‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा प्रहरी छापा
शुक्रबार, २० पुस २०७५, १५ : ३३

काठमाडौं– नेपाल प्रहरीले ‘तपस्वी’ को रुपमा चर्चा कमाएका राम बहादुर बम्जनको आश्रममा छापा मारेको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित बाडेगाउँमा रहेको बम्जनको आश्रममा छापा मार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख (एसपी) मुकुन्द मरासिनीले रातोपाटीलाई जानकारी दिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको संयुक्त टोलीले आश्रम खानतलासी गरेको मरासिनीले बताए । उनले भने, ‘आश्रम खानतलासीको काम भइरहेको छ, बम्जन भेटिएका छैनन् ।’
बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा कमाएका बम्जनको आश्रमबाट आनीसहित ४ जना सम्पर्कविहिन भएको उजुरी परेपछि प्रहरीले बम्जनको खोजी गरिरहेको छ ।