बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोमाञ्चक खेलमा नेपालद्वारा युएई ४ विकेटले पराजित

शुक्रबार, १८ माघ २०७५, १८ : ०७
शुक्रबार, १८ माघ २०७५

काठमाडौँ । संयुक्त अरब इमिरेट्स  (युएई) बिरुद्धको दोस्रो टी–२० खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको छ ।

जीतका लागि १ सय ८ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्यायो ।

दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकाडेमी मैदानमा आयोजित निकै रोमाञ्चक खेलको अन्तिम ओभरमा नेपाललाई जीतका लागि ७ रन आवश्यक रहेको थियो । तर, पहिलो बलमा नै १८ रन बनाएका पवन सर्राफलाई गुमायो ।

यद्यपि, दीपेन्द्र सिंह ऐरीले छक्का र चौका हिर्काउँदै नेपाललाई जीत दिलाए । उनले नटआउट रहँदै सर्वाधिक ४७ रन बनाए  । यस क्रममा उनले ४ चौका र १ छक्का हिर्काए । 

करण केसीले २० रनको योगदान दिए ।

योसँगै शृङ्खला १–१ को बराबरी भएको छ ।

यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाल सामु १ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

१९.२ ओभरमा अलआउट हुँदै युएईले १ सय ७ रन बनायो ।

युएईको शुरुवात राम्रो हुन सकेन ।

पहिलो ओभरमा नै सोमपाल कामीको बलमा अस्फाक अहमद ४ रन बनाएर पभिलियन फर्कन बाध्य बने । सोमपालले गुलाम सब्बरलाई तेस्रो ओभरमा आफ्नो दोस्रो शिकार बनाए ।

ओपनर चुन्डाङ्गापोयिल रिजवानले युएईको खेल सम्हाल्ने प्रयास गरे पनि नेपालले नियमित रुपमा युएईको विकेट लिइरह्यो ।

नेपालका अविनाश बोहराले सर्वाधिक ३ तथा सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए ।

४ ओभर बलिङ गरेका बोहराले मात्र २० रन खर्चिए । त्यस्तै, सन्दीपले आफ्नो निर्धारित ४ ओभरमा १९ तथा सोमपालले १५ रन मात्र खर्चिए ।

बोहराको बलमा आउट हुनअघि युएईका लागि रिजवानले सर्वाधिक ४४ रन बनाए । यस क्रममा उनले ४ चौका र १ छक्का हिर्काए ।

त्यस्तै, सइमान अनवरले १४ तथा मोहमद बुटाले ११ रनको योगदान दिए ।

आजको खेलमा नेपालले टोलीका नियमित दुई खेलाडी परिवर्तन गरेको थियो । वसन्त रेग्मी र रोहितकुमार पौडेललाई आराम दिइएको थियो । उनीहरुको स्थानमा पवन सर्राफ र ललित नारायण राजवंशीलाई मौका दिइएको थियो । पवनले राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय टी–२० मा डेब्यु गरेका छन् । ललितले यसअघि नेदरल्यान्ड्सविरुद्धको खेलमा डेब्यु गरेका थिए ।

यूएई  विरुद्धको एकदिवसीय सिरिज २–१ ले जितेको नेपालले टी–२० को पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप