बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हेमनारायण यादव हत्याको १५ वर्ष : छोरा र श्रीमती अझै न्यायको प्रतिक्षामा

शनिबार, १९ माघ २०७५, १२ : १२
शनिबार, १९ माघ २०७५

–एसके यादव
 

‘देखै छियै जे हत्यारा एकटा पातर पर्दाके पाछु खडा छै, ओकरा जवतक कठघारामे खडा नई करबै तबतक चैनके साँस हम नई लेब ।’ (अर्थात पातलो पर्दाको पछाडि हत्यारा उभिएको मैले हेर्दैछु, उनलाई जबसम्म म कठघारामा उभ्याउँदिन तबसम्म मैले चैनको स्वास लिन्नँ ।)

तत्कालीन नेकपा एमालेका तत्कालीन महासचिव माधव नेपालले सिरहा पुगेर हेमनारायण यादवको श्रद्धाञ्जली सभामा १५ वर्षअघि यस्तो धारणा व्यक्त गरेका थिए ।  तर हेमनारायणको हत्यामा संलग्न आरोपी अझै पक्राउ पर्न सकेका छैनन् । 

जबकी माधव नेपाल डेढ वर्षसम्म (२०६६–२–११ देखि २०६७–१०–२२ सम्म) प्रधानमन्त्री नै भए । तर उनले देखेको पर्दा पछाडिको अपराधीलाई बाहिर ल्याउन सकेनन् । उनी प्रधानमन्त्री भएको बेला सहिद हेमनारायण यादवकी श्रीमती पारो देवी यादव संविधानसभा सदस्य थिइन् । 

उनी संविधानसभा सदस्यको हैसियतामा दिनहुँ जस्तो प्रधानमन्त्री कार्यालय धाउँथिन् तर हेमनारायण यादवको हत्यारामाथि कारवाही भएन । हेमनारायण यादवका छोरा डा.नविन यादवले भन्छन्, ‘बुवाको हत्यापछि दोषीलाई कारवाही गर्न हामी आमा–छोराले प्रधानमन्त्रीदेखि लिएर सबैको ढोका ढक्ढक्यायौं तर कतैबाट न्याय पाइएन । अझै पनि न्याय पाइन्छ कि भन्ने आशामा छौं ।’

तत्कालीन एमालेका नेता हेमनारायण यादवको हत्या २०६० माघ १९ गते भएको थियो । उनको स्मृतिसभामा भाग लिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज सिरहा जाँदैछन् । उनले पनि दोषीमाथि कारवाही हुने प्रतिवद्धता जाहेर गर्ने र हेमनारायण परिवारको आँसु पुछ्ने बाहेक अरु केही गर्न नसक्ने राजनीतिकर्मी रामरिझन यादवको टिप्पणी छ । 

उनी भन्छन्, ‘मृत्यु भएदेखि यता विभिन्न श्रद्धाञ्जलीसभादेखि स्मृतिसभामा एमालेका नेताहरुले सिरहा आएर आश्वासन मात्र दिएर गएका छन् तर हालसम्म दोषीलाई कारवाही भएको छैन । तत्कालीन संसदीय छानविन समितिले दोषीको नाम किटेरै प्रतिवेदन बुझाएको थियो । तर हालसम्म कसैलाई कारवाही भएको छैन ।’

कसरी भयो हत्या ?
प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले रामरिझन यादवद्वारा सम्पादित ‘सिरहाके इतिहास’ नामक पुस्तकमा लेखे अनुसार २०६० माघ १९ गते एमाले जिल्ला कमिटीको बैठक तत्कालीन सचिव हीराबहादुर सुनवारको जिरोमाइलस्थित घरमा थियो । त्यहाँ जानका लागि हेमनारायण यादव आफ्नो घर (सिरहा) बाट मोटरसाइकलमा हिँडेका थिए ।

तर उनी त्यहाँ पुग्न सकेनन् । उनी बैठकमा किन आएनन् भनेर कसैले त्यो दिन सोधखोज पनि गरेनन् । भोलिपल्ट उनको शव कमला नदीको पश्चिम किनारमा फेला परेको थियो । उनी बैठकका लागि जान लाग्दा गागन पुलबाट अपहरणमा परेका थिए ।

महेन्द्र राजमार्गको २७ नम्बर कल्र्भट मुसहरनीयामा रहेको ढुगांखानीमा उनको हत्या भएको र हत्यापछि दिनभरी सेनाको चोहर्वा ब्यारेकमा राखिएको राज्यमन्त्री मण्डलले पुस्तकमा उल्लेख गरेका छन् । र पछि उनलाई कमला नदीको किनारमा फ्यालिएको थियो ।   

हत्यापछि विभिन्न आशंकाहरु व्यक्त भएको थियो । तत्कालीन संसदबाट हत्याको बारेमा गठन भएको छानविन समितिका संयोजक आनन्दन ढुगांना भन्छन्, ‘शव नजिक कम्युनिष्ट पार्टीको झण्डा उल्टो गाडिएको थियो । त्यहाँ माओवादी नेताको हत्या गराउन सुराकी गरेको भनि पर्चा फ्यालिएको थियो ।’

हत्यामा माओवादी मुछियोस् भन्ने ध्येयका साथ ती पर्चा र झण्डा त्यहाँ राखिएको थियो । तर त्यतिबेला पनि आम जनताले पत्याएका थिएनन् । तत्कालीन माओवादीले पनि त्यसको जिम्मेवारी लिएन, बरु त्यसमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पार्यो । 

त्यतिबेला धेरैले उनको हत्यामा तत्कालीन एमालेका केही नेता र सेनाकै संलग्नता रहेको आशंका गरेको पत्रकार समेत रहेका रामरिझन यादव बताउँछन् । 

‘सिरहाके इतिहास’ पुस्तकमा राज्यमन्त्री मण्डल लेख्छन्, ‘सिरहा प्रशासनलाई सुराकी गरी आफ्नो जिविका चलाउँदै आएका तत्कालीन नेता जयप्रसाद उपाध्याय यो घटनापछि सिरहाबाट भागेका छन् । हेमनारायणको बारेमा उहाँलाई थाह थियो कि कुनबेला घरबाट निस्किन्छन्, कति बजे बैठकमा पुग्नेछन् । यहाँसम्म कि गागन पुलमा हेमनारायण ठिक १२ वजे पुग्नेछन् भनि रिर्पोटिङ्ग उनले कर्णेल बाबुकृष्ण कार्कीलाई गरेका थिए । त्यही अनुसार कर्णेल कार्कीले आफ्ना जवानलाई मुखमा कालोपटी बाँधेर (नचिन्ने गरी) हेमनारायणलाई अपहरण गर्नका लागि पठाएका थिए ।’

के छ प्रतिवेदनमा ?
सिराहा क्षेत्र नम्बर ४ का तत्कलीन एमाले सांसद समेत रहेका हेमनारायण यादवको हत्या सेनाले नै गरेको ठहर समितिले गरेको थियो ।

२०६३ मंसिर १५ गते अन्तरिम संसदमा आयोगका संयोजक ढुंगानाले प्रस्तुत गरेका प्रतिवेदनमा हत्यामा इन्द्रध्वज गण चोहर्वाका कर्नेल बाबुकृष्ण कार्की दोषी रहेको किटान गरेका थिए । कर्णेललाई तत्काल निलम्बन तथा गिरफ्तार गरी कर्तव्य ज्यान मुद्दा चलाउन समेत सिफारिस गरिएको थियो ।
हत्यामा स्थानीय (एमालेका तत्कालिन जिल्ला सदस्य) जयप्रकाश उपाध्यायले सुराकीको काम गरेको बताउँदै समितिले उनलाई पनि कानूनबमोजिम कारबाही गर्न सिफारिस गरेको थियो । सिरहाबाट फरार उपाध्याय हालसम्म उता पर्केका छैनन् ।  

तत्कालिन एमाले पार्टीले बनाएको छानबिन समितिले पनि हेमनारायण यादवको हत्यामा राज्यपक्ष संलग्न रहेको ठहर गरेको थियो । प्रतिनिधिसभाको पुनःस्थापनापछि भने काँग्रेसका तत्कालीन सांसद आनन्द ढुङ्गानाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन गरिएको थियो ।

नेता ढुगांना भन्छन्, ‘घटना पुरानो हो, धेरै कुरा मलाई सम्झना पनि छैन तर मलाई यति थाह छ कि हामीले संसदमा प्रतिवेदन बुझाएका थियौं, सरकारले हालसम्म दोषीलाई कारवाही गरेको छैन । दोषी को को थिए त्यति सम्झना त छैन तर सेनाको नाम पनि त्यसमा आएको थियो । त्यसबारे पछि के–के भयो, त्यसको बारेमा सरकारले नै जवाफ दिनसक्छ ।’

हेमनारायणको हत्यापछि एमाले पटक पटक सरकारमा सहभागी भएको छ । अहिले पनि एमाले र माओवादी केन्द्र एकीकृत भएको नेकपाको सरकार छ ।  

हेमनारायणको हत्या हुँदा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता आफ्नो हातमा लिइसकेका थिए । ०६२–०६३ को आन्दोलनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । गणतन्त्रको घोषणा भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए ।
त्यसपछि माधवकुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई, केपी शर्मा ओली प्रधानमन्त्री भए तर हेमनारायणको हत्यामा संलग्नलाई कारवाही गर्ने काम कसैले गर्न नसकेको उनका छोरा डा.नविन यादवको आरोप छ । 

उनी भन्छन्, ‘मेरो बुवालाई हत्या गर्नेहरु खुल्ला रुपमा घुमिरहेका छन् । दोषी हो भनि सरकारले गठन गरेको आयोगले पनि किटानी गरिसकेको छ तर सरकारले कारवाही नगरेको देख्दा दुःख लागेको छ ।’
तत्कालीन एमालेको सरकार हुँदा पनि न्याय नपाएको भन्दै नविन यादव र उनका आमा पारो यादवले एमाले पार्टी छाडेका थिए । उनीहरु एमाले छाडेर तत्कालीन मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका थिए । 

तर केही दिनपछि फोरम नेपाल छाडेर नविन तत्कालिन माओवादी केन्द्रमा प्रवेश गरे । पछि माओवादी केन्द्र पनि छाडेर स्थानीय चुनावको समयमा तत्क्कालीन एमालेमा प्रवेश गरे । जुन कारणले एमाले छाडेका थिए, त्यो त पुरा नहुँदै किन पुनः एमालेमा प्रवेश गर्नुभयो भनि राखिएको जिज्ञासामा नविनले त्यसको पछाडि धेरै कारण रहेको बताए । 

रक्षामन्त्रीका कुरा 
नेकपाका नेता इश्वर पोखरेल अहिले रक्षामन्त्री छन् । उनकै मातहतमा रहेको नेपाली सेनालाई संसदीय समितिले दोषी देखाएको छ । 

२०६२ माघ १९ गते हेमनारायण यादवको स्मृतिसभामा सम्बोधन गर्न उनी विराटनगर हुँदै सिरहा जान लाग्दा राजविराजमा उनी पक्राउ परेका थिए । 

त्यतिबेला पनि उनी मन्त्री नै थिए । २०६२माघ १८ गतेको मन्त्रिपरिषद्को बैठकले हेमनारायण यादवको हत्या सम्वन्धमा छानबिन गर्न एउटा अधिकार सम्पन्न आयोग गठन गर्ने निर्णय भएको थियो । 

त्यो खुशीको समेत जानकारी गराउने उद्देश्यले उनी स्मृतिसभामा भाग लिनका लागि सिरहा जान लागेका थिए तर ज्ञानेन्द्र शाहको निर्देशनमा उनी राजविराजबाट पक्राउ परेका थिए । ज्ञानेन्द्रले सत्ता आफ्ना हातमा लिन थालेपछि त्यतिबेलाका मन्त्रीहरुलाई पक्राउ गरिएको थियो ।

पछि पोखरेल २०७३ कार्तिक १७ गते जनकपुरमा नेकपा एमाले प्रदेश नं. २ द्वारा दीपावली तथा छठ पर्वको उपलक्ष्यमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन सिरहा पुगेका थिए । सो क्रममा हेमनारायणको शालिकमा मल्यार्पण समेत गर्दै उनले हेमनारायणको हत्यामा संलग्नमाथि कारवाही गरेरै छाड्ने बताएका थिए । 

हेमनारायणको हत्याबारे रक्षामन्त्री पूर्णरुपमा जानकार छन् । तर यी सब कुरा थाहा हुँदापनि दाेषीलाई कारबाही नगरिएकोमा परिवारले असन्तुष्टि जनाए । 

के भन्छन् आरोपी कर्णेल ? 
हाल बाबकृष्ण कार्कीले सहायक रथीबाट अवकाश प्राप्त गरिसकेका छन् । हेमनारायण प्रकरणमा उनी भन्छन्, ‘यो धेरै पुरानो कुरा भइसक्यो, यद्यपी त्यतिबेला मैले निकै आरोप खेपेर बसे । ममाथि जुन आरोप लगाईएको थियो त्यो पूरै निराधार थियो । तैपनि मैले सहेर बसेर, त्यतिबेलाको अवस्था नै त्यस्तै थियो ।’

‘घटनाको बारेमा नेपाली सेना, मानव अधिकार आयोग, विभिन्न संघ संगठनले समेत छानविन गरेका थिए, त्यसमा मलाई कतै दोषी देखाइएको थिएन’, उनले  रातोपाटीसँगको कुराकानीमा भने, ‘त्यसबेला एमालेले पनि छानविन गरेको थियो । पछि मलाई पार्टीकै मान्छेले भने कि तपाइँलाई यसमा जर्वजस्ती नाम मुछिएको छ, तपाइँ त्यसको दोषी होइन ।’

सो घटना द्वन्द्वकालको घटना भएकाले सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत टुंगो लाग्नेमा आफू विश्वस्त रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप