मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’

सोमबार, ०४ साउन २०८३, ०५ : २३
सोमबार, ०४ साउन २०८३

सारांश

  • स्पेनले विश्वकपको उपाधि जितेको छ, जहाँ १० खेलाडीमा सीमित अर्जेन्टिनालाई अतिरिक्त समयमा पराजित गर्‍यो।
  • हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले टोलीले सक्दो प्रयास गरेको र विपक्षी उत्कृष्ट रहेको बताए।
  • उनले खेलाडीहरूको मिहिनेत र देशवासीको समर्थनलाई स्मरण गर्दै जितमा जस्तै हारमा पनि परिपक्वता देखाउनुपर्ने बताए।

न्युयोर्क । अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलको मद्दतले स्पेनले विश्वकपको उपाधि जितेको छ। १० खेलाडीमा सीमित साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेन विश्वविजेता बनेको हो।

नियमित समयको खेल सकिनै लाग्दा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले रातो कार्ड पाएका थिए। त्यसपछि १० खेलाडीमा समेटिएको अर्जेन्टिना अतिरिक्त समयमा सम्हालिन सकेन। खेलको १०६ औँ मिनेटमा वैकल्पिक खेलाडी निको विलियम्सको हेडर पासलाई सदुपयोग गर्दै फेरान टोरेसले गोल गरेर स्पेनलाई जित दिलाए।

हारपछि अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले टोलीले मैदानमा सक्दो प्रयास गरेको बताएका छन्। उनले भने, ‘म दुःखी छु तर हामीले पूरै मिहिनेतका साथ खेल्यौँ। म धेरै कुरा भन्न चाहन्छु तर अहिले भन्न सक्दिनँ। अन्तिमसम्म प्रतिस्पर्धा गर्ने मेरा खेलाडीप्रति म सधैँ आभारी रहनेछु।’

विरोधी टोलीको प्रशंसा गर्दै स्कालोनीले थपे, ‘इमानदारीपूर्वक भन्नुपर्दा उनीहरू हामीभन्दा उत्कृष्ट थिए। यहाँसम्म आइपुग्न कति गाह्रो छ र हाम्रा खेलाडीले के गरे भन्ने कुराको मीठो सम्झना मसँग छ। हामीले जितमा ठुलो छाती बनायौँ भने हारमा पनि परिपक्वता देखाउनुपर्छ। आज हामीले हार सहनसक्छौँ भन्ने देखाएका छौँ।’

उनले टोलीले यहाँसम्म गरेको मिहिनेत र उपलब्धि सजिलै नभुल्ने बताए। देशवासीलाई सन्देश दिँदै स्कालोनीले अर्जेन्टिनाका खेलाडीहरूले मैदानमा आफ्नो पूरा तागत लगाएर खेलेको दाबी गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप