फिर्केलाई चेओङगेचेन बनाउँछु भन्थे मेयर, दुई महिनासम्म खोलाघर भत्काएरै सकिएन
सारांश
- मेयर धनराज आचार्यले २० वटा संरचना भत्काएर दुई दिनमा फिर्के खोलाको काम सकिने घोषणा गरे पनि दुई महिनासम्म खोलाघर भत्काएरै सकिएको छैन ।
- दक्षिण कोरियाको चेओङगेचेन खोलाजस्तै पर्यटकीय कोरिडोर बनाउने मेयरको योजना घोषणा कार्यान्वयनमा आउन नसक्दा नागरिक समाज र सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
- फिर्के खोला अतिक्रमण गरी बनाइएका करिब १ सय ६० स्थायी र अस्थायी संरचनाहरू पूर्ण रूपमा हटाउनुपर्नेमा केही मात्र भत्काइएको र बाँकी काम स्थगन भएको आरोप छ ।
पोखरा । फिर्के खोलामा डोजर चल्न थालेपछि पहिलो दिन सामाजिक सञ्जालमै स्टाटस लेखेर मेयर धनराज आचार्यले भने, ‘आज २० वटा संरचना भत्काइयो । अब दुई दिनमा काम सकिन्छ ।’
लगत्तै उनले दक्षिण कोरियाको चेओङगेचेन खोलासँग तुलना गर्दै सोही मोडलमा कोरिडोर निर्माण गर्ने काल्पनिक योजना अघि सारे । चेओङगेचेन त्यस्तो खोला हो, जुन लामो समय राजमार्ग र ढल निकासका लागि प्रयोग भयो भने २३ वर्षअघि पर्यटकीय क्षेत्रका रूपमा विकास गरियो ।
यहाँ अहिले दैनिक ६४ हजार र वर्षभरि २ करोड ३० लाखले भ्रमण गर्छन् । पछिल्लो २० वर्षमा यहाँ ३३० मिलियन अर्थात् ३३ करोडभन्दा बढी मान्छेले भ्रमण गरिसकेका छन् । मेयर आचार्यले एसियाली विकास बैंकको साझेदारीमा फिर्केलाई पनि त्यही अवस्थामा सञ्चालन गर्ने लक्ष्य लिएको बताए ।

नगर प्रमुख आचार्यको घोषणा कार्यान्वयनमा आए करिब ८ किलोमिटर लामो फिर्के खोलाको दायाँबायाँ व्यवस्थित फुट ट्रेल, सुरक्षित साइकल लेन, मर्निङ तथा इभिनिङ वाकका लागि आकर्षक गन्तव्य निर्माण हुनेछ । फिर्केमा खोलाघर हटाएपछि ६ मिटर थप मापदण्ड लगाउने महानगरले यसअघि नै घोषणा गरिसकेको छ ।
फिर्केमा महानगरपालिकाले ६ मिटरको मापदण्ड लागु गरेको छ, तर मापदण्डभित्र सयौँ संरचना छन् । खोलाघर भत्काउनै अलमलिएको पोखराले नयाँ आयोजना अघि बढाउँछ भन्नेमा नागरिक समाज र सरोकारवालाको शंका छ ।
जेठ दोस्रो साता भत्काउन थालिएको फिर्के खोलाघर अहिलेसम्म सकिएको छैन । ठुलो तामझामका साथ सुरु भएको डोजर अभियान एक साता नबित्दै बन्द भयो । अहिले कोतरिएका संरचनाहरू सामान्य मर्मत गरेर पूरानै अवस्थामा बस्न थालिसकेका छन् । फिर्केमा कति संरचना भत्काइयो भन्ने विवरण पोखरा महानगरपालिकासँग छैन ।

सूचना अधिकारी कृष्ण तिवारी खोलाघर क्लियर भैसकेको बताउँछन् । ‘खोलाघर क्लियर गर्ने कुरा पहिलो चरणको काम हो । त्यो लगभग सकिसक्यौं,’ उनले भने, ‘मापदण्डको कुरा आउछ । ६ मिटरमा कति संरचना पर्छन् अध्ययन गरेर अघि बढ्छौं ।’ भत्काइसकेका संरचनामा पनि पूर्ण रूपमा क्लियर नगर्दा केही समस्या आएकोप्रति आफूहरू सचेत रहेको तिवारीले सुनाए । पोखराका नागरिक समाज र वातावरण संरक्षणकर्मीहरूले भने महानगरपालिकाले सुरु गरेको फिर्के खोलाघर अतिक्रमण हटाउने अभियान बिचमै रोकिएको भन्दै चिन्ता गरेका छन् ।
वातावरण संरक्षणका लागि महाअभियान कास्की र नागरिक समाज कास्कीले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर महानगरले काम फत्ते नगरी डोजर चलाउन बन्द गरेको भन्दै आपत्ति जनाएका छन् । फिर्के खोलाघरमा १ सय ६० स्थायी र अस्थायी संरचना रहेको महानगरकै अध्ययनले देखाएको छ । तीमध्ये केही संरचना मात्रै पूर्ण रूपमा भत्काइएको र अरू सामान्य कोतरेर मात्रै छोडिएको उनीहरूको आरोप छ ।
‘फेवातालको गाईघाटमा समाहित हुने प्राकृतिक तथा पर्यावरणीय महत्व बोकेको फिर्केखोलाको संरक्षण, सौन्दर्यकरण तथा व्यवस्थित उपयोगका लागि सञ्चालन गरिएको खोलाघर खाली गर्ने अभियानले पूर्णता नपाउँदै स्थगन भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ नागरिक अगुवा रामबहादुर पौडेल भन्छन्, ‘जुन उद्देश्य र उत्साहका साथ प्रारम्भिक चरणमा डोजर अभियान सञ्चालनमा आएको थियो, त्यसको केही दिनलगत्तै क्रमशः सेलाउँदै गई स्थगनसम्म हुनु भनेको फिर्केखोला करिडोर अभियान असफल हुनु हो ।’
फिर्के अभियानमा जनप्रतिनिधिकै भूमिकामाथि प्रश्न उठाएका छन् नागरिक अगुवाहरूले । ‘खोलाघरमा निर्मित संरचना पूर्ण रूपमा हटाउनुपर्नेमा केही वडामा पर्खाल र गौंडा समेत हटाउन नसक्नु केही वडाका जनप्रतिनिधिहरूको निरीहता हो,’ पौडेलले थपे । फिर्केखोला किनारका वडा नं ४, ५, ७ र ८ मा अझै पनि धेरै भौतिक संरचनाहरू नहटाइएको नागरिक समाजका प्रवक्ता गोकुलबहादुर कार्कीले बताए । उनका अनुसार, वडा नम्बर ४ मा पर्स्याङ पुलदेखि पश्चिमतर्फ खोलाघरमा निर्मित सुकुम्बासी टहरा तथा पक्की संरचना, पर्स्याङ पुलदेखि पूर्वपट्टि रातोघरलगायत भँयरथानसम्म खोलाघरमा रहेका पक्की संरचना, साविकको स्काउट कम्पाउन्डदेखि १ सय मिटर उत्तरतर्फ उठाइएको पक्की घर र स्काउट कम्पाउन्डदेखि दक्षिणतर्फ पटक–पटक डुबानमा पर्ने गरेका घरटहरा चलाइएको छैन ।

यस्तै, वडा नम्बर ५ मा साविकको स्काउट कम्पाउन्डदेखि १ सय मिटर उत्तरका भवनहरू र दक्षिणतर्फका संरचना, रेडियो नेपालदेखि दक्षिणतर्फ रिठेगौँडाको खोलाघरमा निर्मित संरचना, जिल्ला रेडक्रस जोड्ने पुलदेखि १० मिटर दक्षिणतर्फका दुईवटा भवन, पोखरा इन्जिनियरिङ कलेजको भवनदेखि उत्तर–पश्चिमतर्फ खोलापारिका वटा भवनमा जस्ताको त्यस्तै छ । वडा नम्बर ८ मा बगाले टोल सामुदायिक तथा किरियापुत्री भवन र सोंपाल तमु समाजको भवन, रेडियो नेपालदेखि पूर्वपट्टि (खोलापारि) खोलाघरबाट उठाइएको संरचना, सशस्त्र प्रहरी बल कालिका गणदेखि पूर्वपट्टि मगर समाज घर लगायतका अन्य संरचना, बराल समाजघर (ब्याडमिन्टन कोर्ट) र उत्तरपट्टिका घरहरू, राधाकृष्ण मन्दिरदेखि १ सय मिटर दक्षिणमा रहेका घरहरू, पोखरा इन्जिनियरिङ कलेजको बाँकी संरचना, गहतेस्थित खोलापारिको नीलो टहरा र लिटिल स्टेप स्कुलको दक्षिणपट्टिको संरचना भत्काउन बाँकी छ ।
वडा नम्बर ७ भित्र पर्ने मासबार–रत्नचोक जोड्ने पुलदेखि उत्तर–पूर्व खोलाघरमा पर्ने पर्खाल, गहतेस्थित खोलाघरमा पर्ने लिटिल स्टेप स्कुलदेखि उत्तरतर्फका केही संरचना, मालपोत कार्यालय नजिकै रहेको कुखुराघर पनि भत्काउन बाँकी रहेको नागरिक समाजले जनाएको छ ।
सार्वजनिक जमिन र खोलाको बहाव क्षेत्र मिचेर बनाइएका यस्ता संरचनाहरू तत्काल हटाई करिडोर निर्माण कार्यलाई गति दिन समाजले माग गरेको छ । महानगरपालिकाका अनुसार फिर्के कोरिडोरमा पर्यटकीय संरचना निर्माण गर्न एसियाली विकास बैंकले ६२ करोड रुपैयाँ सहयोग गर्नेछ । एडीबीले पोखराको दिगो पर्यटन विकास परियोजनाअन्तर्गत नै फिर्केलाई समेटेको थियो । अवरोध नभएको भए सन् २०२४ बाट सुरु भएर २०२६ सम्मको ३६ महिनामा काम सकिने थियो । अहिलेसम्म परियोजना सुरु नै भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० हजार घुससहित वडा सचिव अख्तियारकाे फन्दामा
-
डोजर आतंकको तीन महिना : बरु थपिए सुकुमबासीका पीडा, व्यवस्थापन लथालिङ्ग
-
महिनावारीको पीडा : कति रगत बग्नु स्वाभाविक हो, कहिले अस्पताल जाने?
-
पीआर लिएका दुई नापी अधिकृतलाई स्पष्टीकरण साेधियाे
-
दक्षिण एसियाली समन्वय समिति : १३ सदस्यीय समिति गठन
-
कोशी प्रदेशको डीआईजीमा शेखर खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण