शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

नाटो शिखर सम्मेलनमा गएका सबै नेतालाई एर्दाेआनले दिए रिभल्भर उपहार

शुक्रबार, २६ असार २०८३, १२ : ४३
शुक्रबार, २६ असार २०८३

सारांश

  • टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दाेआनले नाटो शिखर सम्मेलनमा सहभागी नेताहरूलाई पुरानो शैलीको रिभल्भर उपहार दिएका छन्।
  • यो उपहार टर्कीको रक्षा उद्योगको क्षमता प्रदर्शन गर्ने उद्देश्यले दिइएको हो र प्रत्येक नेतालाई उनीहरूको नाम कुँदिएको विशेष रिभल्भर प्रदान गरिएको छ।
  • केही नेताहरूले प्राप्त रिभल्भरहरू स्वदेशमा सुरक्षित राखेका छन्, केहीले दूतावासमा राखेका छन्, र केहीले सङ्ग्रहालयलाई दान गर्ने वा निष्क्रिय पार्ने योजना बनाएका छन्।

अंकारा । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दाेआनले अङ्कारामा सम्पन्न नाटो शिखर सम्मेलनमा सहभागी सबै सदस्य राष्ट्रका नेताहरूलाई बिदाइ उपहारस्वरूप पुरानो शैलीको रिभल्भर र त्यसका लागि प्रयोग हुने वास्तविक गोली दिएका छन् । रोयटर्सका अनुसार टर्कीको रक्षा उद्योगको क्षमता प्रदर्शन गर्ने उद्देश्यले एर्दोआनले प्रत्येक नेतालाई उनीहरूको नाम कुँदिएको विशेष रिभल्भर उपहार दिएका हुन् ।

लिथुआनियाका राष्ट्रपति गितानास नाउसेदाको कार्यालयले सार्वजनिक गरेका तस्वीरहरूमा टर्कीको हतियार निर्माता कम्पनी एमकेईले सन १९९० को दशकमा उत्पादन गरेको दुर्लभ ‘गुमुसाय.३५७ म्याग्नम’ रिभल्भर देखिएको छ । काठको विशेष बाकसभित्र राखिएको उक्त रिभल्भरसँगै टर्कीको राष्ट्रिय झण्डा, नाटोको लोगो अनि ‘हाम्रो देशमा उत्पादन गरिएको पहिलो रिभल्भर प्रकारको पिस्तोल’ लेखिएको पट्टिका पनि राखिएको छ ।

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजका प्रवक्ताका अनुसार सबै नेताले आफ्नै नाम कुँदिएको एउटै मोडलको रिभल्भर प्राप्त गरेका छन ।स्वदेश फर्किएपछि आफ्नो झोलामा वास्तविक गोलीसहितको रिभल्भर रहेको थाहा पाएपछि बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभर आश्चर्यचकित भएका थिए । उनले उक्त हतियार ब्रसेल्स विमानस्थल प्रहरीलाई सुरक्षित रूपमा राख्न जिम्मा लगाएका छन् ।

पोल्यान्डका राष्ट्रपति कारोेल नाभ्रोत्स्कीका सहयोगीका अनुसार उनको रिभल्भर वार्सा विमानस्थलमा भन्सार प्रक्रिया पूरा हुने प्रतीक्षामा छ । त्यसपछि त्यसलाई सुरक्षित स्थानमा राज्य उपहारका रूपमा राखिनेछ । उनले यसबाट कसैले गोली नचलाउने स्पष्ट पारेका छन् । नेदरल्यान्ड्स र स्विडेनका प्रधानमन्त्रीहरूको कार्यालयले पनि सम्बन्धित रिभल्भर अङ्कारास्थित आफ्ना दूतावासमा राखिएको जनाएको छ । नेदरल्यान्ड्सले आफ्नो रिभल्भर प्रयोग गर्न नमिल्ने गरी निष्क्रिय बनाउने तयारी गरेको छ भने स्विडेनले आयातसम्बन्धी कागजी प्रक्रिया पूरा गरिरहेको छ ।

बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले पाएको रिभल्भरसँगै सफाइ गर्ने सामग्री र ५०० वटा गोलीसमेत दिइएको डाउनिङ स्ट्रिटका एक स्रोतले बताएका छन् । इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले प्राप्त गरेको रिभल्भर रोमस्थित प्रधानमन्त्री कार्यालय पालात्सो कीजीमा अन्य राजकीय उपहारसँगै सुरक्षित राखिएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेर लेयेनले भने आफूले पाएको रिभल्भर सैन्य सङ्ग्रहालयलाई दान गर्ने योजना बनाएकी छन् । यस्तै, ग्रीसका नेताले पनि उक्त उपहार एथेन्सस्थित युद्ध सङ्ग्रहालयलाई हस्तान्तरण गर्ने तयारी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप