आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
सारांश
- रौतहटको राजदेवी नगरपालिका, ब्रह्मपुरी गाउँका बासिन्दा वर्षायाम सुरु भएसँगै बागमती नदीको बाढीले घर डुबानमा पार्ने डरले त्रसित छन् ।
- स्थानीयका अनुसार तीन दशकअघि निर्माण गरिएको बाँध मर्मतसम्भारको अभावमा जीर्ण बनेको छ र ठूलो पानी परेमा भत्किने जोखिममा छ ।
- सरकारले बाढी प्रभावित क्षेत्रका जनताको सुरक्षामा वास्ता नगरेको र भारतीय क्षेत्रमा बलियो तटबन्ध निर्माण भएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
जनकपुरधाम । उमेरले साढे ६ दशक पार गरेकी जगमती देवी बैठा रौतहटको राजदेवी नगरपालिका, ब्रह्मपुरी गाउँस्थित बागमती नदी किनारको बाँध भएको स्थानमा टोलाएर बसेकी छन् । पटक–पटक बाढीले घर डुबानमा पार्ने गरेकाले उनी वर्षायाम सुरु भएसँगै त्रसित छिन् ।
बागमतीमा पानीको सतह बढेको देखाउँदै उनले भनिन्, ‘यहाँ जति पानी बढ्छ, हामी त्यत्तिकै त्रसित हुन्छौँ । ३ वर्ष पहिला आएको बाढीले गाउँ नै बेहालमा पारिदिएको थियो । खेतबारीमा लगाएको धानको बालीसँगै घरमा भएको अन्नपात र सामान बगाएर लगेको थियो ।’

जेनतेन आफू र परिवार जोगिए पनि ३ वर्ष अघिको नियति फेरि नदोहोरिएला भन्ने अवस्था नरहेको बैठाले बताइन् । ‘वर्षायाम सुरु भएको छ । घरविहीन हुनुपर्ने हो कि भन्ने डर लागिरहन्छ,’ उनले भनिन् । ०५० सालमा आएको विनाशकारी बाढीमा आफूले रातभरि छानोमाथि बसेर ज्यान जोगाएको अनुभव उनले सुनाइन् ।

उनीमात्रै हैन, सोही ठाउँका रामदत्त दासको पनि यस्तै चिन्ता छ । पेसाले कार्यालय सहयोगी उनी ०५० सालमा आएको बाढीले गाउँका ३ जनाको मृत्यु भएको बताउँछन् । उनले भने, ‘त्योबेला कैयौँ परिवार घरविहीन हुनुपरेको थियो । अहिले सरकारले कमसल भए पनि बाँध त बनाइदिएको छ, तर यसको पनि के भर ?’
वर्षायाम सुरु भएसँगै मनमा एक किसिमको त्रास थपिएको दासले बताए । उनले भने, ‘फेरि बाढीले धनजन, खेतीबालीको नोक्सानी नहोस् भनेर भगवानसंँग दिनहुँ प्रार्थना गर्ने गरेको छु ।’ ०५० सालको बाडीमा आफूले रातभरि रुखमा बसेर ज्यान जोगाएको उनले सुनाए ।
२०५० सालमा सरकारले यो बाँध निर्माण गरे पनि मर्मतसम्भारको अभावमा धेरै अहिले स्थानमा कटान भएको छ । पुनर्निर्माणमा ध्यान नदिँदा बाँध नजिकै रहेका गाउँ बाढी र डुबानको जोखिममा परेका छन् । दासले भने, ‘बाँध भएको स्थान अनुगमन गर्नुस्, धेरै ठाउँमा चिरा परेको छ । ठुलो पानी प¥यो भने बाँध भत्काएर नदीको पानी गाउँ प्रवेश गर्न सक्छ ।’
यो बाँधको केही हिस्सा चीन सरकारको सहयोग र केही भारत सरकारको सहयोगमा निर्माण भएको हो । स्थानीयका अनुसार ३ दशक अघि निर्माण गरिएको बाँधमा गिट्टी, ढुंगा नभई बालुवामात्र थुपारेको स्थानीयको गुनासो छ ।

त्यसपछि नदीले कटान गरेका कैयौँ स्थानमा ढुंगागिट्टी सहितको तारजाली लगाएर भरिएको छ । तारजाली लगाइएको स्थान केही सुरक्षित भए पनि मुख्य बाँधको संरचना कमजोर भएकाले खतरा निम्तिन सक्ने स्थानीय रामनरेश सिंहले बताए ।
उनले भने, ‘देशमा राजनीतिक परिवर्तनले ठुलो फड्को मारेको छ । संघ, प्रदेशदेखि स्थानीय तहसम्मका सरकार छन् । बाढीको प्रभावित क्षेत्र आसपास भएका जनताको सुरक्षाका लागि भने कुनै सरकारले वास्ता गरेका छैनन् ।’

ठुलो पानी परेसँगै राजेदवी नगरपालिकाको ब्रह्मपुरी, चण्डिहासबतपुर, पताही, माठकटरवन, सेढवा, मोहनपुर, बलरा लगायतका स्थान प्रभावित बन्ने गरका छन् । वर्षायाममा आकाशमा कालो बाँदल मडारिना साथ यहाँका बासिन्दा बाढीको त्रासमा बस्न बाध्य हुन्छन् ।
उमेरले ७ दशक पार गरेका जगदीस दासले भने, ‘पानी पर्न थाल्यो भने हामी रातभरि सुत्न सक्दैनौँ ।’

बाढीको जोखिममा रहेको भारतीय क्षेत्रमा त्यहाँको सरकारले बलियो तटबन्ध निर्माण गरिदिएको भन्दै उनले नेपाल सरकारले आफ्ना नागरिकको सुरक्षामा त्यसरी ध्यान दिन नसकेको गुनासो गरे । भारत सरकारले प्रत्येक वर्ष बाँधको पुनर्निर्माणमा ध्यान दिदा बाँधको उचाइ नेपालतिरको तुलनामा धेरै अग्लो भइसकेको उनले सुनाए ।

राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारीराय यादवले बागमती नदी किनारका बाँध धेरै पुरानो भएको बताए । उनले रातोपाटीसँग भने, ‘बाँधकै कारण नगरभित्र कुनै अप्रिय घटना नहोस् भनेर केन्द्रदेखि प्रमुख जिल्ला अधिकारीसम्मलाई पत्र पठाएका छौँ तर कुनै सुनुवाइ भएन ।’

बाँध भएर मोटरसाइकल, जीप तथा साइकल गुड्ने गर्छन् । बाँधमा कुनै अप्रिय घटना नहोस् भनेर नगरपालिकाले बोराभित्र बालुवा हालेर भर्ने, पानी पन्छाउने तथा केही भइहाले परिचालनका लागि जेसीबी तयारी अवस्थामा राखेको नगर प्रमुख यादवले जनाए ।

स्थानीयले जीर्ण भइसकेको बाँधको उचाइ बढाउनुपर्ने, बाँधको तल तारजाली हालेर तटबन्ध निर्माण गर्नुपर्ने, पानीको बहाव परिवर्तन हुने स्थानमा विशेष निगरानी बढाउनुपर्ने, भारततिर निर्माण गरिएजस्तै बाँध निर्माणमा सरकार र अधिकारीहरूको विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

नदीमा पानीको सतह बढेर गाउँमा पानी छिर्ने अवस्था आएमा पूर्वसूचना दिने कुनै संयन्त्रको व्यवस्था छैन् । एक दशक अघि राज्यबाट गाउँबासीलाई पूर्वसूचना दिन माईक, टर्च, त्रिपाल लगायतका सामग्री प्रदान गरिए पनि अहिले त्यस्तो व्यवस्था केही नरहेको स्थानीय बताउँछन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण