बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

सिंहदरबारमा बालेन–लिङ्देन भेट : संविधान संशोधनमा सशर्त सहयोग गर्न राप्रपा तयार

प्रधानमन्त्रीसँग स्वास्थ्य बीमा र मल अभावबारे पनि छलफल
बिहीबार, ३२ असार २०८३, १६ : ५९
बिहीबार, ३२ असार २०८३

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान संशोधनका लागि गठित सरकारी कार्यदललाई ससर्त समर्थन गर्ने भएको छ ।
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले संविधान संशोधनमार्फत वर्तमान व्यवस्थामा सुधार वा परिवर्तन गर्न खोजे सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
  • भेटमा संविधान संशोधनका साथै स्वास्थ्य बीमा, रासायनिक मलको अभाव, र करका विषयमा पनि छलफल भएको थियो ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित सरकारी कार्यदललाई ससर्त समर्थन गर्ने जनाएको छ । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको भेटवार्ताका क्रममा राप्रपाले सरकारले संघीय व्यवस्थाका केही प्रावधान परिमार्जन वा परिवर्तन गर्ने उद्देश्यले अघि बढे आफ्नो पार्टीको सहयोग रहने जनाएको हो।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले संविधान संशोधनमार्फत वर्तमान व्यवस्थामा आवश्यक सुधार वा परिवर्तन गर्न खोजे राप्रपाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए। छलफलका क्रममा प्रधानमन्त्री शाहले भने कार्यदलको उद्देश्य आफैं संविधान संशोधन गर्ने वा संशोधनका एजेन्डा तय गर्ने नभई व्यापक छलफलका आधारमा बहसपत्र तयार गर्नु मात्र रहेको स्पष्ट पारेका थिए।

भेटमा संविधान संशोधनका विषयसँगै स्वास्थ्य बीमामा देखिएका समस्या, रासायनिक मलको अभाव तथा वितरणमा देखिएको अव्यवस्था, शिक्षा, स्वास्थ्य र विद्युत्जस्ता आधारभूत तथा अत्यावश्यक क्षेत्रमा लगाइएको करका विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको राप्रपाले जनाएको छ।

अध्यक्ष लिङ्देनका अनुसार होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूको स्वास्थ्य उपचार तथा उनीहरूले भोगिरहेका दैनिक समस्याको समाधानका लागि पनि प्रधानमन्त्रीसँग आग्रह गरिएको थियो। प्रधानमन्त्रीसँगको भेटवार्तामा राप्रपा अध्यक्ष लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओली सहभागी थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप