शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
प्रदेश सरकार

कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो

आन्तरिक राजस्व अघिल्लो वर्षभन्दा करिब १९ करोड कम
शुक्रबार, ०८ साउन २०८३, ०८ : ००
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • कोशी प्रदेश सरकारको कुल आय आर्थिक वर्ष २०८२/०८३ मा ३० अर्ब ३८ करोड ४७ लाख ३२ हजार ४३९ रुपैयाँ भएको छ, जुन ६ वर्षयताकै सबैभन्दा कम हो ।
  • आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशको कुल आय अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घटेको छ ।
  • गत आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश सरकारले २६ अर्ब २५ करोड २५ लाख ४८ हजार रुपैयाँ खर्च गरेको छ, जबकि बजेट ३६ अर्ब ९ करोड ८५ लाख रुपैयाँ थियो ।

विराटनगर । कोशी प्रदेश सरकारको कुल आय ६ वर्ष यताकै कम भएको छ । आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश सरकारको कुल आय ३० अर्ब ३८ करोड ४७ लाख ३२ हजार ४३९ रुपैयाँ भएको छ, जुन आर्थिक वर्ष २०७६/०७७ यताको सबैभन्दा कम हो ।

आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशको कुल आय २८ अर्ब २३ करोड भएको थियो । त्यसपछिका वर्षमा कोशी प्रदेशमा ३१ अर्बभन्दा माथि कुल आय थियो ।

तथ्याङ्क अनुसार प्रदेशको कुल आय २०७७/०७८ मा ३२ अर्ब ५ करोड, आर्थिक वर्ष २०७८/०७९ मा ३७ अर्ब १४ करोड, २०७९/०८० मा ३५ अर्ब ९६ करोड, २०८०/०८१ मा ३२ अर्ब २५ करोड र २०८१/०८२ मा ३३ अर्ब ६६ करोड रुपैयाँ भएको थियो । आर्थिक वर्ष २०८२/०८३ मा भएको कुल आय ३० अर्ब ३८ करोड भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा ३ अर्ब २८ करोडले कम हो ।

यस्तै प्रदेश सरकारको गत असार मसान्तसम्मको विवरण अनुसार कुल प्राप्त आयमध्ये प्रदेशको आफ्नै आन्तरिक राजस्व ४ अर्ब ७० करोड ८४ लाख ४४ हजार ९११ रुपैयाँ छ । आन्तरिक राजस्व पनि अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ४ अर्ब ८९ करोड भएको थियो । गत वर्ष आन्तरिक राजस्व अघिल्लो वर्षको भन्दा १९ करोडले कम आएको छ ।

यसैबिच कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा २६ अर्ब २५ करोड २५ लाख ४८ हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश सरकारले सो वर्षका लागि ३६ अर्ब ९ करोड ८५ लाख रुपैयाँ बजेट कायम गरेको थियो । कुल आय ३० अर्ब ३८ करोड ४७ लाख ३२ हजार ४३९ रुपैयाँ भएको थियो । प्रदेशको सञ्चित खातामा ४ अर्ब १३ करोड २१ लाखभन्दा बढी रकम बचत भएको छ ।

६ वर्षको खर्च तथ्याङ्क

तथ्याङ्क अनुसार कोशी प्रदेश सरकारले पहिलो बजेट २०७४ साल चैत २९ गते १ अर्ब २ करोड ५ लाख रुपैयाँको प्रस्तुत गरेको थियो । उक्त बजेट प्रशासनिक खर्चको लागिमात्रै ल्याइएको थियो । त्यसपछिका पूर्ण बजेटमा आर्थिक वर्ष २०७५/०७६ मा ३५ अर्ब ९४ करोड रुपैयाँ भएकोमा खर्च केवल २१ अर्ब ३० करोड रुपैयाँ भयो ।

आर्थिक वर्ष २०७६/०७७ मा कोशी प्रदेशको इतिहासकै सबैभन्दा ठुलो बजेट ४२ अर्ब २० करोड रुपैयाँ विनियोजन गरियो, तर यथार्थ खर्च २९ अर्ब ८४ करोड रुपैयाँमा सीमित भयो । आर्थिक वर्ष २०७७/०७८ मा ४० अर्ब ९० करोड रुपैयाँको बजेट बनेकोमा खर्च २७ अर्ब ९६ करोड रुपैयाँमात्र भयो । आर्थिक वर्ष २०७८/०७९ बजेट आकार घटाएर ३२ अर्ब ७४ करोड रुपैयाँमा झारियो, जसमध्ये २९ अर्ब ९७ करोड रुपैयाँ खर्च भयो ।

आर्थिक वर्ष २०७९/०८० मा पुनः बजेट बढाएर ३९ अर्ब ७४ करोड रुपैयाँ पुर्‍याइयो । यथार्थ खर्च ३० अर्ब ७६ करोड रुपैयाँ (७७.०३ प्रतिशत) भयो । आर्थिक वर्ष २०८०/०८१ मा बजेटको आकार घटाएर ३६ अर्ब ८१ करोड ९० लाख ७४ हजार रुपैयाँ ल्याइयो । जसमध्ये २८ अर्ब ३ करोड रुपैयाँ (७६.१२ प्रतिशत) मात्र खर्च हुन सक्यो ।

आर्थिक वर्ष २०८१/०८२ मा बजेट थप सङ्कुचित बनाउँदै ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको ल्याइयो । जसको कुल खर्च २८ अर्ब १८ करोड रुपैयाँ (८०.२३ प्रतिशत) भयो । प्रतिशत बढेको देखिए पनि खर्चको वास्तविक परिमाण भने घट्यो । आर्थिक वर्ष २०८२/८३ मा भने बजेट खर्च जम्मा २६ अर्ब २५ करोड २५ लाख ४८ हजार रुपैयाँ गरेको हो । बजेट भने ३६ अर्ब ९ करोड ८५ लाख रुपैयाँ कायम थियो ।

लगातार घट्दो विकास खर्च

कोशी प्रदेशमा कुल बजेट खर्चसँगै पुँजीगत खर्च पनि घट्दै गएको छ । विगत तीन वर्षको पुँजीगत खर्चको तथ्याङ्क हेर्दा पनि आर्थिक वर्ष २०७९/०८० मा १८ अर्ब ११ करोड २५ लाख २८ हजार रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा यो रकम घटेर १६ अर्ब ३४ करोड २८ लाख ९८ हजार रुपैयाँमा आइपुग्यो । आर्थिक वर्ष २०८१/०८२ मा विकास खर्च अझै घट्दै केवल १३ अर्ब ८२ करोड ६१ लाख रुपैयाँमा सीमित भयो । आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्ममा पुँजीगततर्फ जम्मा १२ अर्ब ३८ करोड ५८ लाख ८३ हजार ७२० रुपैयाँ खर्च भएको छ । बजेट विनियोजन भने कुल १७ अर्ब १४ करोड ६२ लाख ३० हजार रुपैयाँ थियो । 

1234

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप