आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार टिक्दैन: महासेठ

आइतबार, ०३ साउन २०८३, १० : १८
आइतबार, ०३ साउन २०८३

सारांश

  • नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार धेरै समय नटिक्ने दाबी गरेका छन् ।
  • उनले सरकारले शिक्षा, स्वास्थ्य र घरजग्गा कारोबारमा लगाएको नयाँ करको आलोचना गर्दै यसप्रति सरकार गम्भीर हुनुपर्ने माग गरे ।
  • महासेठले इरान–इजरायल द्वन्द्व र बढ्दो महँगीको असर नेपालमा पनि परेको बताए ।

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार धेरै समय नटिक्ने दाबी गरेका छन् । जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव महासेठले सरकारलाई प्रतिपक्षसँग सहकार्य गरेर अगाडि बढ्न सुझाव दिए । 

सरकारले प्रतिपक्षलाई वास्ता गर्दैन र पेलेरै अगाडि बढ्ने सोच राख्छ भने त्यो सरकार टिकाउ नहुने उनको जिकिर छ । वर्तमान सरकार गठन भएको चार महिना पुग्न लाग्दा पनि प्रभावकारी कार्य हुन नसकेको सङ्केत गर्दै उनले सरकारले सबै दललाई मिलाएर लैजानुपर्ने बताए। 

मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको जनमतबारे टिप्पणी गर्दै उनले मधेसी जनताले विश्वास गरेर पठाएको भन्दै रास्वपाले पनि मधेसको भावना अनुकूल काम गर्नुपर्ने बताइ । सरकारले शिक्षा, स्वास्थ्य र घरजग्गा कारोबारमा लगाएको नयाँ करको महासेठले आलोचना गरे । 

 साउन १ गतेदेखि लागू हुनेगरी जग्गा खरिद–विक्री दुवै पक्षले कर तिर्नुपर्ने व्यवस्था र शिक्षा–स्वास्थ्यमा थपिएको करको भारले सर्वसाधारण मारमा परेको उनको दाबी छ । जनताको आधारभूत आवश्यकतामा कर बढाउनु न्यायोचित नभएको भन्दै उनले यसप्रति सरकार गम्भीर हुनुपर्ने माग गरे । 

निजी क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै उनले देशको समग्र आर्थिक विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको उल्लेख गरे । वर्तमान विश्व अर्थतन्त्रमा देखिएका चुनौतीहरू, विशेषगरी इरान–इजरायल द्वन्द्व र बढ्दो महँगीको असर नेपालमा पनि परेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप