‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
चितवन । चितवन राष्ट्रिय निकुञ्जको घना जङ्गलभित्र रहेको ‘ध्रुवे’ हात्तीले विगत लामो समयदेखि आसपासका मानव बस्ती र निकुञ्ज प्रशासनका साथै सरकार र समाजलाई झस्काएको छ ।
असार २० गते राति ध्रुवे हात्तीको आक्रमणबाट दुई जना स्थानीयले ज्यान गुमाएपछि पश्चिम चितवन फेरि एकपटक त्रासको भुमरीमा पर्यो । लगत्तै फेरि पनि आसपासका घरमा जाने, भत्काउने र पटकपटक बस्तीमा पस्न थालेपछि त्रसित र आक्रोशित स्थानीयको माग थियो, ‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
पर्दा पछाडि निकुञ्ज प्रशासन, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको एउटा टोली बाढी, झरी र बढेको झाडीको वास्ता नगरी निकुञ्जको कोर क्षेत्रमा एउटा अदृश्य लक्ष्यमा जुटिरहेको थियो । तीन सिफ्ट (पालो)मा विभाजित भएर १० दिनसम्म गरिएको अथक प्रयासपछि असार ३१ गते राति १०ः३० बजे टोलीले ध्रुवेलाई सुखीभार क्षेत्रबाट नियन्त्रणमा लियो ।
यो केबल एउटा हात्ती नियन्त्रणको कथा मात्र होइन, यसपटक यसको जैविक रिस शान्त पार्ने र प्रविधिको उच्चतम् प्रयोग गर्ने एउटा जटिल ‘मेडिकल अपरेसन’ पनि थियो ।
जङ्गलभित्रको त्यो कठिन खोज र ध्रुवेको जैविक ‘रिस’
असार २० को घटनालगत्तै प्राविधिक टोलीले ध्रुवेको खोजी तीव्र बनाएको थियो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापामगरका अनुसार वर्षाको मौसम र बढेको झाडीका कारण खोजी निकै असहज र चुनौतीपूर्ण बनेको थियो ।
उनले अभियानको सफलता र प्रविधिको सुरुआतबारे भने, “हाम्रो संयुक्त टोलीले तीन सिफ्ट गरेर दुई वटा टोली परिचालन गरेका थियौँ । बुधबारमात्रै निकुञ्जको कोर क्षेत्र सुखीभार पोष्टको २०० मिटर पूर्वक्षेत्रमा त्यसलाई ‘डार्ट’गरेर बेहोस बनाई ‘स्याटेलाइट कलर’ राख्न सफल भएका छौँ । यो स्याटेलाइट कलर पहिलेकोभन्दा अलिकति आधुनिक छ ।”
विगत २५ वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषमा भेटेरिनरी प्राविधिकका रूपमा कार्यरत किरणराज रिजालका अनुसार जङ्गलको यो महाबलीलाई नियन्त्रणमा लिनु प्राविधिक रूपमा निकै चुनौतीपूर्ण थियो । उनले भने, “हामीलाई हात्तीको पहिचान गर्न र नियन्त्रणमा लिन एकदम गाह्रो छ । जङ्गलमा देख्नेबित्तिकै हामी डार्ट गर्न सक्दैनौँ, किनभने हाम्रो डार्टले २५ देखि ३० मिटरभन्दा बढी काम गर्दैन । हात्तीलाई झुक्याएर हामीले ल्याएको मार्गमा आएपछि मात्र डार्ट गर्न सम्भव हुन्छ ।” हात्तीलाई लठ्याउने र बेहोस बनाउने काम निकै सावधानीपूर्वक रहेको भन्दै रिजालले यो काम दुई चरणमा गरिएको जानकारी दिए ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनले रातको घटनाक्रमका बारेमा भने, “हामीले ध्रुर्वे हात्तीलाई कसरी डार्ट गर्न सकिन्छ, यसको नियन्त्रण र व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा निरन्तर लागिपरेका थियौँ । असार ३१ गतेको बेलुकी साँझ ७ः०० बजेतिर एउटा लठ्याउने औषधि ‘जाइलाजिन’ दियौँ । औषधि दिएर हात्ती त्यहाँ लठ्ठिएर बसिरहेको अवस्था थियो । त्यसपछि हामीले अर्को बेहोस बनाउने औषधि ‘जनरल एनेस्थेसिया एम९९’ दियौँ र बेहोस भएपछि ९ः३० बजेदेखि काम सुरु गरेर १०ः ३० बजेतिर रेडियो कलर लगाउन सफल भइयो ।”
उक्त रात औषधि दिइसकेपछिको शारीरिक जोखिम र नियन्त्रणको पाटोबारे प्राविधिक रिजालले थपे, “करिब ७ः३० बजे हामीले डार्ट ग¥यौँ, जसले हात्तीलाई झुम्म बनाई खुट्टा चलाउन नसक्ने बनाउँछ । हात्ती उभिएपछि ९ः ३० बजे पूर्ण बेहोस बनाउने ‘एम–९९’ औषधि दियौँ, जसको १० मिनेटमा हात्ती ढल्यो । हात्ती ठूलो जनावर भएकाले लड्ने क्रममा पेटले फोक्सो थिचेर क्षति हुने डर हुन्छ, तर ध्रुवे सहिजै लड्यो ।”
प्राविधिक टोलीले केबल ४० मिनेटभित्र कलर जडान, दाह्रा काट्ने र औषधोपचारको काम सकेर अन्य थप औषधि दिएको पाँच मिनेटमा ध्रुवे सकुशल उठेर जङ्गलतर्फ लागेको रिजालले जानकारी दिए ।
वैज्ञानिक तथ्यहरूका अनुसार हात्तीले मान्छेलाई आक्रमण गर्नु केबल उसको स्वभाव मात्र होइन, बरु यो उसको जैविक र शारीरिक हार्मोनसँग जोडिएको विषय हो । सूचना अधिकारी थापामगरका अनुसार हात्ती एउटा सामाजिक प्राणी हो, तर समूहबाट छुट्टिएका कतिपय मत्तहात्तीहरू मस्त वा मत्त चढेका बेला उग्र हुने गर्दछन् । गाउँबस्तीमा धान र भेलीजस्ता बाली खान आउँदा मानिससँग जम्काभेट वा प्रतिकार हुँदा रिसको भाव जागृत भई क्षति पुर्याउने गर्छ ।
यही मत्त हुने शारीरिक हर्मोनलाई नियन्त्रण गर्न यसपटक प्राविधिक टोलीले विशेष औषधि प्रयोग गरेको छ । प्राविधिक रिजालले भने, “यसपटक हामीले डार्ट गरेर उसको त्यो ‘मस्त’ हुने हर्मोनलाई कम गर्ने ‘जीएनआरएच एनालग’ औषधि पनि लगाएका छौँ । यसपटक उसलाई सामान्य व्यवहारमा ल्याउन र जङ्गलमै चर्न मद्दत गर्नेछ । यो औषधिको प्रभाव ७२ घण्टापछि सुरु हुन्छ र करिब डेढ महिनासम्म रहन्छ ।”
दाह्रा काटिनुको रहस्य : ‘जियो फेन्सिङ’ प्रविधि र सहअस्तित्व
यसपटक ध्रुवेको दाह्रा पनि छ इन्च काटिएको प्राविधिक रिजालले जानकारी दिनुभयो । दाह्रा काट्दा हात्तीको शारीरिक अवस्थामा कुनै असर नपर्ने वैज्ञानिक तथ्य रहेको छ ।
सूचना अधिकारी थापामगरले भने, “२०८० सालमा पनि यसको दाह्रा काटिएको थियो । अहिले केही बढेको देखिएकाले छ इन्च मात्रै काटेका छौँ । यसले भौतिक संरचनामा क्षति पु¥याउन कम गर्ने र यसको रिसको प्रकृतिमा पनि केही परिवर्तन आउने अनुमान छ । पछिल्लो विवरणअनुसार ध्रुवे हात्ती सेरीतालतिर रहेको देखिएको छ ।”
दाह्रा काट्नुको पछाडि मनोवैज्ञानिक कारण रहेको प्रष्ट पार्दै प्राविधिक रिजालले भने, “दाह्रा काटिदिएपछि हात्तीको मनोबल घट्छ र म त कमजोर भएछु भन्ने परेर बस्तीमा नआओस् भन्ने हाम्रो उद्देश्य हो ।”
त्यस्तै, यसपटक ध्रुवेको घाँटीमा जडान गरिएको स्याटेलाइट रेडियो कलर पहिलेको भन्दा निकै अत्याधुनिक छ । यो नयाँ प्रविधिको विशेषता र काम गर्ने शैलीबारे सूचना अधिकारी मगरले भने, “यसलाई हामीले कति समयको अन्तरालमा तथ्याङ्क लिने भनेर निर्धारण गर्न सक्छौँ । अन्तराल जति छोटो राख्यो, ब्याट्रीको खपत त्यति बढी हुन्छ । त्यसैले भित्र कोर क्षेत्रमा हुँदा लामो र बाहिर निस्कँदा छोटो अन्तराल राख्न सकिन्छ । नक्सामा रेखाङ्कन गर्ने ‘जियो फेन्सिङ’ प्रविधिमार्फत हात्तीले त्यो रेखा काट्नेबित्तिकै हामीलाई सन्देश आउँछ । यसले गर्दा हात्ती मानव बस्तीमा छिर्न लागेमा विगतको भन्दा छिटो थाहा पाउन सकिन्छ ।”
नयाँ प्रविधिले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र उद्दार टोली परिचालनमा खेल्ने भूमिकाबारे प्रमुख संरक्षण अधिकृत पुर्जापुनले भने, “ध्रुर्वेमा जडित रेडियो कलरले समयसमयमा, १०–१० मिनेटको फरकमा हामीकहाँ सूचना पठाउँछ र हामीले त्यो पठाएको सूचना हेरिरहेका छौँ । अहिले हात्ती सुखीभारबाट एक–एक दशमलव पाँच किलोमिटर पूर्व–उत्तरतिर रहेको देखिएको छ । यो यदि मध्यवर्ती क्षेत्रमा गयो भने हामी कहाँ एउटा सन्देश आउँछ । उक्त सन्देश प्राप्त भइसकेपछि हामीले स्थानीयलाई सूचना दिनेदेखि लिएर हामी पनि उद्दारमा हुने काम गर्छौं र थप क्षति हुन दिने छैनौँ ।”
स्थानीय बासिन्दाको आक्रोश र निकुञ्ज प्रशासनमाथि उठेका प्रश्नहरूबारे प्रमुख संरक्षण अधिकृत पुनले थप प्रष्ट पार्दै भने, “एक किसिमले हामीलाई एउटा चुनौती थियो । स्थानीय जनताले निकुञ्ज प्रशासन र सेनासहितको टोलीले काम गरेन भन्नुभएको थियो । तर हामीले भित्रभित्र काम गरिराखेका थियौँ । हात्तीलाई भित्र धेरै पटक देखेका थियौँ । व्यवस्थापन गर्न ठीक डार्ट टोली र प्राविधिक टोलीले उपयुक्त ठाउँमा भेट्न पथ्र्यो र त्यो उपयुक्त ठाउँको खोजीमा थियौँ । हिजो सुखीभारमा आइसकेपछि काम गर्न सफल भइयो ।”
निकुञ्ज प्रशासनले आफ्नो शतप्रतिशत क्षमता लगाएर काम गरिरहेको अवस्थामा मानव र वन्यजन्तुबीचको द्वन्द्व पूर्ण रूपमा कम गर्न स्थानीयको सहयोग र सचेतता उत्तिकै आवश्यक रहेको अधिकारीहरूको भनाइ छ ।
ध्रुवेको घाँटीमा स्याटेलाइट कलर जडान गरिएको यो चौथो पटक हो । पहिलो पटक २०६६ मङ्सिरमा मानिस मारेपछि यो हात्तीले हालसम्म २५ जनाको ज्यान लिइसकेको निकुञ्ज प्रशासनले जनाएको छ । यसअघि प्रत्येक एक घण्टाको फरकमा भौगोलिक अवस्थाका बारेमा विवरण प्राप्त हुने गरेकामा अब १५–१५ मिनेटको छोटो अन्तरालमा ध्रुवे रहेको स्थानको विवरण प्राप्त हुने प्रमुख संरक्षण अधिकृत पुनले जानकारी दिए ।
यो अत्याधुनिक प्रविधिको पहरेदारी र जैविक उपचारले ध्रुवेलाई जङ्गलभित्रै सीमित राख्न र पश्चिम चितवनवासीलाई त्रासदीबाट मुक्त गरी मानव–वन्यजन्तुबिच सुरक्षित सहअस्तित्व कायम गर्न महत्त्वपूर्ण मद्दत पुर्याउने उनले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण