मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’

सोमबार, ०४ साउन २०८३, ०६ : ५४
सोमबार, ०४ साउन २०८३

सारांश

  • स्पेनसँगको विश्वकप फाइनलमा पराजित भएपछि अर्जेन्टिनी कप्तान लियोनल मेस्सी भावुक बनेका छन्।
  • स्पेनले अतिरिक्त समयमा फेरान टोरेसको गोलमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि जितेको हो।
  • हारपछि मेस्सीले स्पेन उत्कृष्ट रहेको स्वीकार गर्दै आफ्नो टोलीले गरेको मेहनतको प्रशंसा गरेका छन्।

न्युयोर्क । मेटलाइफ रंगशालामा सोमबार भएको विश्वकप फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनी कप्तान लियोनल मेस्सी मैदानमै भावुक बनेका छन्।

टोलीलाई जित दिलाउन कुनै जादु चल्न नसकेपछि ३९ वर्षीय मेस्सीको आँसु थामिन सकेन।

सन् १९६२ मा ब्राजिलपछि लगातार दुई पटक पुरुष विश्वकप जित्ने पहिलो टोली बन्ने लक्ष्यमा रहेको अर्जेन्टिनालाई स्पेनले पराजित गरेको हो। अतिरिक्त समयको दोस्रो हाफ सुरु भएको ३७ सेकेन्डमै फेरान टोरेसले गोल गर्दै स्पेनलाई १-० को जित दिलाए र टोलीलाई दोस्रो पटक विश्वकप उपाधि जिताए।

रंगशालामा उपस्थित ८० हजार छ सय ८३ दर्शकको ठूलो सङ्ख्या मेस्सीलाई दोस्रो पटक विश्व विजेता बनेको हेर्न चाहन्थ्यो। तर खेल सकिएपछि मेस्सी निराशाका साथ मैदानमा उभिए। अर्जेन्टिनी समर्थकले टोलीलाई प्रोत्साहन दिइरहँदा अर्कोतिर स्पेनका खेलाडीहरूले मञ्चमा ट्रफी उचालेका थिए।

हारपछि मेस्सीले भने, ‘म दुःखी छु तर हामीले पूरै मिहिनेतका साथ खेल्यौँ भन्ने कुरामा सचेत छु। इमानदारीपूर्वक भन्नुपर्दा उनीहरू हामीभन्दा उत्कृष्ट थिए। हामीले खेल हार्यौँ र त्यसलाई स्वीकार गर्छौँ। यसको मतलब हामीले अहिलेसम्म गरेका उपलब्धिलाई भुल्नेछौँ भन्ने होइन, त्यसैले म मेरा मानिसहरू, खेलाडी र देशलाई धन्यवाद दिन चाहन्छु।’

फाइनलमा स्पेनको पूर्ण दबदबा रह्यो। स्पेनले गोलतर्फ २० पटक प्रहार गर्दा अर्जेन्टिनाले मात्र दुई पटक प्रयास गर्न सक्यो। त्यसैगरी स्पेनले आठ सय ४५ पास खेल्दा अर्जेन्टिनाले चार सय ३३ पास मात्र खेल्न सकेको थियो।

स्पेनका प्रशिक्षक लुइस दे ला फुएन्टेले आफ्नो पहिलो रणनीति नै मेस्सीलाई नियन्त्रणमा राख्ने रहेको बताए। खेलभर मेस्सीले जम्मा ५४ पटक मात्र बल छुने मौका पाए र गोल गर्ने कुनै पनि राम्रो अवसर पाउन सकेनन्।

तीन वर्षअघि युरोपेली फुटबल छाडेर अमेरिकी लिग खेल्न जाँदा धेरैले मेस्सीको करिअर सकिन लागेको अनुमान गरेका थिए। तर उनले आठ गोल र चार असिस्ट गर्दै अर्जेन्टिनालाई पुनः फाइनलसम्म पुर्‍याए। यो विश्वकपमा मेस्सीले तीन वटा विश्वकप फाइनलमा सुरुआती ११ मा खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाए भने आफ्नो अन्तर्राष्ट्रिय गोल सङ्ख्या १२५ पुर्‍याए।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले मेस्सीको प्रशंसा गर्दै भने, ‘मलाई आशा छ कि सबैले उहाँप्रति र उहाँका उपलब्धिप्रति गर्व गर्नेछन्, किनभने उहाँ मैदानमा पाइला टेक्ने अहिलेसम्मकै सर्वोत्कृष्ट फुटबलर हुनुहुन्छ।’

खेल सकिएपछि स्पेनका खेलाडीहरूले मेस्सीलाई अङ्कमाल गर्दै सान्त्वना दिएका थिए। उपविजेताको पदक लिन मञ्चतर्फ जाँदा स्पेनका खेलाडीले सम्मानस्वरूप ‘गार्ड अफ अनर’ दिएका थिए। स्पेन अहिले पुरुष र महिला दुवैतर्फको विश्वकप उपाधि एकै पटक जित्ने विश्वकै पहिलो देश बनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप