बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

के आईसीसीले मिलाउला भारत र पाकिस्तानको विवाद ?

मङ्गलबार, १४ फागुन २०७५, १० : ०५
मङ्गलबार, १४ फागुन २०७५

भारत र पाकिस्तानबीचको विवाद अहिले चरम उत्कर्षमा पुगेको छ । कस्मिरमा हालै भएको आक्रमणमा ४० जना भारतीय सैनिकको मृत्यु भएपछि दुई छिमेकीबीचको आक्रोश थप चुलिएको हो ।

भारत यस हमलामा पाकिस्तानको हात रहेको आरोप लगाइरहेको छ भने पाकिस्तानले भने घटनामा कुनैपनि प्रकारको संलग्नता नरहेको बताउँदै आएको छ ।

भारत र पाकिस्तानको चर्को विवादसँगै आगामी मे ३० देखि जुलाई १४ तारिखसम्म इङ्ल्यान्ड र वेल्समा हुने विश्वकप क्रिकेट पनि प्रभावित बन्ने भएको छ ।

भारतले विश्वकपमा पाकिस्तानसँग नखेल्ने धम्की दिएको छ । अधिकांश भारतीयले पाकिस्तानविरुद्धको खेल रद्द गरिनु पर्ने माग गरिरहेका छन् ।

विश्वकपमा भारत र पाकिस्तानबीचको खेल जुन १६ तारिखमा परेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भने आगामी विश्वकपमा भारत र पाकिस्तानबीच म्यानचेस्टरमा तय भएको खेल रद्द नहुने बताएको छ ।

‘हामी विश्वकपमा सहभागी सदस्य राष्ट्रको अवस्था अध्ययन गरिरहेका छौँ । दुःखद घटनाले हामी सबैलाई प्रभावित बनाएको छ । खेलकुद, त्यसमा पनि क्रिकेटसँग यस्तो अचुक क्षमता छ । जसले सबै देशका मानिसलाई एक ठाउँमा जोड्छ । हामी सदस्य राष्ट्रसँग यही आधारमा काम गर्नेछौं,’ आईसीसीले भनेको छ ।

आईसीसीले विश्वकप सबै राष्ट्रको भाइचारा साट्ने थलो भएकोले सबै खेल नियमित तालिका र योजना अनुसार अघि बढ्ने पनि स्पस्ट पारेको छ । आईसीसीले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) सँग पनि आवश्यक छलफल गरिरहेको जनाएको छ ।

बीसीसीआईले भने आतंकवाद जन्माउनेसँगको नाता तोड्नुपर्छ भन्दै आईसीसीलाई घुर्की देखाइरहेको छ । भारतीय कप्तान विराट कोहलीले सरकार र क्रिकेट बोर्डले गर्ने निर्णय खेलाडीलाई सर्वस्वीकार्य हुने बताएका छन् ।

विश्वकप सम्म आईसीसीले पाकिस्तान र भारतलाई मैदानमा मिलाउन सक्ला कि नसक्ला भन्ने चासो अहिले विश्वभर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप