देशभरका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको असर : कतै पूर्ण अवरोध, कतै एकतर्फी सुचारु
सारांश
- देशभरका मुख्य राजमार्गहरूमा लगातारको वर्षा, बाढी र पहिरोका कारण कतिपय सडक पूर्ण रूपमा बन्द भएका छन् भने कतिपय स्थानमा एकतर्फी मात्र गाडी सञ्चालन भइरहेका छन् ।
- कोशी प्रदेशको भोजपुरमा मध्य पहाडी लोकमार्ग बाढीले एकतर्फी सुचारु छ भने मेची राजमार्गको इलाम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
- बागमती प्रदेशको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमले सवारी रोकिएको थियो भने कान्तिलोकपथको हेटौँडा–ठिंगन–बागमती–ललितपुर खण्डमा बाढी र पहिरोको उच्च जोखिमले सवारी चलाउन रोक लगाइएको छ ।
काठमाडौँ । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशभरका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। बुधबार बेलुकी साढे ६ बजेसम्मको विवरण अनुसार बाढी र पहिरोले कतिपय सडक पूर्ण रूपमा बन्द भएका छन् भने कतिपय स्थानमा एकतर्फी मात्र गाडी सञ्चालन भइरहेका छन् ।
कोशी प्रदेश अन्तर्गत भोजपुरको बोखिमस्थित मध्य पहाडी लोकमार्गमा बाढीका कारण असार १२ गतेदेखि नै सडक एकतर्फी रूपमा मात्र सुचारु छ, जहाँ अर्को वैकल्पिक बाटो समेत उपलब्ध छ। यस्तै, मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली (झापादेखि ताप्लेजुङ सडक) खण्ड अविरल वर्षाका कारण असार २३ गतेदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ र त्यहाँ अर्को वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था छ।
बागमती प्रदेशको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै असार २२ गते राति १८ः ०० बजेदेखि भोलिपल्ट बिहान ०४ : ०० बजेसम्म खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा चल्ने सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो ।
यस्तै, कान्तिलोकपथ अन्तर्गत मकवानपुरको हेटौँडा–ठिंगन–बागमती–ललितपुर खण्डमा सम्भावित बाढी र पहिरोको उच्च जोखिमका कारण असार २९ गते बेलुकी १७: ०० बजेदेखि अर्को सूचना नभएसम्मका लागि सवारी साधन चलाउन रोक लगाइएको छ।
कान्तिलोकपथकै भीमफेदी गाउँपालिका वडा नम्बर ८ भर्याङडाँडा खण्ड (ललितपुर देखि हेटौँडा) मा भने असार २७ गते गएको पहिरो सफा गरेर बाटो एकतर्फी सुचारु गरिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर २ कोदारीमा असार ३० गते र वडा नम्बर ४ जितोकिलोमा असार ३१ गते गएको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
गण्डकी प्रदेशमा पनि वर्षा र पहिरोले सडक प्रभावित बनाएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ सार्दीखोलास्थित नयाँपुल घान्द्रुक सडक खण्ड असार २९ गतेदेखिको अविरल वर्षाका कारण एकतर्फी मात्र सञ्चालनमा छ। बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ६ इनारपानीस्थित मध्यपहाडी लोकमार्गमा असार ३० गते गएको पहिरो पन्छाएर बाटो एकतर्फी रूपमा सुचारु गरिएको छ।
लुम्बिनी प्रदेशको सालझन्डी ढोरपाटन सडक खण्ड अन्तर्गत अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर २ ढुङ्ग्रेखोलामा असार २८ गते गएको पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध छ। गुल्मीको कालीगण्डकी करिडोर अन्तर्गत कालीगण्डकी गाउँपालिका वडा नम्बर २ राक्सेमा असार २९ गते गएको पहिरो र असार २९ गते नै सोही गाउँपालिकाको वडा नम्बर ४ पुर्तिघाटमा गएको पहिरोका कारण बाटो एकतर्फी मात्र सुचारु भएको छ।
कर्णाली प्रदेशतर्फ जाजरकोट(डोल्पा सडक खण्ड अन्तर्गत नलगाड नगरपालिकाको मालुवामा असार ३० गते गएको पहिरोका कारण बाटो एकतर्फी रूपमा सुचारु रहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
-
देशभरका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको असर : कतै पूर्ण अवरोध, कतै एकतर्फी सुचारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण