सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फाइनल अघि मेस्सीको एउटा पोस्टले प्रशंसकमा कौतुहलता, सन्न्यास लिन लागेका हुन् ?

आइतबार, ०३ साउन २०८३, १६ : ०५
आइतबार, ०३ साउन २०८३

सारांश

  • विश्वकप फाइनलअघि लियोनेल मेस्सीले सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै उपाधिभन्दा राष्ट्रिय टिमसँगको यात्रा र सम्बन्धलाई महत्त्व दिएका छन् ।
  • मेस्सीले टिमलाई परिवारको संज्ञा दिँदै कोचिङ स्टाफ र सबै सहयोगीलाई धन्यवाद ज्ञापन गरेका छन् ।
  • उनले फाइनलको परिणाम जे आए पनि टिमले इतिहास रचिसकेको र यो कहानी कहिल्यै नबिर्सिने बताएका छन् ।

काठमाडौँ । विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेनबिच प्रतिस्पर्धा हुनु अघि अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले सामाजिक सञ्जालमा एउटा भावुक पोस्ट गरेका छन् ।

उनले उपाधिभन्दा पनि राष्ट्रिय टिमसँग आफूले तय गरेका यात्रा र सम्बन्धलाई अहम् बताएका छन् ।

मेस्सीले लेखेका छन्, ‘यतिका वर्षसम्मको सबैभन्दा राम्रो कुरा केवल उपाधि जित्नु होइन, यो समग्र यात्रा हो । यो टिमसँग हरेक दिन बिताउनु, साथ मिलेर सङ्घर्ष गर्नु, मुस्किल समयमा एक अर्कालाई साथ दिनु र हरेक पलको आनन्द लिनु सबैभन्दा खास रह्यो ।’

उनले कोचिङ स्टाफ र पर्दा पछाडि रहेर काम गर्ने सबै जनाप्रति आभारसमेत प्रकट गरेका छन् । उनले टिम एउटा परिवारजस्तै हो र यही एकजुटता नै अर्जेन्टिनाको लगातारको सफलताको सबैभन्दा ठुलो कारण रहेको जनाएका छन् ।

उनले लेखेका छन्, ‘मेरा सबै साथी, कोचिङ स्टाफ र ती सबैलाई धन्यवाद, जो हरेक दिन यो राष्ट्रिय टिमलाई एक परिवार बनाउन काम गर्दै आएका छन् ।’

उनले फाइनलमा परिणाम जे आए पनि आफ्नो टिमले पहिला नै इतिहास रचिसकेको पनि उल्लेख गरेका छन् ।

मेस्सीले लेखेका छन्, ‘भोलि जेसुकै होस्, यो टिमले यस्तो कहानी लेखिसकेको छ जसलाई हामी कहिल्यै बिर्सन सक्दैनौँ र यसलाई कसैले मेटाउन सक्दैन ।’

सामाजिक सञ्जालमा उनले यो सन्देश पोस्ट गरेसँगै कैयौँले शुभकामना दिइरहेका छन् भने कतिपयले उनको अन्तर्राष्ट्रिय फुटबल करिअरको बिदाइका रूपमा व्याख्या गरिरहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप