बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सरकारको १०० दिन उपलब्धिविहीन, जनताको धैर्यको बाँध टुट्न सक्छ: राई

बुधबार, ३१ असार २०८३, १५ : ५९
बुधबार, ३१ असार २०८३

सारांश

  • राष्ट्रिय सभा सांसद जयन्तीदेवी राईले सरकारले जनसरोकारका मुद्दामा ध्यान नदिएको र १०० दिनको कार्यकाल उपलब्धिविहीन भएको आरोप लगाएकी छिन्।
  • उनले युवाहरूमा बढ्दो निराशा, आत्महत्या र आत्मदाहका घटनाप्रति सरकारको संवेदनहीनतामाथि प्रश्न उठाएकी छिन्।
  • सांसद राईले मिटरब्याज पीडितहरूको समस्या समाधानमा सरकारको ठोस पहल नभएको र जरिवानाको व्यवस्था न्यायपूर्ण नभएको बताएकी छिन्।

काठमाडौँ। राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीकी सांसद जयन्तीदेवी राईले देशमा बढ्दो निराशा, युवाहरूको आत्महत्या तथा आत्मदाहका घटना र मिटरब्याज पीडितहरूको समस्याप्रति सरकार संवेदनहीन बनेको आरोप लगाएकी छिन्। 

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद राईले जनसरोकारका मुद्दामा सरकार गम्भीर नबनेको बताएकी हुन्।

उनले पछिल्लो समय युवाले आत्मदाह गरेको र बुधबार मात्रै रौतहटमा एक जनाले आत्महत्याको प्रयास गरेको उल्लेख गर्दै सरकार नागरिकका समस्या समाधानमा नलागेको टिप्पणी गरिन्। युवाहरूमा व्याप्त हिनताबोध र आक्रोशका कारण उनीहरू आत्मदाह जस्तो कठोर बाटो रोज्न बाध्य भएको भन्दै उनले सरकारको १०० दिनको कार्यकाल उपलब्धिविहीन भएको बताइन्। 

जनताको धैर्यको बाँध जुनसुकै बेला टुट्न सक्ने भन्दै उनले सरकारलाई समयमै सचेत रहन चेतावनी समेत दिएकी छिन्। यसैगरी, सांसद राईले ट्राफिक व्यवस्थापन र सर्वसाधारणलाई लगाइने जरिवानाका विषयमा पनि प्रश्न उठाइन्। गरिब र सर्वसाधारण चालकहरूलाई १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था न्यायपूर्ण नभएको उनको तर्क छ। मिटरब्याज पीडितहरूको समस्या समाधानमा समेत सरकारले कुनै ठोस पहल नगरेको उनले बताइन्।

युवाहरूको निराशा र सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गर्दै बैठकमा सांसद राईले भनिन्, ‘जुन युवा र विद्यार्थीलाई ढाल बनाएर यो व्यवस्था र सरकार स्थापना भयो, आज तिनै युवाहरू दिनदहाडै जलिरहेका छन्।’ गरिब र निमुखाहरूको मत पाएर सत्तामा पुगेको सरकारले उनीहरूको दुःख बुझ्न नसकेको आरोप लगाउँदै उनले थपिन्, ‘गरिब र निमुखाहरूको मतले विजय प्राप्त गरेको सरकारले उनीहरूकै आँसुमा रमाइरहेको भान भइरहेको छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप