण भएपछि एसके हाइनिक्सलाई विश्वकै ठुलो अर्थतन्त्र अमेरिकाबाट ठुलो परिमाणमा लगानी आकर्षित गर्न सहज हुनेछ । उनका अनुसार अमेरिकी बजारमा दक्षिण कोरियाको तुलनामा लगानीसम्बन्धी अवरोध कम छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप