शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य

शनिबार, ०९ साउन २०८३, ०७ : ४०
शनिबार, ०९ साउन २०८३

सारांश

  • 'बेहुली' चलचित्रको पहिलो गीत 'दिलमा ठाउँ छ' सार्वजनिक भएको छ ।
  • यो गीतमा पारस बम ठकुरी र दिव्या रायमाझी फिचर्ड छन् ।
  • संगीतकार अर्जुन पोखरेलले यो गीत चलचित्रको प्रचारप्रसारका लागि फरक स्वादमा तयार पारिएको बताए ।

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौँको एक कार्यक्रम सहित गीत सार्वजनिक गरिएको हो । गीतमा चलचित्रका निर्मातासमेत रहेका संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने अन्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर छ।

गीतकाे भिडियोमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की र कलाकार पदम तामाङ फिचर्ड छन् । सियोन श्रेष्ठ गीतको कोरियोग्राफी हुन् ।

कार्यक्रममा संगीतकार तथा निर्माता पोखरेलले यो गीत चलचित्रको प्रचारप्रसार र प्रवर्द्धनका लागि फरक स्वादमा तयार पारिएको बताए ।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको चलचित्रमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय छ ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यस चलचित्रमा अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेका छन् भने प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्‌ । कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन् ।

यसमा नरेन्द्र मैनालीको डिओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी छ । चलचित्र काठमाडौँ उपत्यकाभित्र काफिया फिल्म्स र बाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्। डिजिटल प्लेटफर्मको अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप