शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ

शुक्रबार, ०८ साउन २०८३, १३ : ०१
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • अस्ट्रेलियन फुटबल टोलीका मिडफिल्डर क्रिस्टियन भोल्पाटो तीव्र गतिमा गाडी चलाउने क्रममा कोकिन परीक्षणमा पोजेटिभ फेला परेका छन्।
  • प्रहरीले भोल्पाटोलाई दुई पटक तीव्र गतिमा सवारी चलाएको आरोपमा नियन्त्रणमा लिएको थियो र दोस्रो पटकको परीक्षणमा कोकिन सेवन गरेको पाइएको थियो।
  • न्यु साउथ वेल्स प्रहरीले भोल्पाटोको अन्तर्राष्ट्रिय चालक अनुमतिपत्र छ महिनाका लागि निलम्बन गरेको छ र थप अनुसन्धान जारी राखेको छ।

सिड्नी । अस्ट्रेलियन फुटबल टोली (सकरुज) का मिडफिल्डर क्रिस्टियन भोल्पाटो सिड्नीमा तीव्र गतिमा गाडी चलाउने क्रममा प्रहरी नियन्त्रणमा पर्नुका साथै कोकिन परीक्षणमा पोजेटिभ फेला परेका छन्। 
२२ वर्षीय भोल्पाटोलाई प्रहरीले एकै रात दुईपटक तीव्र गतिमा सवारी चलाएको आरोपमा रोकेको थियो।

न्यु साउथ वेल्स प्रहरीका अनुसार बिहीबार राति स्थानीय समय अनुसार ११:०५ बजे ६० किलोमिटर प्रतिघण्टाको गति सीमा भएको एन्जाक ब्रिजमा ८६ देखि ९४ किलोमिटर प्रतिघण्टाको गतिमा बीएमडब्ल्यू हाँकेपछि उनलाई रोकिएको थियो। सो क्रममा गरिएको ब्रेथ टेस्टमा मादक पदार्थ सेवन नगरेको पाइएको थियो।

यद्यपि, सोही ६० किलोमिटर प्रतिघण्टाको गति सीमा भएको क्षेत्रमा दुई घण्टापछि पुनः १०९ किलोमिटर प्रतिघण्टाको गतिमा गाडी हाँकेपछि उनलाई प्रहरीले फेरि रोकेको थियो। त्यस क्रममा गरिएको परीक्षणमा भोल्पाटोले कोकिन सेवन गरेको पाइएको प्रहरीले जनाएको छ।

न्यु साउथ वेल्स राज्य प्रहरीले तीव्र गतिका लागि उनलाई जरिवानाको पुर्जी जारी गर्नुका साथै उनको अन्तर्राष्ट्रिय चालक अनुमतिपत्र छ महिनाका लागि निलम्बन गरिदिएको छ। यसको अर्थ उनले अब न्यु साउथ वेल्समा सवारी साधन चलाउन पाउने छैनन्। प्रहरीले थप अनुसन्धानका लागि उनको मुखको र्‍यालको अर्को नमुना निकालिएको र घटनाबारे थप छानबिन जारी रहेको बताएको छ।

विश्वकपमा अस्ट्रेलिया अन्तिम ३२ चरणसम्म पुग्दा भोल्पाटोले टोलीका चारमध्ये तीन वटा खेल खेलेका थिए। उक्त प्रतियोगिताको पेनाल्टी सुटआउटमा इजिप्टसँग पराजित हुँदै अस्ट्रेलिया बाहिरिएको थियो। 

यसअघि इटालीको युवा टोलीबाट खेलिसकेका उनले विश्वकपका लागि टोली घोषणा हुनुभन्दा ठिक अघि गत मे महिनामा अस्ट्रेलियाली टोलीबाट खेल्ने निर्णय गरेका थिए। सन् २०२३ देखि सिरिए ‘ए’ क्लब सासुलोमा आबद्ध भोल्पाटोले अघिल्लो सिजन टोलीलाई ११ औँ स्थानमा दिलाउने क्रममा २४ वटा लिग खेल खेलेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप