शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
चरमचुलीमा कांग्रेस विवाद

कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?

शुक्रबार, ०८ साउन २०८३, १९ : ४९
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न विवादले ध्रुवीकरण तीव्र बनाएको छ।
  • संस्थापन पक्षले 'एनसी फर एनसी' अभियान घोषणा गर्दा इतर पक्षले राष्ट्रिय भेला आह्वान गरेको छ।
  • दुई समूहका फरक गतिविधिले पार्टीको शक्ति संघर्ष र आगामी दिशाबारे बहस सिर्जना भएको छ।

काठमाडौँ । नेपाली कांग्रेसभित्र ध्रुवीकरण तीव्र हुँदै गएको छ। विशेष महाधिवेशनले बढाएको विवाद पछिल्लो समय चरमचुलीमा पुगेको छ ।

बीपी स्मृति दिवसका अवसरमा संस्थापन पक्ष र इतर पक्षले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी पार्टीभित्र विभाजन रेखालाई अझ गाढा बनाएका छन् ।

आगामी दिनमा पनि यी दुई समूह अलग–अलग दिशामा अघि बढ्ने प्रस्ट देखिएको छ। बिहीबार कांग्रेस सभापति गगन थापाले पार्टीलाई जनस्तरमा लैजान भन्दै ‘एनसी फर एनसी’ अभियान घोषणा गरे । सभापति थापाका अनुसार त्यो अभियान भदौ २४ देखि सुरु हुनेछ । सामाजिक रूपान्तरण र सुशासनलाई प्राथमिकता दिन भन्दै अभियान सञ्चालन गर्ने घोषणा गरिएको हो ।

अर्कोतिर, निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले साउन २९ गतेका लागि राष्ट्रिय भेला आह्वान गरेको छ । इतर समूहले वर्तमान नेतृत्वको कार्यशैलीले पार्टी कमजोर भएको आरोप लगाउँदै नयाँ कार्यदिशा खोज्न भन्दै राष्ट्रिय भेला बोलाउनु परेको बताएको छ ।

यी दुई फरक गतिविधिले कांग्रेसभित्रको शक्ति संघर्ष र आगामी राजनीतिक दिशाबारे राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ ।

कांग्रेसभित्रको शक्ति संघर्ष र पार्टी सुदृढीकरणका दुई फरक स्वरूप एकैसाथ सतहमा आएका छन् ।

इतर समूहले पार्टीको वर्तमान अवस्थालाई चिर्दै नयाँ कार्यदिशा तय गर्न भन्दै बोलाएको भेलाका लागि शुक्रबारदेखि तयारी थालेको छ । भेलामा सहभागी हुने प्रतिनिधि छनोटको मापदण्ड, जिम्मेवारी बाँडफाँट र एजेण्डाहरू तय गर्ने काम सुरु भएको प्रसार संयोजक मीन विश्वकर्माले जानकारी दिए ।

भेलाले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्जीवन दिने लक्ष्य राखेको र त्यहाँ राजनीतिक, आर्थिक, सामाजिक र सांगठनिक प्रस्तावहरूमाथि गहन मन्थन हुने उनले प्रस्ट पारे ।

पुस अन्तिम साताको विशेष महाधिवेशनपछि सुरु भएको विवाद र नेतृत्वबिचको देउवा–कोइराला समूहले आफ्नै ढङ्गले अगाडि बढ्ने रणनीति अख्तियार गरेको हो ।

अर्कोतर्फ पार्टी सभापति थापाले भने पार्टीलाई केवल राजनीतिक भाषण र आन्तरिक कलहमा मात्र अल्झाउनुको सट्टा नागरिकको सुख–दुःखसँग जोड्ने गरी ‘नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान’ भन्दै ‘एनसी फर एनसी’ अभियानको घोषणा गरे । भदौ २४ गते बीपी कोइरालाको जन्मजयन्तीका दिनदेखि सुरु हुने यस अभियानले कांग्रेस नेता कार्यकर्ताहरूलाई जनताका प्रत्यक्ष समस्या समाधानमा परिचालन गर्ने लक्ष्य राखेको थापा बताउँछन् ।

अभियानमा कांग्रेसले सामुदायिक सेवा, नागरिक संवाद, नागरिक शिक्षा र नेतृत्व विकास, स्थानीय नवप्रवर्तन र सुशासनका क्षेत्रमा काम गर्ने जनाइएको छ । अभियान अन्तर्गत कार्यकर्ताहरूले रक्तदान, वृक्षारोपण, स्वास्थ्य शिविर सञ्चालन जस्ता सामाजिक कार्यदेखि सरकारी सेवा लिन सर्वसाधारणलाई हुने सास्ती कम गर्न सहजीकरणको भूमिका समेत खेल्नुपर्ने सभापति थापाले बताए ।

पार्टीका कार्यकर्ताहरूलाई समाजको ‘वाचडग’ का रूपमा स्थापित गर्ने र स्थानीय सरकारका कामको अनुगमन गर्ने जिम्मेवारी समेत सुम्पिनका लागि पनि अभियान फलदायी हुने कांग्रेसले जनाएको छ ।

दुई गतिविधिले कांग्रेसभित्र विभाजन र प्रतिस्पर्धाको रेखा प्रस्ट कोरेको छ । इतर समूहले पार्टीको नेतृत्व र विधान कार्यान्वयनमा प्रश्न उठाउँदै राष्ट्रिय भेलामार्फत शक्ति प्रदर्शन गर्ने तयारी गरिरहँदा संस्थापन पक्षले भने रचनात्मक काममार्फत कार्यकर्ता र जनताको मन जित्ने प्रयास गरेको देखिन्छ ।

इतर समूहका नेताहरूले साउनको भेलासम्म पनि पार्टीमा एकता र सहमतिको प्रयास नभए नयाँ बाटो तय गर्न सक्ने चेतावनी दिएका छन्, जसले पार्टी विभाजनको खतरा समेत औँल्याएको छ ।

इतर पक्षका नेता पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाले सभापति थापालाई सबैलाई मिलाएर लैजान आग्रह गर्दै अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी नेतृत्वले नै लिनुपर्ने बताएका छन् ।

कांग्रेस यतिबेला एकातिर आन्तरिक विग्रह र अस्तित्वको लडाइँमा छ भने अर्कोतिर सांगठनिक पुनर्संरचना र जनसम्पर्क विस्तार गर्नुपर्ने चुनौती पनि झेल्दैछ ।

यो अवस्थामा आगामी दिनमा कांग्रेसको भविष्य र नेपाली राजनीतिको दिशा कुन रूपमा अघि बढ्छ भन्ने किटान गर्न गाह्रो छ ।

राजनीतिक विश्लेषक तथा त्रिभुवन विश्वविद्यालयमा राजनीतिक शास्त्रमा प्राध्यापनरत डा. भेषराज घिमिरे भने तत्काल पार्टी फुट्ने सम्भावना नदेखिएको बताउँछन् । पार्टी मिल्नका लागि दबाब दिन इतर समूहको राष्ट्रिय भेला हुन लागेको उनको भनाइ छ । ‘असन्तुष्ट पक्षले पार्टी मिल्न बाध्य बनाउन दबाब सिर्जना गर्ने रणनीतिस्वरुप राष्ट्रिय भेला बोलाएको देखिएको छ,’ डा.घिमिरेले रातोपाटीसँग भने, ‘इतर समूहले सर्वोच्चमा पुनरवलोकनका लागि दिएको रिटले पनि पुनर्मिलनका लागि दबाब सिर्जना गर्छ । सम्भवतः सर्वोच्चको आदेश र राष्ट्रिय भेला अगावै कांग्रेसमा पुनर्मिलन हुन्छ ।’

पार्टीमा मिलन गराउन विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वलाई ठुलो प्रेसर परेको गतिविधि हेर्दा बुझ्न सकिने घिमिरेले बताए ।

इतर समूहले बुधबार गरेको कार्यक्रममा पुगेका कार्यकर्ता हेर्दा सभापति थापाले ‘कम्प्रोमाइज’ गरेर पार्टी बलियो बनाउने र विवाद मिलाउनतिर लाग्नुपर्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप