मेटलाइफ स्टेडियमले विश्वकप फाइनल आयोजना गर्ने अवसर कसरी पायो ?
सारांश
- फिफा विश्वकप २०२६ को फाइनल न्युयोर्क-न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आयोजना हुने भएको छ ।
- डलास र लस एन्जलसजस्ता बलिया प्रतिस्पर्धीलाई पछि पार्दै मेटलाइफले फाइनल आयोजनाको अवसर हासिल गर्यो ।
- प्रसारण समय, न्युयोर्कको अन्तर्राष्ट्रिय आकर्षण, पूर्वाधार र आर्थिक सम्भावना जस्ता कारणले मेटलाइफ स्टेडियम फाइनलका लागि छनोट भयो ।
न्युयोर्क । फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल स्पेन र अर्जेन्टिनाबिच न्युयोर्क–न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुँदै छ ।
तर यो रंगशालाले विश्व फुटबलको सबैभन्दा ठुलो खेल आयोजना गर्ने अधिकार सहजै प्राप्त गरेको भने होइन । डलास र लस एन्जलसजस्ता शक्तिशाली प्रतिस्पर्धीलाई पछि पार्दै मेटलाइफले यो अवसर कसरी हासिल गर्यो भन्ने विषयले विश्व फुटबलमा निकै चासो बटुलेको छ ।
विश्वकपभर उत्तर अमेरिकाका धेरै रंगशालाले दर्शकको प्रशंसा बटुले । मेक्सिको सिटीको ऐतिहासिक एज्टेका स्टेडियम, सियाटलको लुमेन फिल्ड र लस एन्जलसको आधुनिक सोफी स्टेडियमलाई उत्कृष्ट मानिए पनि मेटलाइफ स्टेडियम भने सौन्दर्य, यातायात र खेल मैदानको अवस्थाका कारण आलोचित रह्यो । खेलाडी र प्रशिक्षकहरूले मैदानलाई ‘सुक्खा’, ‘कडा’ र ‘असमान’ भन्दै गुनासो गरेका थिए । म्यानहट्टनबाट रंगशालासम्मको यात्रा पनि महँगो र असहज मानिएको थियो । यति धेरै कमजोरी हुँदाहुँदै पनि फिफाले यही रंगशालालाई फाइनलका लागि छनोट गर्यो ।

फिफाको निर्णयमा सबैभन्दा महत्त्वपूर्ण पक्ष प्रसारण समय बन्यो । स्थानीय समयअनुसार दिउँसो ३ बजे हुने फाइनल युरोप, उत्तर अमेरिका र दक्षिण अमेरिकाका प्रमुख टेलिभिजन बजारका लागि उपयुक्त थियो । साथै, संयुक्त राज्य अमेरिकामा अधिकांश खेल आयोजना गर्ने प्रारम्भिक योजना पनि न्युयोर्क न्यु जर्सीको पक्षमा गयो । यद्यपि डलासले अन्तिम समयसम्म बलियो प्रतिस्पर्धा दिएको थियो ।
फाइनल आयोजनाको दौड जित्न न्युयोर्क न्यु जर्सीले सन् २०१८ देखि नै योजनाबद्ध रूपमा अभियान थालेको थियो । तत्कालीन न्यु जर्सीका गभर्नर फिल मर्फीले फिफा प्रतिनिधिमण्डलसँग नियमित भेटघाट गरे भने न्युयोर्क सहरसँग सहकार्य गर्दै संयुक्त प्रस्ताव तयार पारियो । योजनाको आधार स्पष्ट थियो । किनकि न्यु जर्सीसँग उत्कृष्ट पूर्वाधार, प्रशिक्षण केन्द्र र फुटबल संरचना थियो भने न्युयोर्कसँग विश्वप्रसिद्ध पहिचान, पर्यटन आकर्षण र अन्तर्राष्ट्रिय प्रभाव थियो ।
यस अभियानमा प्रभावशाली व्यक्तिहरूलाई पनि सक्रिय रूपमा प्रयोग गरियो । हलिउड अभिनेता रोबर्ट डी निरोले फिफाका लागि तयार गरिएको विशेष भिडियोमा स्वर दिएका थिए । उनले न्युयोर्क र न्यु जर्सीलाई ‘ठुला सपना देख्नेहरूको भूमि’ भन्दै विश्व फुटबललाई स्वागत गर्न तयार रहेको सन्देश दिएका थिए । भिडियोमा उनी भन्छन्, ‘हामी ठुला सपना देख्छौं, साँच्चै ठुला सपना, किनभने न्युयोर्क र न्यु जर्सीको पहिचान नै यही हो । हामी विश्वकै महान् खेललाई विश्वकै सबैभन्दा भव्य मञ्चमा स्वागत गर्ने सपना देख्छौं ।’
भिडियोमा स्ट्याचु अफ लिबर्टी, एम्पायर स्टेट बिल्डिङ र विभिन्न भाषामा ‘विश्वलाई स्वागत छ’ भन्ने बालबालिकाको सन्देश समावेश गरिएको थियो । यसले न्युयोर्क क्षेत्रको बहुसांस्कृतिक पहिचान र विश्वव्यापी आकर्षणलाई प्रस्तुत गरेको थियो ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई प्रभावित गर्न राजनीतिक नेतृत्व, व्यवसायी र खेलकुद क्षेत्रका प्रभावशाली व्यक्तिहरूसँग लगातार भेटघाट गरियो । विभिन्न बैठक, रात्रिभोज र प्रस्तुतीकरणमार्फत न्युयोर्क–न्यु जर्सीले सुरक्षा, यातायात, मौसम, दर्शक व्यवस्थापन तथा ठुलो अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालन गर्ने आफ्नो अनुभव प्रस्तुत गर्यो । टेलर स्विफ्टका कन्सर्ट र पोपको भ्रमणका बेला अपनाइएका सुरक्षा तथा यातायात व्यवस्थापनका उदाहरण पनि फिफासमक्ष राखिए ।
मेटलाइफ स्टेडियम खुला आकाशमुनि रहेको हुनु पनि यसको अर्को ठुलो बलियो पक्ष बन्यो । सोफी र डलासका रंगशालामा छाना भएकाले ३९ दिनसम्म प्राकृतिक घामबिना मैदानको घाँसको गुणस्तर कायम राख्न कठिन हुने फिफाका मैदान व्यवस्थापकहरूको निष्कर्ष थियो । प्राकृतिक प्रकाश र मौसमका कारण मेटलाइफको मैदान फाइनलका लागि बढी सुरक्षित विकल्प मानिएको थियो ।
यद्यपि प्रतियोगिताका क्रममा मैदानको गुणस्तरमाथि आलोचना जारी रह्यो । फिफाले मैदानको घाँसका टुक्रासमेत ४५० देखि ३,००० अमेरिकी डलरसम्ममा बिक्री गर्न थालेपछि विवाद उत्पन्न भयो । न्यु जर्सीका राजनीतिज्ञहरूले राज्यको सम्पत्ति अनुमतिबिना बिक्री गर्न नहुने भन्दै विरोध जनाए । यसैबिच, रंगशालामा हुने भव्य हाफटाइम शोले पनि मैदानको अवस्थामाथि थप प्रश्न उठाएको छ ।
यद्यपि सबै विवादका बिच एउटा आर्थिक यथार्थ पनि थियो । मेटलाइफ स्टेडियममा करिब ८० हजारभन्दा बढी दर्शक अट्ने क्षमता छ, जुन डलासभन्दा झन्डै १० हजार बढी हो । विश्वकप फाइनलको टिकट इतिहासकै सबैभन्दा महँगो खेल टिकटमध्ये एक बन्ने अनुमान रहेकाले फिफाले अतिरिक्त टिकट बिक्रीबाट ठुलो आम्दानी हुने सम्भावनालाई पनि महत्त्व दिएको थियो ।
अन्ततः विश्वकै सबैभन्दा चर्चित सहर न्युयोर्कको अन्तर्राष्ट्रिय आकर्षण, प्रसारण बजार, पूर्वाधार र आर्थिक सम्भावनाले मेटलाइफ स्टेडियमलाई विश्व फुटबलको सबैभन्दा ठुलो खेल आयोजना गर्ने अवसर दिलायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण