आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
छिमेक

मोदीविरुद्ध व्यङ्ग्य, हास्य र ‘मिम’ले भरिएको भारतीय युवा आन्दोलन

आइतबार, १० साउन २०८३, १३ : ३९
आइतबार, १० साउन २०८३

सारांश

  • भारतीय युवा प्रदर्शनकारीहरूले सामाजिक सञ्जालमा मिम, व्यङ्ग्यात्मक भिडियो र आत्मव्यङ्ग्य प्रयोग गरेर सरकारको आलोचना गरिरहेका छन्।
  • कोलकातामा शिक्षा सुधारको मागसहित सुरु भएको आन्दोलनले अहिले भारतभरका युवाहरूलाई जोडेको छ।
  • प्रदर्शनकारीहरूले प्रहरीसँगको झडपलाई पनि हास्यव्यङ्ग्य सामग्रीमा रूपान्तरण गर्दै सामाजिक सञ्जालमा भाइरल बनाइरहेका छन्।

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक छवि निर्माण गरेका थिए । तर अहिले प्रदर्शनकारीहरू त्यही प्लेटफर्म प्रयोग गरेर उनको सरकारको खिल्ली उडाइरहेका छन् ।

भारतमा सरकारविरुद्ध उत्रिएका युवा प्रदर्शनकारीहरूले आफ्नो असन्तुष्टि व्यक्त गर्न नयाँ शैली अपनाएका छन् । सडकमा हजारौँको प्रदर्शनसँगै उनीहरूले सामाजिक सञ्जालमा मिम, व्यङ्ग्यात्मक भिडियो र आत्मव्यङ्ग्यले भरिएका पोस्टमार्फत सरकारलाई चुनौती दिइरहेका छन् । यसरी उनीहरूले सामाजिक सञ्जाललाई आफ्नो अभियानको मुख्य हतियार बनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको सबैभन्दा बलियो राजनीतिक माध्यमलाई नै उनीविरुद्ध प्रयोग गर्न थालेका छन् ।

कोलकातामा २४ जुलाई २०२६ मा ‘ककरोच जनता पार्टी’ (सीजेपी) को नेतृत्वमा भएको शिक्षा सुधारको मागसहितको आन्दोलनमा विद्यार्थी कार्यकर्ताहरू सडकमा उत्रिएका थिए । यही आन्दोलनले अहिले भारतभरका युवाहरूलाई जोड्दै लगेको छ ।

मोदीले सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक ब्रान्ड निर्माण गरेका थिए । तर अहिले प्रदर्शनकारीहरूले त्यही माध्यम प्रयोग गरेर सरकारको आलोचना, सरकार समर्थक टेलिभिजन सञ्चारमाध्यमको व्यङ्ग्य र प्रहरीसँगको झडपलाई ‘भाइरल’ सामग्रीमा रूपान्तरण गर्दै सार्वजनिक बहसको नेतृत्व आफ्नो हातमा लिन सफल भएका छन् । यस डिजिटल अभियानले शिक्षा सुधार र जवाफदेहिताको मागलाई सडकदेखि सामाजिक सञ्जालसम्म विस्तार गरेको छ । यसले आन्दोलनको पहुँच बढाउनुका साथै तीव्र गतिमा फैलिरहेको युवा आन्दोलनप्रति सरकारमाथिको दबाब पनि बढाएको छ ।

स्ट्राभा, सबवे सर्फर्स र प्रदर्शन
‘ककरोच आन्दोलन’को डिजिटल अभियानको मुख्य आधार हास्यव्यङ्ग्य बनेको छ । प्रहरीसँगको झडपसमेत सामाजिक सञ्जालमा भाइरल सामग्री बनेको छ । केही भिडियोमा प्रदर्शनकारीहरू लाठीचार्जबाट भाग्दै गर्दा पनि आफ्नो ‘स्ट्राभा स्ट्रिक’ जोगाइरहेको भन्दै मजाक गरिरहेका देखिन्छन् । ‘स्ट्राभा’ धावक तथा खेलाडीहरूले प्रयोग गर्ने फिटनेस ट्र्याकिङ एप हो ।

कतिपयले प्रहरीको अवरोध छल्दै दौडिरहेको दृश्यलाई लोकप्रिय मोबाइल गेम ‘सबवे सर्फर्स’ जस्तै देखिने गरी सम्पादन गरेका छन् । धेरै युवतीहरूले इन्फ्लुएन्सर शैली अपनाउँदै प्रदर्शनमा जानुअघि ‘गेट रेडी विथ मी’ भिडियो पोस्ट गरेका छन् । कसैले हेल्मेट, सुरक्षात्मक चस्मा र घरमै बनाएका सुरक्षा सामग्री देखाउँदै ‘फिट चेक’ गरेका छन् ।
अन्य प्रदर्शनकारीहरूले सरकार समर्थक टेलिभिजन प्रस्तोताहरूको नक्कल गर्दै उनीहरूको नाटकीय समाचार प्रस्तुतिको व्यङ्ग्यात्मक भिडियो पनि बनाएका छन् । ती सञ्चारमाध्यमले आन्दोलनकारीलाई ‘राष्ट्रविरोधी’ र ‘विदेशी शक्तिबाट परिचालित’ भनेर चित्रण गरिरहेका छन् ।

सुरक्षाको कारण नाम नखुलाउने सर्तमा एसोसिएटेड प्रेससँग कुरा गर्दै एक २५ वर्षीया प्रदर्शनकारीले मिम केवल हाँसोका लागि मात्र नभई मानसिक तनावसँग जुध्ने माध्यम पनि भएको बताइन् । उनले भनिन्, ‘अघिल्लो पुस्ताले कठिनाइ सहन सिकेका थिए । हाम्रो पुस्ता भने अन्याय चुपचाप सहेर बस्ने पक्षमा छैन ।’ उनले राजधानीमा प्रदर्शनकारीमाथि भएको प्रहरी कारबाहीलाई सङ्केत गर्दै थपिन्, ‘हामीलाई मोबाइलको डाटा सकिँदा त सहनै गाह्रो हुन्छ भने यस्तो व्यवहार त झन् सहँदैनौँ ।’

‘हामीलाई लामो भाषण मन पर्दैन’
एक महिनाअघि सुरु भएको यो आन्दोलन विभिन्न प्रवेश परीक्षा तथा सरकारी जागिरसम्बन्धी प्रश्नपत्र चुहावटका घटनापछि चर्किएको हो । विशेषगरी राष्ट्रिय चिकित्सा प्रवेश परीक्षाको प्रश्नपत्र चुहावटले युवाहरूमा व्यापक आक्रोश पैदा गरेको थियो । युवाहरूका अनुसार यस्ता घटनाले उनीहरूको भविष्य सङ्कटमा पारेको छ र शिक्षा प्रणालीप्रतिको विश्वास कमजोर बनाएको छ । उनीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई यसको जिम्मेवार ठहर्‍याएका थिए । प्रधानले शनिबार पदबाट राजीनामा दिइसकेका छन् ।

image (5)

यद्यपि आन्दोलन अहिले परीक्षा घोटालाभन्दा धेरै अगाडि पुगिसकेको छ । अहिले यसको केन्द्रमा सरकारको जवाफदेहिता र सुशासनको माग रहेको छ र आन्दोलन भारतका अन्य सहरहरूमा पनि फैलिएको छ । यस विस्तारमा ‘ककरोच जनता पार्टी’ (सीजेपी) को महत्त्वपूर्ण भूमिका रहेको छ । दुई महिनाअघि व्यङ्ग्यात्मक अभियानका रूपमा सुरु भएको यो समूहले मिम, हास्य र व्यङ्ग्यमार्फत युवाहरूलाई सरकारप्रतिको असन्तुष्टि व्यक्त गर्ने नयाँ माध्यम दिएको छ ।

नयाँ दिल्लीको मुख्य प्रदर्शनस्थलमा यसको प्रभाव स्पष्ट देखिन्थ्यो । कतिपय प्रदर्शनकारी स्पाइडर–म्यानको मास्क र ब्याटम्यानको पोसाक लगाएर सहभागी भएका थिए ।

उनीहरूले व्यङ्ग्यपूर्ण प्लेकार्ड बोकेका थिए भने धेरै पोस्टरमा सामाजिक सञ्जालका लोकप्रिय मिम र पप–संस्कृतिका सन्दर्भहरू समावेश थिए । एक पोस्टरमा शिक्षा मन्त्रीको तस्बिर राखेर प्रश्न गरिएको थियो— ‘उनको काम एआईले कहिले लिन्छ ?’ अर्को पोस्टरमा आन्दोलनको भावनालाई समेट्दै लेखिएको थियो— ‘हरेक मजाक एउटा सानो क्रान्ति हो ।’ कतिपय पोस्टर र नारामा जोखिमपूर्ण व्यङ्ग्य पनि प्रयोग गरिएको थियो ।

एक २३ वर्षीया विद्यार्थीका अनुसार यो उनीहरूको पुस्ताको भाषा हो । उनले भनिन्, ‘हामीलाई लामो भाषण झर्कोलाग्दो लाग्छ । हामी सारांश को पुस्ता हौँ । हामी छोटो समयमा सामग्री ग्रहण गर्ने बानीमा छौँ, त्यसैले आफ्ना कुरा पनि त्यही शैलीमा राखिरहेका छौँ ।’

अब मोदी नै व्यङ्ग्यको केन्द्रमा
पदमा बसेको १३औँ वर्षमा प्रवेश गरेका प्रधानमन्त्री मोदीका लागि यो आन्दोलन असामान्य चुनौती बनेको छ । उनको राजनीतिक छवि दृढ र निर्णायक नेताका रूपमा निर्माण भएको छ । तर आन्दोलनमाथि अत्यधिक कठोर प्रतिक्रिया जनाउँदा युवाहरू टाढिन सक्ने जोखिम पनि छ । भारतको झन्डै आधा जनसङ्ख्या २५ वर्षभन्दा कम उमेरको भएकाले युवा मतदाता सबैभन्दा प्रभावशाली समूहमध्ये एक मानिन्छन् ।

यस आन्दोलनले लामो समयदेखि कायम रहेको एउटा परम्परा पनि तोडेको छ— मोदीमाथि प्रत्यक्ष व्यङ्ग्य गर्न नहुने मान्यता । यसअघि सरकारको आलोचना भए पनि मोदीमाथि व्यक्तिगत रूपमा व्यङ्ग्य कम हुने गरेको थियो । अहिले भने उनको बोल्ने शैली, हाउभाउ, विराम लिने तरिका र प्रस्तुति नै सामाजिक सञ्जालमा भाइरल व्यङ्ग्य सामग्री बन्न थालेका छन् ।

बिहीबार राति मोदीले सेल्फी शैलीमा भिडियो सन्देश जारी गर्दै प्रश्नपत्र चुहावटमा संलग्नमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए । तर धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त भिडियोमा व्यङ्ग्यात्मक आवाज राख्दै उनका विगतका अधुरा वाचासँग तुलना गरिएका भिडियोहरू बनाए ।

‘होइन, हामी तपाईंका साथी होइनौँ’

आन्दोलनका क्रममा एउटा अर्को भिडियो विशेष रूपमा भाइरल बन्यो । मोदीले आफ्नो सम्बोधन ‘मेरा साथीहरू’ भन्ने शब्दबाट सुरु गरेका थिए । व्यङ्ग्यात्मक संस्करणमा त्यही सुरुवात राखेर तुरुन्तै तीन युवतीको दृश्य देखाइन्छ, जसमा उनीहरूले क्यामेरातर्फ हेर्दै जवाफ दिन्छन्— ‘होइन, हामी तपाईंका साथी होइनौँ ।’

२१ वर्षीय एक विद्यार्थीका अनुसार मोदीलाई चुनौती दिने सबैभन्दा प्रभावकारी माध्यम सामाजिक सञ्जाल नै हो, किनभने यही माध्यमबाट उनले आफ्नो राजनीतिक प्रभाव विस्तार गरेका थिए । उनले भने, ‘हामी त उहाँलाई उहाँकै भाषामा जवाफ दिइरहेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप