तिहार !
बद्रीप्रसाद दाहाल
साझा कोख बस्यौँ चुस्यौँ स्तन उनै, दिन्थिन् सधैँ चुम्बन ।
आमा — काख रमाउँथ्यौँ गुटुमटु, पार्थिन् मजा गुम्फन ।।
खेल्थ्यौँ आँगन चोकमा रहरले, डुल्थ्यौँ करेसा— डिही ।
ताप्थ्यौँ ढोड र दाउरा मिलिजुली, ठण्डा गरायौँ ठिही ।।
१
काटी घाँस डुलेर पारि वनमा, गाई रमायौँ कति ।
रोटी औ ढकनी मकै फल अहा ! खाई रमायौँ अति ।
गाई, गोरु, खसी चराउन भनी, जान्थ्यौँ अघोरी वन ।
ऐँसेलु अमला र काफल टिपी, खान्थ्यौँ रमाईकन ।।
२
यौटै हो घरपेट दाजु बहिनी, भ्राता दिदी हुर्कियौँ ।
च्याँ—च्याँ ! थक्करी औ थिरी— लडिबुडी, गर्दा सबै फुर्कियौँ ।।
आमाको ममता पिएर रसिलो, बस्थ्यौँ बुबा—काखमा ।
सम्झन्छु झलमल्ल चित्र अहिले, पाइन्न है लाखमा ।।
३
छोडी जन्म थलो पुगे पर कठै ! बैनीदिदी जो थिए ।
कर्मैको घर जानु नै नियति यो, आमा दिदी बैनीले ।।
माता सिर्जनका मुहान भवका, आधार संस्कार हुन् ।
आमा तागत उर्वरा रसधरा, वात्सल्यका सार हुन् ।।
४
आयो चाड तिहार चम्चम हुँदै, फुल्छन् चमेली जुही ।
गोदारी, सयपत्रिणी, मखमली, थुँगा झुलेका नुही ।।
जाई हाँस्छ र पारिजातहिमका थुम्का अहा चम्किए ।
छाइन् शारद— कान्ति आँगनपिँडी, गङ्गा नदी सङ्लिए ।।
५
दाज्यै भाइ मुहारमा जनकको, भेटिन्छ छायाँ—छवि ।
बैनीका अनुहारले जननीको, मेटिन्छ न्याश्रो जति ।।
बेग्लै स्नेह र मान हुन्छ बहिनी, दाज्यैदिदी भाइमा ।
आत्मा खुल्छ प्रसन्न हुन्छ दिल ता, भेटी बसी साथमा।।
६
स्याऊ सेल दही र काजु मसला, टोपी र माला लिई ।
बैनीसाथ दिदी पुगेर घरमा , बाँड्छन् खुसीका खुसी ।।
बैनी लोचन हुन् दिदी हृदय हुन्, हुन् दृष्टि औ स्पन्दन ।
माला टोप थुँगा अनेक रङका, टीका बने चन्दन ।।
७
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण