पहाडकी रानी इलामको गहना – माइपोखरी
सौन्दर्यकी खानी, पहाडकी रानी भनेर चर्चित नेपालको पूर्वी क्षेत्रमा अवस्थित मनोरम जिल्लाको नाम हो इलाम । पर्यटन क्षेत्रका लागि अत्यन्तै आकर्षक गन्तव्य स्थलको रुपमा विकास गर्न सकिने र विकसित हुँदै आइरहेको इलाम जिल्लाको गहनाको रुपमा रहेको एउटा प्रमुख पर्यटकीय स्थल हो– माइपोखरी ।
हिन्दू र बुद्ध धर्मावलम्बीहरुका लागि अत्यन्तै आस्थाको केन्द्रको रुपमा मानिँदै र पुजिँदै आइएको माइपोखरी इलाम जिल्लाको सदरमुकामबाट करिब १५ किलोमिटर उत्तरतिर ६,९०० फिटको उचाइमा अवस्थित छ । करिब १ किलोमिटर क्षेत्रफलमा फैलिएको माइपोखारी सन् २००८ को अक्टोबरमा विश्व सिमसार क्षेत्रको रुपमा समेत सूचीकृत भइसकेको छ ।
आफ्ना वरिपरि माइपोखरी बोटानिकल गार्डेनलाई समेटेर बसेको त्यस क्षेत्रलाई जैविक एवं वनस्पति विविधिताको क्षेत्रका रुपमा समेत लिइन्छ । विभिन्न थरिका अर्किड फूलहरु, अन्य विविध लेकाली फूल तथा चाप, धूपी, सल्ला लगायतका रुखविरुवा तथा जडीबुटीहरु पाइने माइपोखरी क्षेत्र ह्वाइट रम्प्ड गिद्ध, चितुवा–बिरालो, युरेरियन ओटर र विश्वमै दुर्लभ मानिने एकखालको छेपारो (स्थानीय नाम ठकठके) को समेत बासस्थान हो । त्यस क्षेत्रमा ३०० प्रजातिका चराहरु पनि पाइन्छन् ।
दुर्भाग्यवश, अहिले माइपोखरी क्षेत्रमा बढ्दो आवासीय गतिविधि, वरिपरि बढ्दो चियाखेतीले त्यसको अस्तिवमाथि खतरा र चुनौतीहरु बढेर गएको छ । विशेष गरी, मानवीय गतिविधिको बृद्धिसँगै रुखविरुवाहरुको विनाश तथा चियाखेतीमा बढ्दो अजैविक विषादीको प्रयोगले समगू्र पर्यावरणीय प्रणाली अर्थात् इकोसिस्टममा नै खतरा उत्पन्न हुन थालेको छ ।
सौभाग्यवश, त्यो खतराका विरुद्ध लड्न र जुघ्न स्थानीय वासिन्दाहरु जुर्मुराउन थालेका पनि छन् । आचारसंहिताको निर्माण गर्ने र पर्यावरणीय सन्तुलन खज्मज्जिने गतिविधिहरुमा रोक लगाउन तथा जनचेतना अभिबृद्धिका लागि विभिन्न गतिविधिहरु सञ्चालन हुनु निश्चय पनि स्वागतयोग्य कुरा हो ।
जेहोस्, पर्यटनमा रुचि राख्नेहरुका लागि इलाम जिल्ला एक पटक अनिवार्य रुपमा पुग्नै पर्ने स्थान हो । त्यसमाथि थप, इलाम पुगेपछि माइपोखरी नजाने हो भने त्यो नून बिनाको तरकारी खाए जस्तै हुने त पक्कै छ ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण