लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय निर्देशनपछि लुम्बिनी प्रदेशमा सरकार गठनका लागि पहल सुरु भएको छ ।
- कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा तत्कालका लागि 'होल्ड' गरिएको छ ।
- मुख्यमन्त्री आचार्यलाई आफ्नै पार्टी एमालेभित्रबाट पनि मुख्यमन्त्री बन्नका लागि लबिङ भइरहेको छ ।
बुटवल । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले प्रदेश सरकार गठनका लागि आवश्यकता अनुसार पहल गर्न निर्देशन दिएसँगै लुम्बिनी प्रदेशमा हलचल बढेको छ । एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच सत्ता गठबन्धन बनेसँगै कांग्रेसले आन्तरिक छलफल थालेको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले केन्द्रबाट आएको पछिल्लो निर्देशनअनुसार प्रदेशमा छलफल तीव्र बनाइएको बताए ।
चौधरीले सोमबार बिहान मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेटवार्ता गरेका छन् । यस्तै, उनले नेकपा संसदीय दलका नेता जोखबहादुर महरासँग पनि सम्पर्क गरेको रातोपाटीलाई बताए ।
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको राजीनामाका विषयमा भने अझै ‘पर्ख र हेर’को अवस्था रहेको चौधरीले जानकारी दिए ।
‘मुख्यमन्त्रीज्यूले अझै केही समय हेरौँ भन्नुभएको छ । त्यसैले हाम्रो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाउने विषयमा पनि केही समय पर्खने अवस्था छ,’ चौधरीले भने, ‘तर केन्द्रको अवस्था र अन्य प्रदेशको वातावरण हेर्दा साँझसम्म के हुन्छ भनेर भन्न सकिने अवस्था छैन ।’
कांग्रेसबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी पाँच मन्त्रीले संसदीय दलसमक्ष आइतबार नै सामूहिक राजीनामा बुझाएका थिए । कांग्रेस संसदीय दलकी मुख्य सचेतक जमुना ढकालका अनुसार मन्त्रीहरूले राजीनामा बुझाए पनि मुख्यमन्त्री आचार्य कपिलवस्तुमा पार्टीको कार्यक्रममा रहेकाले आइतबार बुझाउन सकिएन ।
आज मुख्यमन्त्रीसँग फोनमा कुराकानी हुँदा अहिले नआउनु भनेपछि राजीनामा तत्कालका लागि 'होल्ड' गरिएको ढकालले रातोपाटीलाई बताइन् ।
लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरणमन्त्री देवकरण कलवार सहभागी छन् ।
कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री चेतनारायण आचार्यलाई दिएको विश्वासको मतसमेत कांग्रेसले फिर्ता लिने छ । त्यसपछि नयाँ गठबन्धन निर्माणका लागि बाटो खुल्नेछ ।
यद्यपि, मुख्यमन्त्री आचार्यलाई आफ्नै पार्टी नेकपा एमालेभित्रबाट समेत चुनौती देखिएको बताइएको छ । एमालेका एक सांसदका अनुसार पार्टीभित्रै केही नेताले मुख्यमन्त्री बन्नका लागि आ–आफ्नो ढंगले ‘लबिङ’ गरिरहेका छन् ।
पूर्वमुख्यमन्त्री लिला गिरी, पूर्वभौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकाल र पूर्वस्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले मुख्यमन्त्री पदका लागि आ–आफ्नो ढंगले लबिङ गरिरहेको चर्चा एमालेभित्र चलेको ती सांसदले बताए ।
लुम्बिनी प्रदेशमा सत्ता समीकरण फेरबदलसँगै एमालेभित्रको शक्ति सङ्घर्षसमेत सतहमा आउन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण