मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

युनाइटेड सिमेन्ट्सद्वारा धुनिवेशीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ स्थानीय लाभान्वित

मङ्गलबार, ३० असार २०८३, १२ : १०
मङ्गलबार, ३० असार २०८३

काठमाडौँ । युनाइटेड सिमेन्ट्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका–९ का बासिन्दाहरूका लागि एकदिने वृहत् नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। 

स्थानीय विद्यालयको प्राङ्गणमा आयोजित उक्त शिविरबाट कुल १४३ जना स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन्।

ललितपुरस्थित मेघा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा सात जना स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेको थियो। शिविरमा जनरल फिजिसियन डा. जमाल, बालरोग विशेषज्ञ डा. दीपा खनाल तथा दन्तरोग विशेषज्ञ डा. सङ्गीता कुमारीले सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गरेका थिए। अस्पतालकी संयोजक शिल्पा पोखरेलले स्वास्थ्य टोलीको नेतृत्व गरेकी थिइन्।

शिविरमा ७ वर्षका बालबालिकादेखि ८५ वर्षका ज्येष्ठ नागरिकसम्मले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए। सेवा लिनेहरूमध्ये पुरुषको तुलनामा महिलाको उल्लेख्य सहभागिता रहेको थियो। स्वास्थ्य परीक्षणका साथै बिरामीहरूलाई आवश्यक पर्ने औषधि समेत नि:शुल्क वितरण गरिएको थियो।

स्वास्थ्य परीक्षणका क्रममा अधिकांश सेवाग्राहीहरूमा ढाड, कम्मर र घुँडाको समस्या देखिएको चिकित्सकहरूले बताएका छन्। धेरैजसो स्थानीयले नियमित स्वास्थ्य परीक्षण नगराउने गरेको पाइएको भन्दै चिकित्सकहरूले स्वास्थ्यप्रति सचेत रहन सुझाव दिएका थिए। शिविरमा सहभागी स्थानीयहरूले यस्ता शिविरहरू समय–समयमा सञ्चालन हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा युनाइटेड सिमेन्ट्सका तर्फबाट सहभागीहरूलाई फलफूलको जुस र बिस्कुट समेत वितरण गरिएको थियो। कार्यक्रमको समन्वय प्रशासन प्रमुख धनपति सापकोटाले गरेका थिए भने कम्पनीका महाप्रबन्धक हरिकुमार उप्रेती मुख्य अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमको समापनमा स्थानीय बासिन्दाहरूले कम्पनीले देखाएको सामाजिक उत्तरदायित्वप्रति आभार व्यक्त गरे। महाप्रबन्धक उप्रेतीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय सरकार, विद्यालय प्रतिनिधि र सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप