आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमतीमा नयाँ सरकार गठनको कसरत

आइतबार, १० साउन २०८३, १३ : ३६
आइतबार, १० साउन २०८३

सारांश

  • बागमती प्रदेशमा नयाँ सत्ता समीकरण अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सहितको बैठक बस्दैछ ।
  • बैठकमा सरकारको नेतृत्व, मन्त्रालयको भागबन्डा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारमा सहभागी गराउने विषयमा छलफल हुनेछ ।
  • प्रदेशलाई राजनीतिक अस्थिरताबाट जोगाउनु र प्रदेश सभा विघटन हुन नदिनु वर्तमान गठबन्धनको प्रमुख उद्देश्य रहेको छ ।

हेटौँडा । बागमती प्रदेशमा नयाँ सत्ता समीकरण अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन आज निर्णायक छलफल हुँदैछ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सहितको नयाँ समीकरणले सरकार गठनको खाका तयार पार्न आइतबार (आज) अपराह्न ४ बजे काठमाडौँमा बैठक बोलाइएको हो । 

नेकपा बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलका अनुसार बैठकमा सरकारको नेतृत्व, मन्त्रालयको भागबन्डा र साना दलहरूलाई सरकारमा सहभागी गराउने विषयमा छलफल हुनेछ । चितवनमा रहेका एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया काठमाडौँ आइपुगेपछि बैठक बस्ने उनले बताए ।

नयाँ समीकरणसँग सरकार बनाउन स्पष्ट बहुमत नभएकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारमा सामेल गराउने विषय बैठकको मुख्य एजेन्डा रहने उनले बताए । राप्रपालाई सरकारमा नलिई बहुमत पुर्‍याउन कठिन हुने भएकाले उनीहरूसँग ठोस संवाद गर्ने तयारी समीकरणको रहेको उनले बताए । 

वर्तमान मुख्यमन्त्रीले राजीनामा नदिएको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्नेबारे पनि सत्ता साझेदार दलहरूले रणनीति बनाउने उनको भनाई छ । तत्कालै अविश्वासको प्रस्ताव लैजानु भन्दा पनि मुख्यमन्त्रीलाई विश्वासको मत लिने समयसम्म पर्खिने वा मार्ग प्रशस्त गर्न आग्रह गर्ने विषयको निर्णय बैठकले गर्ने उनले बताए ।

प्रदेशलाई राजनीतिक अस्थिरताबाट जोगाउनु र प्रदेश सभा विघटन हुन नदिनु वर्तमान गठबन्धनको प्रमुख उद्देश्य रहेको उनले बताए ।

केन्द्रमा भएको सहमति अनुसार बागमतीमा सरकारको नेतृत्व एमालेबाट कसले गर्ने र नेकपा तथा एमालेबिच मन्त्रालयको बाँडफाँड कसरी गर्ने भन्नेबारे बैठकमा प्रारम्भिक खाका तयार पारिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप