नेपाली उखानभित्र यौन मनोविज्ञान
-दीपक सिंजाली
स्विडिस भाषाविद्ले यौनका लागि नै भाषाको विकास भएको हो भनेका छन् । मानिस स्वतन्त्र रूपमा जीवन यापन गर्न सक्दछन् । खान, बस्न, हिँड्न, सुत्न वा सिकार खेल्न एकल जीवनमा पनि सम्भव छ र थियो । तर सम्भोगका लागि एकल जीवन अपर्याप्त छ । त्यसैका लागि मानिसले अभिव्यक्तिको उपाय खोजेका हुन् । अनि भाषाको विकास हुन गयो । भाषाको विकाससँगै प्रकृति प्रदत्त विविध पक्षहरू पनि भाषामा समेटिन आए र भाषा बहु उपयोगी बन्न पुग्यो ।
कोलम्यानले भने झैँ सामाजिक यौन प्रतिमानहरूभन्दा भिन्न मानवीय यौन चरित्रहरूले नै सामाजिक यौन मनोविज्ञानको क्षेत्र निर्धारण गरेको हो । यौन भन्नासाथै अश्लीलता भन्ने भने होइन । यौन प्राकृतिक अति आवश्यकीय तत्त्व हो जीवात्माका लागि । त्यति मात्रै नभएर योनी जीवात्माहरूका लागि त यौनको अत्यधिक महत्त्व रहन्छ ।
खास गरी स्तनधारी जनावरमा यौन प्रमुख क्रिया हो, जसले अस्तित्वको रक्षा र प्रजातिलाई निरन्तरता प्रदान गर्छ । प्रजननका लागि पनि यौनको भूमिका प्रमुख नै रहन्छ । यौनका विषयहरू अति सामान्य हुन् तर त्यसको चर्चा गरिँदा असहजता महसुस गर्ने गरिन्छ । यसैका माध्यम सामाजिक यौन प्रतिमानहरूको निर्धारण र यौन मनोविक्षिप्तताको भिन्नताहरू निकाल्न सकिन्छ ।
भाषाका माध्यम भुक्तभोगीहरूको भोगाइ, अनुभव, ज्ञान र लोकको आचरणहरूलाई सञ्चित र जीवनशैलीमा सापेक्षित प्रयोग गर्दै जाँदा उखानको निर्माण भएको हो भन्न सकिन्छ । उखान भाषाको उच्च अभिव्यक्ति हो । थोरै शब्दमा लामो कथा भन्न सक्ने सङ्क्षिप्त अभिव्यक्ति नै उखान हो । उखानमा मानव भोगाइका, जीवनका, आर्षकाव्यका, चर अचर जगत्का, उच्च निम्न वर्गका आदिआदि विषयहरू सुरक्षित रूपमा स्थापित भएका छन् । जगातित र त्यसभित्रको सामाजिक, सामाजिकभित्रको मनोवैज्ञानिक, मनोविज्ञानभित्रको यौन मनोवैज्ञानिक, यौनभित्र पनि सामाजिक यौन चरित्र, व्यक्तिगत यौन चरित्र, स्त्री पुरुष यौन चरित्र जस्ता अति सूक्ष्म विषयहरू समेत उखानले समेटेको पाइन्छ । यसर्थ उखानमा असंरचित विषयहरू जगत्मा सायदै होलान् भन्न सकिन्छ ।
सामाजिक यौन मनोविज्ञानभित्रबाट यौन मनोविज्ञानपरक उखानको सुरुआत भयो वा व्यक्तिगत यौन चरित्रबाट यसको सुरुआत भयो भनी भन्न सकिँदैन । यद्यपि सामाजिक यौन चरित्र नै व्यक्तिगत यौन चरित्रले निर्माण हुने हुँदा व्यक्तिगत यौन चरित्रहरूले सामाजिक यौन प्रतिमानहरू भङ्ग गरिदिँदा घटेका घट्ना, दुर्घटना र परिघटना आदिका आधारमा यौन मनोविज्ञानपरक उखानहरूको निर्माण भएको हो भन्न सकिन्छ ।
नेपाली भाषामा प्रचलित यौन मनोविज्ञानपरक उखानहरू ठेट नेपाली भाषा, खस भाषा, अन्य राष्ट्रभाषा आदिबाट प्रभावित छन् भने भौगोलिक, क्षेत्रीय, जातीय र लैङ्गिक आधारहरूमा पनि भिन्नभिन्न भएका पाइन्छन् । यौन भन्ने वित्तिकै सबै यौनउन्मुख छन् भन्नु उचित हुँदैन । यौनिकताको सादृश्य देखाइएको भए पनि कतिपय उखानहरूले लोकज्ञानको पूरा धर्म निर्वाह गरी सकारात्मक व्यङ्ग्यधर्मितालाई अँगालेको पाइन्छ । त्यसैगरी कतिपय उखानहरूमा भने यौनिकताको सादृश्य देखाउँदै लक्ष्यार्थलाई अतिरञ्जित गरिएको पनि पाइन्छ । जस्तैः ‘उठी उठी मुत्नेको छोराले घुमी घुमी मुत्छ’ ।
यौन मनोविज्ञानपरक उखानलाई नेपाली समाज, वर्ग र परिवेशका आधारमा व्याख्या गर्नु उचित हुन्छ । तर नेपाली सामाजिक यौन चरित्रलाई प्रष्ट पार्नका लागि समग्र यौन मनोविज्ञानकै साहारा लिनु पर्छ । मानवीय यौन चरित्रको नेपाली समाज सुहाउँदो व्याख्या र खोज भएको पाइँदैन । तसर्थ नेपाली यौन मनोविज्ञानपरक उखानहरूको व्याख्या गर्दा पनि विश्वव्यापि यौन मनोविज्ञानको सैद्धान्तिक आधारमा रहनु पर्ने बाध्यता छ । यसरी मनोविज्ञानभित्रको एउटा जटिल पाटो यौन मनोविज्ञान र त्यसभित्र पनि उखानमा प्रयुक्त यौन मनोविज्ञानका बारेमा विश्लेषण गर्नु अति नै जटिल कार्य हो ।
उखानमा कसरी यौनिकताको प्रयोग भएका छन् भन्नका लागि यौन मनोविज्ञानको सैद्धान्तिक पाटालाई केलाउनु जरुरी हुन्छ ।
यौन मनोविज्ञानका सैद्धान्तिक परिचर्चा सम्पूर्ण यौन आचरणमा निर्भर रहन्छ । तर उखानमा यौन मनोविज्ञानको विश्लेषण आचरण वा चरित्रका आधारमा गर्न सकिँदैन । उखान भाषिक अभिव्यक्ति भएकाले भाषाको इतर विषयलाई पन्छाइसकेर भाषिक गाम्भीर्यताका आधारमा यसको व्याख्या गर्ने गरिन्छ । उखानमा यौन मनोविकारीहरूले घटना घटाइहाल्दैनन् तर वक्ताको यौन मनोविकृतिको प्रभाव अभिव्यक्तिमा देखिने हुँदा त्यस्ता अभिव्यक्तिहरूबाट संरचित उखानलाई यौन मनोविज्ञानपरक उखानका रूपमा लिइएको छ । जस्तैः ‘पाप न साप उत्तानो पारी थाप’ । यस उखानमा घट्ना घटिसकेको होइन तर अभिव्यक्तिमा जस्तो सादृश्यको कल्पना हुन जान्छ त्यो चाँहि मनोविकृत कल्पना हो । यस्तो प्रकारको सादृश्यको कल्पना सामान्य मानिसले नभएर यौन विकृत मानिसले गर्ने गर्छन् । यसर्थ यस उखानलाई यौन मनोविज्ञानपरक उखानमा लिइएको हो ।
यसैप्रकार सामाजिक यौन प्रतिमानहरूभन्दा भिन्न भएर आउने यौनिक अभिव्यक्तिहरू पनि यौन मनोविज्ञानपरक उखानमा पर्दछन् । जस्तैः ‘घरमा सती, बाहिर भने सय पति’ । प्रस्तुत उखानमा सामाजिक रूपमा स्त्री यौन चरित्रको सीमाङ्कन गरिएको र उक्त सीमा नाघेर कुनै स्त्री वा पत्नीले गर्ने वा देखाउने चरित्रको व्याख्या गरिएको छ । यस्ता प्रतिमानहरू सयमसँगै असान्दर्भिक हुँदै गएको पनि पाइन्छ । तथापि सामाजिक मान्यतमा जरा गाडेका प्रतिमानहरू उखानमा प्रयुक्त भई आज पनि रहिरहेका छन् । त्यसमाथि उखान असान्दर्भिक र नकारात्मक छ भन्ने जान्दा जान्दै पनि समाजले त्यसलाई बहिष्कार गरिसकेको छैन । जस्तैः ‘भाग्यमानीको स्वास्नी मर्छे, अभागीको गाई’ ।
व्यक्तिगत यौन चरित्रका आधारमा यौन मनोविज्ञानको विश्लेषण गरेको पाइन्छ । त्यसैका आधारमा नेपाली उखानहरू पनि व्याख्या गर्नु अति सान्दर्भिक देखिन्छ । यौन मनोविज्ञानले राग, कुण्ठा, रति आदिका आधारमा यौन चरित्रको व्याख्या गरेको छ । यौन मनोविज्ञानका तत्वहरू अक्षरशः उखानमा लागू भएका भने छैनन् । राग वा लिबिडोको प्रयोग भएका उखानहरूमा वक्ता वा भोक्ताको यौन अपेक्षा देखिन्छ । जो कामेच्छाले क्षुब्ध छ, उसको रागवृत्ति उसको अभिव्यक्तिका मार्फत् प्रस्टिएको छ । जस्तैः ‘बाह्र वर्षमा पोइ आको, मै राँडीलाई ज्वरो आको’ । यस उखानमा यौनाकाङ्क्षाले क्षुब्ध स्त्री अवसर आउँदा पनि वञ्चित हुनु परेको सादृश्य र त्यसको अभिव्यक्ति मिसिएको छ । फ्रायडले राग (लिबिडो) लाई यौनवृत्तिहरूको सङ्ग्रह नै हो भनेकाले यौनेच्छाले पोषित उखानहरू सबै रागवृत्तिका उखानहरू हुन् भन्न सकिन्छ । जस्तैः ‘जहाँ फूल फुल्छ उही भँमरा घुम्छ’, ‘ठाउँ न ठहर, पोइको रहर’ ।
यौन मनोविज्ञानमा रति वा सम्भोगलाई विशेष महत्त्वका साथ प्रस्ट्याइएको छ । यस प्रकारको मानवीय यौन क्रियाकलाप जगातित विषय हो तसर्थ लोकज्ञानका लागि मात्रै नभएर मनोरञ्जनका हैसियतमा पनि उखानका रूपमा संरचित भएको पाइन्छ । उखानमा सम्भोगका अवस्था, परिणाम, इच्छा, आसन, आनन्द, सन्तुष्टि आदि विषयहरूलाई समेटिएको पाइन्छ । जस्तैः ‘तिर्खाएकी चरी, आफै खोला झरी’, ‘तल परेपछि जत्रोसुकै सहनु पर्छ’ । रतिक्रियाका माध्यम कतिपय उखानहरूलाई अतिरञ्जित गरिएको पनि पाइन्छ । कतिपय उखानमा असामाजिक विषयहरू पनि समेटिन्छन् ।
फ्रायडले मान्यता गरेका इडिपस ग्रन्थीका आधारमा सिर्जित उखानहरू नेपाली भाषामा अलि बढी नै असान्दर्भिक भएको देखिन्छ । हिन्दु परम्परमा अति सम्मानयोग्य मानिने मातापिताका विषयहरूलाई समेत उखानले अनैतिक व्यङ्ग्य गर्ने गरेको पाइन्छ । जस्तैः ‘अलमल गोत्र, बाबु सत्र’, ‘आमाको नाठो चिनाए आफै खस्ने डर’, ‘बोकाकी आमालाई सधैंभरि रुनु’ ।
वस्तुरतिको अवधारणा यौन मनोविज्ञानमा महत्त्वपूर्ण सिद्धान्तका रूपमा स्थापित छ । हर्सफिल्ड भन्छन्, ‘आरोपित वस्तुमा व्यक्तिको त्यस्तो विशिष्ट प्रकारको विशेषता स्थापित गरिन्छ, जसले कर्तालाई उच्चानन्द प्रदान गर्छ । कर्ताले यौनावेग पूर्ण गर्नका लागि आप्mनो विपरीत लिङ्गीको यस्ता तन्तु/अङ्गहरूको कल्पना गर्छ, जसका माध्यम ऊ एक्लैले मैथुनिक क्रिया सम्पन्न गर्न सकोस् । नेपाली उखानमा पनि त्यस्तो प्रयोग भएको देखिन्छ ।
प्राचीन सामाजिक लोकज्ञानमा वस्तुरतिको सैद्धान्तिक अवधारणाको ज्ञान नभएको हुन सक्छ तैपनि मानवीय यौन चरित्रको सर्वव्यापी अवधारणा नेपाली उखानमा पनि भेटिन्छ । जस्तैः ‘केटी कस्ती ? बाख्री जस्ती, केटो कस्तो ? देख्दै बोको जस्तो’, ‘सुनको चाक, पित्तलको नाक’ । यसरी प्रतीकात्मक वस्तुलाई सामान्यीकरण गरेर वक्ता वा भोक्ताले मैथुनिक क्रिया सम्पन्न गरी मानसिक यौनानन्द अथवा शारीरिक रूपमै परितृप्ति प्राप्त गर्ने प्रक्रिया वस्तुरति हो । उखानमा कुनै वस्तुलाई यौनको प्रतीकका रूपमा आरोपित गरिन्छ र त्यसबाट तृप्ति प्राप्त भएको महसुस हुन्छ । जस्तैः ‘गिलो गिलो स्वादिलो दुलो’ ।
सामाजिक रूपमा अस्पष्ट रहेको अतिवाद, जसलाई अङ्ग्रेजीमा फेटिसिज्म भनिन्छ, को तन्तुकामुकताका रूपमा पनि प्रयोग भइआएको छ । यस प्रक्रियामा शरीरका कुनै अङ्गहरूलाई यौनको प्रतीक मानेर यौन तुष्टि प्राप्त गरिन्छ । जस्तैः ‘कैली गाईको गुनी थैली’, ‘घरमा नाति भोकै छ, बुहारीको दूध देखी गाउँले अघाए’, ‘कि त थुतुनोले बिगार्छ, कि त मुतुनोले बिगार्छ’ ।
सामाजिक, नैतिक र कानुनी रूपमा आपराधिक लाग्ने यौन घट्नाहरू यौन मनोविज्ञानमा यौन विक्षिप्तताका रूपमा लिने गरिन्छ । जो घटनाहरू अपराध गर्ने उद्देश्यले नभएर यौनतृप्ति प्राप्त गर्ने उद्देश्यले सम्पन्न हुन्छन् । त्यस्ता प्रकृतिका सबै घटनाहरू अपराध नभएर यौन विकृत मानसिकताले उद्यत हुन्छन् भनी मनोविद् किर्नानले भनेका छन् । यसलाई कामचौर्य प्रवृत्ति भनी मनोविज्ञानले व्याख्या गरेको छ । किर्नानको सिद्धान्तलाई मान्ने हो भने नेपाली भाषामा कामचौर्य प्रवृत्तिका प्रशस्त उखानहरू भेटिन्छन् ।

जस्तैः ‘मेरै स्वास्नी बिगार्ने, मेरै खाट भाँच्ने’, ‘छोरी माग्न आउने स्वास्नी फकाउने’, ‘पोइ मारेर नाठो पोस्ने’ । वास्तवमा यस्ता उखानहरूको व्यङ्ग्यार्थ निकै तीक्ष्ण र सर्वव्यापी हुन्छन् तैपनि सादृश्यले के भनेको छ भन्ने कुरा उखानको लक्ष्यार्थ भन्दा पहिले नै प्रष्ट भइसक्ने हुँदा उखानको सादृश्यलाई कहिल्यै पनि बेवास्ता गर्न सकिँदैन । उखानको अर्थ व्यतिरेकी विशेषताका कारण संरचना, भावार्थ र लक्ष्यार्थका बीच हुने खालीपना वा शुन्यावधिलाई पूर्ति गर्नु पूर्व नै सादृश्यलाई आत्मासाथ गरिन्छ । तसर्थ सादृश्यले उखानको प्रयोगमा विशेष महत्त्व राख्छ । उखानको संरचनामा अतिरञ्जित गरिनुको मुख्य कारण पनि यही हो । जस्तैः ‘अभागी हग्न बस्यो, तीन बित्ताको ठोसो पस्यो’ ।
यौन मनोविज्ञानपरक उखानहरू एकै कोटिका भने छैनन् । कुनै श्लील छन्, कुनै अश्लील छन् । कतिपय सकारात्मक छन्, कतिपय नकारात्मक छन्, अतिरञ्जित छन् । उमेरगत छन्, सामूहिक छन्, प्रेमिला छन्, तिरस्कृत छन् आदिआदि । यौनपरक भएर पनि कतिपय उखानहरू उच्चारणमा सहज लाग्छन्, जस्तैः ‘बा आए त आए मलाई आए’ । कतिपय उखानहरू उच्चारणमा असहज छन्, जस्तैः ‘जब नासो पस्यो, तब माया बस्यो’ । कतिपय उखानहरू सकारात्मक छन्, जस्तैः ‘छुनु छैन नानी, बाहुनी र रानी’ । कतिपय नकारात्मक छन्, जस्तैः ‘डाँड तिरे, राँड नभिरे’, ‘लाहुरे दाइको सम्पत्ति, एउटा केरा दुईटा बेलौती’ ।
यसरी असामाजिक, असान्दर्भिक उखानहरूलाई सामाजिक प्रयोगका हिसाबमा बहिष्कार भएका भए पनि भाषिक रूपमा भने बहिष्कार गरिएको छैन । उखानको सार्थकता नरहे पनि परिवेशगत हैसियतले हानिकारक उखानहरू पनि प्रयुक्त भएको पाइन्छ । कतै लक्ष्यार्थमा अभिव्यक्तिलाई प्रभावकारी बनाउनमा पनि त्यस्ता प्रकारका उखानहरू प्रयुक्त भइरहेका हुन्छन् । यौनिक विषय समेटिने वित्तिकै त्यसको प्रभाव बढी हुने भन्ने सामाजिक धारणा भएकाले पनि असान्दर्भिक उखानहरू अझै विद्यमान रहेका हुन् । कहीँकतै उखानलाई उखानकै रूपमा नभएर उखानको सारगर्भिकतालाई बङ्ग्याई अनैतिक रूपमा प्रयोग गरेको पनि पाइन्छ । जस्तैः ‘छोरा बिग्रे उल्काउल्की, खेती बिग्रे भुल्काभुल्की, छोरी बिग्रे दैलैदैला’, ‘अभागीको गाई मर्छ, भाग्यमानीको स्वास्नी’ ।
यौनपरक उखानहरूमा सबैभन्दा धेरै उखान भएको प्रजननसम्बन्धी विषयका हुन् । विवाह, प्रजनन्, नपुँशकता, निसन्तान आदि विषयहरू उखानमा प्रशस्त भेटिन्छ । विशेषगरी यस प्रकारका उखानमा लोकज्ञानको क्षेत्र बढी र मनोरञ्जनको क्षेत्र कम हुन्छन् । विवाहलाई वैध यौनजीवनको प्रमाणीकरण भनेर लिने हो भने विवाह विशुद्ध यौनक्रियाकलापका रूपमा छुटिन्छ तसर्थ यससम्बन्धी उखानहरू यौनपरक हुने गर्छन् । जस्तैः ‘एक रुपियाँ धन छ, स्वास्नी ल्याउँछु भन्छ’, ‘कुरा गर्दा यारीका पोइ हुँदा बुहारीका’ ।
यौन र प्रजनन् क्रमिक विषयहरू हुन् । तसर्थ प्रजननसँग सम्बन्धित उखानहरू यौनपरक उखानका रूपमा लिन सकिन्छ । यौनका माध्यम नै प्रजनन् सम्पन्न हुने हुँदा यौन मनोविकृतिले प्रजननका तमाम धारणाहरूमाथि पनि समस्या पैदा गर्छ । प्रजननका विषयमा सकारात्मक, नकारात्मक वा व्यङ्ग्यात्मक प्रतीकका रूपमा प्रयोग भई संरचित उखानहरू प्रशस्त छन् । जस्तैः ‘छोरा पाउने रहर, च्यातिएला भन्ने पनि डर’, ‘आफू उठी लाहुर जाने, छोरा पाएस् भन्ने’ । यौन मनोविज्ञानमा कामशिलता वा नपुंशकतालाई विकृतिकै रूपमा लिइन्छ । हुन त कामशीलताले सामाजिक सन्तुलनमा खासै दख्खल दिएको हुँदैन तर यौन उन्माद् धेरै हुनुजस्तै थोरै हुनु पनि विकृति नै हो भन्ने गरिन्छ । प्राचीन समयमा पनि यस्ता समस्याहरू थिए, जो उखानमा प्रयोग भई आएका छन् । जस्तैः ‘बुढाले बिहे गरे, छिमेकीले मोज गरे’ । त्यसैगरी जस्तैः ‘लोग्ने जान्छ तासै खेल्न, नाठो आउँछ स्वास्नी ठेल्न’, ‘बजारमा दूध पाउन्जेल किन गाई पालिरहनु’ । यस्ता प्रकृतिका मुक्तसहावसिता समाजमा व्याप्त छ तर त्यसो हुनु राम्रो होइन भनी उखानले सकारात्मक सन्देश प्रवाह गर्नु र त्यसप्रति सजग बनाउनु उखानको उद्देश्य देखिन्छ ।
प्राकृतिक र जैविक रूपमा यौन जति अवाश्यक छ, त्यति नै सामाजिक रूपमा समस्यामूलक छ । मानिसहरू सामाजिक हुन खोजेपछि नै यस प्रकारको समस्या हुन आएको भन्न सकिन्छ । किनभने सामाजिक प्राणीका रूपमा विकसित हुँदै जाँदा विभिन्न आवश्यकताहरूको पूर्ति र अभाव हुँदै गए । कतिपय आवश्यकताहरू स्वतः पूर्ति हुने वा एकल क्रियाहरूबाट सम्पन्न हुने र कतिपय द्वैध क्रियाबाट सम्पन्न हुने साथै कतिपय सामूहिक क्रियाबाट मात्रै सम्पन्न हुने अवस्थाको सिर्जना भयो । यसरी प्राणी सामाजिक भइसकेपछि सामाजिक क्रियामा व्यक्तिगत आवश्यकताहरूले दख्खल दिँदै जाँदा समस्याहरूको उत्पत्ति भएको भन्न सकिन्छ । यसै प्रकार सामाजिक यौन क्रियाहरूमा व्यक्तिगत यौन इच्छाहरूको प्रभाव बढ्दै जाँदा सामाजिक यौन प्रतिमानहरू भत्किँदै गए । भत्किएका प्रतिमानहरू पुनः स्थापना गर्नका लागि वा त्यस्ता घटनाहरू फेरि नघटुन् भनी भविष्यका लागि सञ्चित गर्दा लोकज्ञानले युक्त यौनपरक उखानहरूको निर्माण भएको हो ।
खासगरी नेपाली सामाजिक परम्परा पितृसत्तात्मक भएकाले उखानहरू ज्यादातर लैङ्गिक भिन्नतामा संरचित छन् । नारी चरित्र वा स्त्री गुण अवगुणको व्याख्या, विवेचना, बेइज्जती र दमन वा हिंसाजस्ता विषयहरूलाई प्रश्रय दिने गरी प्राचीन उखानहरूको निर्माण भएको पनि पाइन्छ । यौनपरक भन्ने वित्तिकै नारी यौनचरित्रको ख्याल आउने नेपाली सामाजिक मनोविज्ञान स्थापित छ समाजमा । त्यसैका कारण पनि प्रायजसो यौनपरक उखानहरू नारी यौनिकताबाट बनेका पाइन्छन् । पुरुष यौनाङ्ग, यौनचरित्र, यौन उच्छि«ङ्खलता जस्ता विषयहरू कमै मात्रामा प्रयोग भएका तर सोही विषयहरू नारीका तर्फबाट प्रशस्त प्रयोग भई उखानमा समेटिएको पाइन्छ । यसबाट के प्रष्ट हुन्छ भने नेपाली उखानहरूमा सामाजिक यौनचरित्र, शक्ति र सत्ता व्यवस्थापन तथा अधिनायकवादको प्राचीन चरित्रहरू यथेष्ट मात्रामा प्रयोग हुने र सोही लोकज्ञानका विषयहरू नै सामाजिक प्रतिमानहरूमा लागू गर्ने ध्येय राखिएको हो ।
दोस्रो पक्षबाट हेर्ने हो भने उखानको लोक सान्दर्भिकताका आधारमा चरित्रगत लोकमान्यताहरूसँग बाझिएर पनि त्यसको प्रयोग भइआउनु भनेको सामाजिक प्रतिमानहरूमा भएको परिवर्तन वा त्यसका खिलाप उठेका आपराधिक मानसिकताको स्वरूप हुन् । प्रतिमानहरू स्थापना गरिएको र त्यसले निरन्तर रूपमा ह्रास बेहोरिरहेको भन्ने पनि यसबाट बुझिन्छ । यसबाट समाज परिवर्तन उन्मुख भएको भन्ने आभाष भए पनि असली रूपमा प्रतिमानहरू भत्कनु भनेको सुधार हुनु मात्रै नभएर उच्छि«ङ्खलताले प्रश्रय पाउनु पनि हो । जुन विषय उखानहरूले देखाएको पाइन्छ । लोकज्ञानका रूपमा आएका उखानहरूले सामाजिक यौन मानसिकताको चौतर्फी व्याख्या गरेको छ भन्न सकिन्छ । किनभने उखानमा यौनिकताको नकारात्मक वा सकारात्मक जस्तोसुकै प्रयोग भई आएको भए पनि त्यो कुनै न कुनै लोकघटनाबाट प्रेरित भएको हुन्छ । त्यसबाट लोकले प्राप्त गर्ने सन्देश जहिलेसुकै सकारात्मक नै हुने (तर वर्तमानमा केही अपवाद) हुँदा उखानहरूको निर्माण लोकहितका लागि भएको हो भन्न सकिन्छ ।
अन्त्यमा, यौन मनोविज्ञानपरक नेपाली उखानहरू सकारात्मक सन्देश दिनका लागि अतिरञ्जित गरिएको संरचनामा निर्माण भएका छन् भनी भन्न सकिन्छ । जो अनावश्यक भईकन पनि कथ्यलाई प्रभावकारी बनाउनका लागि संरचित हुन् । यसका माध्यम वक्ताले आफ्नो अभिव्यक्तिलाई उच्चाकर्षमा पु¥याई व्यङ्ग्यार्थले मानसिक प्रभाव जमाउने ध्येय लिएको हुन्छ । परम्परागत यौनिक चरित्रहरू, सामाजिक यौन प्रतिमानहरू, व्यक्तिगत र सामूहिक यौन चरित्रहरू आदि विषयहरूलाई नेपाली यौनपरक उखानहरूले समेटेको पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण