मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राप्रपाको आन्तरिक विवाद : कुटपिट प्रकरणमा ६ महिला कार्यकर्तालाई जरिवाना र उपचार खर्च भराउने फैसला

मङ्गलबार, ३० असार २०८३, १७ : ४०
मङ्गलबार, ३० असार २०८३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवादका कारण सिर्जित कुटपिट र अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँले फैसला सुनाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको इजलासले राप्रपा आबद्ध ६ जना महिला कार्यकर्तालाई दोषी ठहर गर्दै जरिवाना र घाइतेलाई उपचार खर्च भराउने निर्णय गरेको हो।

फैसला अनुसार, राप्रपाभित्रकै अर्की कार्यकर्ता नानीमैयाँ आचार्यलाई अभद्र व्यवहार गरेको र घाइते बनाएको अभियोगमा अनिता विमली, कुमारी स्याङ्तान, प्रविता भण्डारी (अन्जु सुवेदी), नारायणी राई, रिता लाखाजु र विमली श्रेष्ठ दोषी ठहर भएका छन्।

 इजलासले उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा ११८ (१) बमोजिमको कसुरमा जनही १ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ। जरिवानाका साथै, विवादका क्रममा घाइते भएकी नानीमैयाँ आचार्यको उपचारमा खर्च भएको २ लाख ९४ हजार रुपैयाँ समेत ६ जना प्रतिवादीहरूबाटै भराइदिन आदेश दिइएको छ। 

उक्त उपचार खर्च र जरिवाना रकम प्रतिवादीहरूले मुद्दा पूर्पक्षका क्रममा धरौटी बापत जम्मा गरेको जनही ५० हजार रुपैयाँबाट कट्टा गरिने फैसलामा उल्लेख छ।

राप्रपाको आन्तरिक कलह र गुटगत विवादका कारण सार्वजनिक रूपमै अभद्र व्यवहारमा उत्रिएका यी कार्यकर्ताहरू विरुद्धको मुद्दामा जाहेरी, घटनास्थल मुचुल्का र साक्षीहरूको बकपत्रका आधारमा सीडीओ पौडेलको इजलासले यो फैसला गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप