बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
सारांश
- देशका विभिन्न भागमा अविरल वर्षा, बाढी र पहिरोका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका मुख्य राजमार्गहरू प्रभावित भई पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन् ।
- बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्गमा रात्रिकालिन सवारी रोक्नुका साथै मकवानपुरको कान्ति लोकपथ र सिन्धुपाल्चोकको अरनिको राजमार्ग पहिरोले पूर्ण वा आंशिक रूपमा अवरुद्ध छन् ।
- गण्डकी र लुम्बिनी प्रदेशका सडक खण्डहरूमा पनि पहिरोका कारण यातायात एकतर्फी मात्र सञ्चालनमा रहेको छ र अवरुद्ध सडक खुलाउने प्रयास वर्षा र पहिरोको जोखिमले बाधा पुगेको छ ।
काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन् । बिहान ६:०० बजेसम्मको विवरण अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन् ।
कोशी प्रदेशको भोजपुरमा बाढीका कारण मध्य पहाडी लोकमार्गको बोखिम खण्डमा सडक एकतर्फी मात्र सुचारु छ । त्यस्तै, इलामको राजदुवाली क्षेत्रमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यद्यपि, यी दुवै स्थानमा वैकल्पिक बाटोको व्यवस्था रहेको जानकारी दिइएको छ ।
बागमती प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ । काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरको कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो जाँदा सडकको अवस्था अस्तव्यस्त छ ।
कान्ति लोकपथको बकैया-११ मा सडक पूर्ण रूपमा अवरुद्ध छ भने भीमफेदी खण्डमा एकतर्फी मात्र सञ्चालनमा छ । यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी-४ स्थित अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा ठप्प भएको छ ।
गण्डकी प्रदेशमा कास्कीको नयाँपुल-घान्द्रुक सडक खण्ड र बागलुङको मध्य पहाडी लोकमार्ग (इनारपानी) मा वर्षा र पहिरोका कारण यातायात एकतर्फी मात्र सञ्चालन भइरहेको छ ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सालझण्डी-ढोरपाटन सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ । गुल्मी जिल्लाका कालीगण्डकी करिडोर र रुद्रबेणी सडक खण्डका विभिन्न तीन स्थानमा पहिरो खसेका कारण यातायात एकतर्फी मात्र सुचारु छ ।
अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको भए पनि निरन्तरको वर्षा र पहिरोको जोखिमले गर्दा कार्यमा बाधा पुगिरहेको छ । धेरै ठाउँमा सडक एकतर्फी मात्र खुलेकाले सवारी जाम र जोखिम बढ्न सक्ने देखिएको छ ।
प्रहरी र सडक विभागले यात्रुहरूलाई यात्रामा निस्कनुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न वा अत्यवश्यक बाहेकको यात्रा नगर्न अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण