नख्खु बम विस्फोटको जिम्मेवारी लिँदै ‘विप्लव’ ले भन्यो : क्रान्तिमा यस्ता सानातिना घटना हुन्छन्
शुक्रबार ललितपुरको नख्खुमा एक जना सर्वसाधारणको ज्यान जाने गरी गराइएको विस्फोटको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले घटनाको झण्डै ४८ घण्टापछि जिम्मेवारी लिएको छ ।
विप्लव नेतृत्वको नेकपाका मध्ये केन्द्रीय कमाण्ड इञ्चार्ज तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले विस्फोटको जिम्मेवारी लिँदै विष्फोट सर्वसाधारण लक्षित नभएको बताएका छन् ।
बिबिसी नेपाली सेवासँगको अन्तरवार्तामा ओलीले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालयअगाडि गराइएको विस्फोटमा सर्वसाधारणको ज्यान गएकोमा आफूहरूलाई ‘दुःख लागेको’ समेत बताए ।
सर्वसाधारणको ज्यानै जानेगरी तपाईंहरुले किन नख्खुमा बम विस्फोट गराउनुभयो ?
क्रान्तिका दौरानमा यस्ता सानातिना घटना हुन्छन् । यसप्रति हामी गम्भिर रुपले समिक्षा गर्दछौँ र हामी दुःखित पनि छौँ ।
एउटा बटुवा बाटो हिडिरहँदा, घर जान लाग्दा घरै पुग्न सकेन अनाहकमा ज्यान गुमायो । त्यसलाई सानोतिनो घटना भन्न मिल्छ ?
होइन, हामीले त्यस्तो भनेकै छैन ।
अहिले भर्खरै तपाईंले त्यस्ता सानतिना घट्ना हुनछन् भन्नुभयो नि ?
बटुवा हाम्रो निशाना होइनन् । जो बटुवा वा मानिस हिँड्दै हुनुहुन्थ्यो । उहाँलाई लाग्न पुग्यो, त्यसप्रति हामीले दुःख प्रकट गरिसकेका छौँ ।

यसरी दुख प्रकट गरेर वा क्षमा याचना गरेर ज्यान फर्काउन सकिन्छ त हेमन्त जी ?
त्यसो त सिरियाका लाखौँ जनताको ज्यान फर्कँदैन नि अब ।
तपाईंँकै शव्द सापटी लिनुपर्दा कुनै कम्पनीले लुटेको छ भने, राज्यका विभिन्न निकायहरु छन्, न्यायपालिका छ यसो गर्दै जाने हो भने तपार्ईंंले भनेको धेय प्राप्त हुन्छ ?
तपार्ईंंले के बुझ्नुस् भने न्यायपालिका वा सरकार कुनैपनि निकायले त्यसप्रति ध्यान नै दिएनन् । स्वयम् न्यायलय नै यसबाट प्रभावित बन्यो ।
त्यसो हो भने एउटा पार्टी नै राज्य र व्यक्ति नै न्यायपालिका हुन पाउछ ?
यो राज्य अन्न्यायपूर्ण छ भनेर हामीले यसका विरुद्ध बैकल्पिक र प्यारलल राज्यकै घोषणा गरिसकेका छौँ ।
नागरिकको ज्यान लिने गरि भएको घटनाप्रति राज्यले कडा कारवाही गर्ने घोषणा गरेको छ । तपार्ईंंहरु अब राज्यले गर्ने कारवाहीका लागि तयार हुनुहुन्छ ?
यसरी सरकारले न्यायापुर्ण कार्यलाई अन्यायपुर्ण तरिकाले आउन थाल्यो भने नेपाली जनताले नराम्रोसँग प्रतिरोध गर्नेछन् । त्यसको साथसाथै राज्यसत्ताबाटै लखेटेर नयाँ राज्यसत्ता पूर्णरुपमा स्थापित गर्नेछन् ।
तपार्ईंंले कुन नेपाली जनताको कुरा गर्नुभयो ? त्यो विष्फोट र त्यसमा ज्यान गुमाएको घटनाप्रति सर्वत्र निन्दा भएको छ । के ती नेपाली जनता होइनन ?
हामीले भनिसक्यौँ त । मुख्य काम जे गर्न खोजेका छौँ त्यसमा त्रुटीहरु हुन गए । जसले ज्यान गुमाए त्यसप्रति हामीले दुःख प्रकट गर्दै उहाँको परिवारलाई राहतका लागि हामी आफ्नोतर्फबाट पनि पहल गर्छौँ ।
तपार्ईंंहरुले भन्ने गरेको क्रान्तिका लागि अझै कति निर्दोष नेपालीले ज्यान दिनुपर्छ ? र, जसको बलिदानीको उपलब्धिमा टेकेर राजनीतिक स्वार्थ पुरा गर्नुहुन्छ ?
यो कुरा प्रचण्ड र बाबुरामहरुलाई सोध्नुपर्छ । बादललाई पनि सोध्नुपर्छ । किनभने उनीहरुले अनाहकमा १७ हजार मानिसको ज्यान लिएका छन् । तिनिहरुलाई सजाय हुनुपर्छ र हामी यस्ता कमी–कमजोरी हुन नदिन पूर्ण सचेत हुनेछौँ ।
तपार्ईंहरुले बर्ताको कुरा पनि गर्नुभएको छ । यो वार्ताको खेल सरकारलाई अल्झाउने खेल त हैन नि ?
हामीले वार्ताको कुरा गरेका होइनौँ । उनीहरुले गर्ने गरेको वार्ताको कुराको जवाफ कहिलेकाहीँ दिने गरेका छौ ।
तपाईंँहरु शान्तिपुर्ण ढंगले आफ्ना मागहरु सम्बोधन हुन् भन्ने पक्षमा हुनुहुन्न ?
हामी समस्याको समाधान भनेर धेरै पर्खिराखेका थियौँ । तर कुनै समस्याको समाधान हुने हामीले नदेखेपछि अगाडि बढ्नुको विकल्प छैन ।
वार्ताबाट केही निस्कियोस् भनेर तपाईंहरु कुर्न नसक्नुभएको हो ?
वार्ता गर्नै चाहँदैन सरकार । वार्ताको विषयबस्तु नै स्पष्ट छैन । अब वार्ता हामी केमा गर्छौ भने १७ हजार मानिसहरुले संसदीय व्यवस्थाका विरुद्ध बन्दुक उठाएर त्यही काँधमा–काँध मिलाउन जान भनेका थिएनन् । त्यस्तै हामीले ८० प्रतिशत भुभाग कव्जा गरेका थियौँ त्यो यथावत रहनुपर्दछ । हामीसँग ४० हजार जनमुक्ति सेना बनेको थियो त्यसलाई पुननिर्माण गर्नुपर्छ भन्ने विषयमा हामी वार्ता गर्न तयार छौँ ।
विगतको नेतृत्वले गल्ती गर्यो भनेर भन्दाभन्दै तपार्ईंंहरु पनि उहि बाटो हिँड्दै हुनुहुन्छ । अनि तपाईंँहरु पनि उनीहरुभन्दा कसरी फरक हुनुभयो त ?
आमुल परिवर्तनका लागि हामी जुन बाटोमा हिँडिरहेका थियौ क्रान्तिको बाटोमा । वर्ग संघर्ष छोडेर वर्ग समन्वयतर्फ लाग्यो र र प्रतिकृयावादीहरुसँग साँठगाँठ गरेर सत्तामा पुगेको छ विगतको नेतृत्व ।
कतिपयले त तपाईंहरु मोटो रकमको चन्दा माग्नुहुन्छ र त्यो रकम नपाएपछि विस्फोट गराउनुहुन्छ भनेका छन् । तपाईंहरुको यो कुन वाद हो ?
यस्तो भ्रममा कोही लाग्नु हुँदैन । हामीले मोटो रकम लिनका लागि यस्तो खालको क्रान्तिको जोखिमपूर्ण बाटोमा हिँडिराखेका छैनौ ।
र यो पनि...
नख्खु बम विष्फोट प्रकरण : किन मौन छ विप्लवको पार्टी ?
(ओलीसँग बीबीसी नेपाली सेवाका गनि अनसारीले आइतबार साझ लिएको अन्र्तवार्ता )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण