बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वृद्धाश्रमबाट छोरालाई पत्र

शनिबार, १२ माघ २०७५, १२ : ४३
शनिबार, १२ माघ २०७५

प्यारो छोरा,
आजकाल मलाई दिन पनि दिन जस्तो, रात रात जस्तो लाग्दैन । आफूलाई आफू जस्तो पनि लाग्दैन । मन बहलाउन खोज्छु । बहलाउनुको सट्टा बहकिन पो खोजिरहन्छ । साउने झरीजस्तै घरी घरी ।

आज म बेंसी फाँटको खरबारी छेउमा निर्जीव ठिङ्ग उभिएको खयरको बुढो रूखजस्तै भाको छु । बोक्राहरू चोइटिएर अग्राख मात्रा रहेजस्तै । आज म जिन्दगीको अन्तिम पृष्ठतिर छु । जिन्दगीको प्रत्येक पानाको अघिल्लो पृष्ठ गाह्रो महशुस हुनेगरी शब्दहरूले रङ्गाएको छु । 

पछाडिका प्रत्येक पृष्ठ त्यसै छाडेको छु । सायद त्यसो गर्नु मेरो जिन्दगीको नियति नै बनिदियो । हो, छोरा तिमी हाम्रा लागि ज्यादती नै बनिदियो ।

हाम्रो आयु कति नै थियो र ? गन्नका लागि केही अङ्क नै पर्याप्त थियो । निभ्न र डुब्न थोरै समय नै काफी थियो । मैले जीवनमा यति धेरै चाहना गरिन छोरा । तिमी हाम्रो घरमा एउटा अमूल्य उपहार बनेर आएको दिनदेखि । तिम्रो चाहाना मैले सधैं मेरो चाहाना बनाएँ । जीवनको ऊर्जाशील समय तिमीमा नै खनाएँ । तिम्रो आमाले पनि ।

तिमी भरिँदै गयौ । हामी रित्तिँदै गयौँ । तिमी आज भरिलो छौ । हरियाली बेंसीको फाँटजस्तै । मलाई धेरै खुसी लाग्छ छोरा । तिम्रो लोभ लाग्दो जिन्दगी देखेर । तिम्रो आमालाई पनि त्यस्तै लाग्दो हो । अनि खुसी पनि हुदिहुन् ।

ठ्याक्कै पाँच वर्ष भएछ मैले घर छोडेको । र जिन्दगीलाई वृद्धाश्रममा बहलाउन सिकेको पनि । शरीर यहाँ रहे पनि मन त्यहाँ छ छोरा । जहाँ मैले र तिम्रो आमाले तिम्रो सुनौलो भविष्य बनाउन दशकौँ जिन्दगी खर्च गरेका थियौँ । आजभोलि मलाई तिम्रो आमाको बेसी याद आउँछ । माया पनि लगाउँछ । तर पनि के गर्नु तिमीले हामीलाई मर्ने बेलामा अलग अलग वृद्धाश्रममा फालिदियौ । मैले त्यति बेला तिम्रोसामु कति याचना गरेँ । हामीलाई यही घरमा जिन्दगीको अन्तिम पलहरू बिताउन देऊ भनेर । यही घरमा मर्न पनि । तर तिमीले सुनेनौँ । हो त्यही दिनदेखि मेरो मन भाँचियो । मुटु कुदियो । सायद मन भाँचिएपछि नाताको डोरी पनि चुडिँदो रहेछ । नाताको चुँडिएको आधा डोरी लिएर तिमीले भनेबमोजिम हामी जान त्यति बेला मञ्जुर भयौँ । सायद मलाई भन्दा तिम्रो आमालाई गाह्रो भएको थियो । 

तिमीहरूलाई छोड्न । त्यति बेला उनी रोएको म अझै सम्झन्छु । त्यसरी त मैले उनीलाई जिन्दगीभर रुवाउनेस्थिति बनाएको थिइनँ । तर आज आफ्नै छोराले बनाए । त्यसैले मैले उनको आँशु पुछ्न पनि आँट गरिनँ । पुछिनँ पनि । तर मेरा सुख्खा आँखा भने रसाउन प्रयास गरिरहे । मलाई थाहा थियो, त्यो क्षण हामी सबैका लागि अन्तिम थियो । पछि भेट्छौ कि भेटिँदैनौँ थाहा थिएन । त्यसैले मैले तिमीलाई धेरैबेर हेरे । नाति, बुहारी र तिम्रो आमालाई पनि हेरेँ । नमीठो सम्झना मुटुभरी बोकेर लागे जिन्दगीको नयाँ घरतिर । सायद यो मेरो जिन्दगी अन्तिम परीक्षा थियो ।

पाँचै वर्ष भयो छोरा तिम्रो आमासँग पनि भेट नभएको । मलाई तिमीहरू सबैको  याद आउँछ । बेसी तिम्रो आमाको चिन्ता लाग्छ । हो छोरा तिमीले मलाई वृद्धाश्रममा पठाए पनि आमालाई सँगै राखिदिएको भए पनि मलाई तिमीप्रति केही गुनासो हुने थिएन । किन भने एउटा छोराको जन्म एउटा  बलात्कृत आमाले पनि दिन सक्छे । त्यसमा बलात्कारीको के योगदान हुन्छ ? यो एउटा अलग विषय हो । तर बलात्कृत आमाको कोखबाट जन्मिएको छोरा र श्रीमान् श्रीमती दुवैको इच्छाबाट जन्मिएको छोरा जन्माउँदाको प्रस्रव पीडा एउटै हुन्छ आमाहरूलाई ।

हो छोरा, तिमीलाई नौ महिना कोखमा राखेर तिमी जन्मिनुभन्दा अगाडि तिम्रो आमाले भोगेको बीस घण्टाको प्रशव पीडाको साछी तिम्रो बाउ पनि हो । तिमीले बिहे गरेर बुहारीले नाति जन्माएपछि सात वर्षको छोरालाई तिमीले कहिलेकाहीँ भन्यौ नि । मेरो छोरा तिमीले यो ड्याडीलाई माया गर या नगर तिम्रो आमालाई जीवनको अन्तिम पलहरूसम्म माया गर । हेला पनि कहिल्यै नगर । तिमीले आमालाई आमा मर्ने बेलामा पनि माया नै मायाको महशुस हुनेगरी खुसी बनाउन सक्नुपर्छ । हो, मेरो छोरा तिमीले तिम्रो छोरालाई सधैँ  आमालाई माया गर्न सिकायौ । नढाँटी भन त छोरा ।तिमीले तिम्रो आमालाई साच्चै मायाँ गर्यौ र ?

उही तिम्रो सधैँ भेलो चिताउने बाबा ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप