बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाँजाको प्रयोगमा कुन देशमा के छ व्यवस्था ?

सोमबार, २० फागुन २०७५, १८ : १३
सोमबार, २० फागुन २०७५

गाँजाको कानुनी मान्यताको सन्दर्भमा विभिन्न देशमा फरक–फरक व्यवस्था कायम छ । धेरै संस्कृतिहरुमा गाँजाजन्य वनस्पतिहरुलाई हजारौँ वर्षदेखि चिकित्सीय प्रयोजनको लागि प्रयोग गरिँदै आएको इतिहास छ ।

एक समय गाँजालाई कडा खालको लागु–पदार्थ मानिन्थ्यो ।

हिप्पी अभियान शिखरमा हुँदा यो मान्यता विकास भएको थियो । त्यही समयमा नै विश्वव्यापी रुपमा गाँजामाथि प्रतिबन्ध लाग्यो । 

हिप्पी अभियान र गाँजा प्रतिबन्ध

दोस्रो विश्वयुद्ध लडेका पुस्ताहरुको सन्तानहरु युवा अवस्थामा पुग्दा त्यो पुस्ताको ठूला जमातमा समाजका स्थापित मान्यताहरुप्रति वैराग उत्पन्न भएको थियो ।

यसरी वैराग्यताका कारण अमेरिका र युरोपबाट ठूलो संख्यामा युवाहरु समूह समूह बनाएर पूर्वीय देशहरु तर्फ आएका थिए । यस अभियानलाई हिप्पी अभियान भनिन्छ । हिप्पी अभियानमा सहभागीलाई हिप्पी भनिन्थ्यो ।

उनीहरु समाजका सबै जिम्मेबारी त्यागेर अधिकाशं समय गाँजा समेत लागु पदार्थमा झुम बस्थे ।

समाजको सक्रिय पुस्ताको ठूलो हिस्सामा यस्तो समस्या देखिएपछि यीनलाई नियन्त्रण गर्न अधिकाशं मुलुकले लागु पदार्थहरुमाथि प्रतिबन्ध लगाए । यसमा गाँजा समेत पर्यो । केही विज्ञहरुका अनुसार विश्वस्तरमा गाँजामाथिको प्रतिबन्धमा पश्चिमा राष्ट्रहरुको दवाव दिएका थिए ।

विश्वयुद्धको मुल रणभूमि भएकाले युरोप र अमेरिकाका युवाहरु धेरै हिप्पी अभियानमा सहभागी भएका थिए । त्यही भएर पनि उनीहरु आफ्ना युवाहरुको कुलत हटाउने नाममा विश्वभरी गाँजामाथि प्रतिबन्ध लगाउन दवाव दिए ।

गाँजाको औषधीजन्य गुणहरु

तर पछिल्लो समय गाँजा लागु–पदार्थ हो कि कृषिजन्य पदार्थ हो भन्ने कुरामा विवाद छ । हिप्पीहरुलाई नियन्त्रण गर्नको लागि लागु–पदार्थमा नियन्त्रण गर्दा गाँजा र भाँग घानमा परेको उनीहरुको दावी छ । उनीहरुले गाँजालाई आम वनस्पतिको अतिरिक्त औषधीको गुण भएको उपयोगी वस्तु बताएका छन् ।

यो कुरालाई नयाँ अनुसन्धानहरुले पनि सही ठहराएको छ । पछिल्लो समय गरिएका यस सम्बन्धमा कयैन अध्ययनहरु भएका छन् । यी अध्ययन–अनुसन्धानले गाँजा क्यान्सरका उपचार गराइरहेका विरामीहरुलाई उपयोगी हुने देखाएको छ ।

क्यान्सरको उपचारको लागि प्रयोग हुने किमोथेरापी गराउदाँ विरामीहरुमा वाकवाकी लाग्ने र वान्ता हुनेजस्ता साइड इफेक्ट देखिन्छन् । गाँजामा यी साइट इफेक्टलाई कम गर्ने गुण हुन्छ ।   

त्यस्तै एचआईभी–एड्स भएका मानिसहरुमा खानाको अरुची हुदाँ पनि गाँजाले त्यसलाई सुधार गर्ने अनुसन्धानले देखाएको छ । त्यसका साथै गाँजाले ज्यान दुख्ने र माँसपेसीमा हुने पीडालाई कम गर्ने देखिएको छ ।

त्यस अतिरिक्त गाँजा सेवनले अल्जाइमर, ग्लाउकोमा, छारे रोग लागेकाहरुलाई औषधीजन्य फाइदा हुने चिकित्सकीय वेबसाइट वेव–एमडीले लेखेको छ ।

गाँजालाई वैध बनाउन हुने नहुनेबारेमा विवाद

तथापी गाँजालाई हानिकारक मान्नेहरु यसको प्रयोगको असर हुने कुरालाई नकार्न नहुने बताउँछन् । गाँजाको प्रयोगले चक्कर आउने, थकान अनुभव हुने , धमिलो देखिने समस्या उत्पन्न हुन्छ । तर फाइदाको तुलनामा यी असरहरु सामान्य नै मान्न सकिन्छ । 

गाँजामा हुने केमिकलको यति धेरै चिकित्सकीय फाइदा हेरेर केही चिकित्सक संस्थाहरुले गाँजामाथि रहेको प्रतिबन्ध हटाउने माग राखेका छन् ।

उनीहरुका अनुसार गाँजामाथिको प्रतिबन्धको कारण कत्ति अवस्थामा गाँजाको अनुसन्धान प्रभावित हुने गरेका छन् । यसले गर्दा गाँजाको थप फाइदाहरुबारे उजागर हुन नसकेको उनीहरुको भनाई छ ।

तर गाँजालाई वैध बनाउने कुराको विरोध गर्नेहरुले सर्वत्र खुल्ला हुदाँ गाँजाको तल लाग्नेको संख्या बढ्ने र धेरै अवस्थामा बच्चाहरुले झुक्किएर खाने सम्भावना रहने बताएका छन् । 

तर गाजाँ ओषधीजन्य फाइदाको लागि मात्र प्रयोग भने गरिदैन । केही लागु गुणको कारण त्यसबाट प्राप्त हुने क्षणिक आनन्दको लागि गाँजाको प्रयोग हुने कुरा सर्वविदित्तै छ ।

गाँजाको प्रयोग पूण रुपमा वैध भएका देशहरु

उरुग्वे गाँजाको चिकित्सकीय तथा मनोरञ्जन दुवै प्रयोगको लागि कानुनी मान्यता दिने पहिलो राष्ट्र हो । त्यहाँ गाँजाको मनोरञ्जनात्मक प्रयोग पनि कानुनी रुपमा वैध छ ।

उरुग्वेका राष्ट्रपति जोसे मोहिकाले सन् २०१३ डिसेम्बरमा यससम्बन्धि एक कानुनमा हस्ताक्षर गरे । वैधता दिएको पनि लामो तयारी पछि अन्ततः सन् २०१७ मा देशका सो¥ह फार्मेसीलाई व्यापारिक रुपमा गाँजाको विक्री गर्न अनुमति दिइएको छ ।

गाँजाको प्रयोग वैध भएको भए पनि यी फार्मेसीभन्दा अन्यत्रबाट बिक्री गर्न पाइँदैन । उरुग्वेको सरकारले देशले भोगिरहेको कडा खालको ड्रग्सको विस्तारसँग जुध्न र ती ड्रग्सको बिक्रीबाट हुने कालो धन कमाइ रोक्न यो कदम उठाएको थियो ।

उरुग्वेलाई पछ्याउँदै क्यानडाले पनि सन् २०१८ अक्टोबर १७ मा गाँजामाथि रहेको सबै बन्देजहरु अन्त्य गर्र्यो । तर त्यसअघि नै सन् २००१ जुलाईमा उसले गाँजाको चिकित्सीय प्रयोगलाई वैध बनाएको थियो ।

दक्षिण अफ्रिका, मेक्सिको र जर्जियाले पनि गाँजालाई मनोरञ्जनात्मक र चिकित्सकीय प्रयोजनको लागि खुल्ला गरेका छन् । तर यी राष्ट्रहरुमा आफैले उमोरेको गाँजाको सेवनलाई मात्र छुट छ ।

उल्लेखित चार देशले जनताले गाँजाका कति बोट उमार्न पाउने भन्ने कुराको पनि सीमा तोकिएको छ । यी देशहरुमा गाँजाको बिक्री वितरण गरेको पाइएमा कारबाही हुन्छ ।

गाँजालाई वैध नबनाएको तर प्रयोगकर्तामाथि अपराधिक मुद्दा नलाग्ने देशहरु

संसारभरीनै गाँजाको सेवन गर्ने सबैभन्दा ठूलो संख्या युवामा हुन्छ । गाँजाको प्रतिबन्धको विरोध गर्नेहरुले सामान्य लागु वनस्पति ‘गाँजा’को प्रयोगकै आधारमा अपराधिक मुद्दा चलाउदाँ धेरै युवाहरुको पृष्ठभूमि आपराधिक देखिने बताउँछन् ।

यसले ती युवाहरुको भावी रोजगारीमा आघात पर्ने उनीहरु तर्क गर्छन् ।

यो कुरा अमेरिकामा अश्वेत युवाहरुमा धेरै हदसम्म लागु भएको देखिन्छ । उनीहरुमाथि थोरै परिणामको गाँजा बोकेकै आधारमा अपराधिक मुद्दा चल्ने गर्छ ।

आपराधिक रेकर्ड भएकाहरुलाई उद्यम गर्न अफ्ठ्यारो हुन्छ । उनीहरुलाई बैंकले पैसा दिन मान्दैन । त्यस्तै रोजगारदाता पनि उनीहरुलाई काममा राख्न असहज मान्छन् । यसले गर्दा उनीहरु रोजगारीको अभावमा अपराधकर्म अथवा गरिबीमा धकेलिएको देखिन्छ ।

यो कुरालाई मध्यनजर गरेर पछिल्लो समय कयैन राष्ट्रहरुले गाँजालाई वैध नगरेको भए पनि रमाइलोका लागि यसको प्रयोग गर्नुलाई आपराधिक नमान्ने व्यवस्था गर्न थालेका छन् ।

यिनमा एन्टीगुवा एण्ड बरबुडा, अर्जेन्टीना, अष्ट्रेलिया, लक्जम्बर्ग, माल्दोभा, स्वीट्जरल्याण्ड, पेरु, पोल्याण्ड, स्लोभेनिया, अष्ट्रिया (व्यक्तिगत प्रयोग गर्दा), चिली (व्यक्तिगत प्रयोजनको लागिमात्र) छन् ।

त्यस्तै केही देशहरुले भने कति मात्राको गाँजाको मनोरञ्जनात्मक प्रयोगलाई अपराध नमान्ने भने सीमा तोकेका छन् ।

यी राष्ट्रहरुमा बेल्जियम(३ ग्रामसम्मको), जमैका (२ ओजसम्म), नेदरल्याण्ड(५ ग्रामसम्म), पोर्चुगल(२५ ग्रामसम्म), रुस(६ ग्रामसम्म), कोलम्बिया, (२० ग्रामसम्म), कोष्टा रिका, क्रोयसिया, चेक रिपब्लिक( १० ग्रामसम्म), इक्वेडर( १० ग्रामसम्म), माल्टा( ३.५ ग्राम), प्यारागुए( १० ग्रामसम्म), बेलिज( १० ग्रामसम्मको), बरमुडा(७ ग्रामसम्म), बोलिभिया(५० ग्रामसम्म) छन् ।

गाँजाको मनोरञ्जनात्मक प्रयोग निषेध रहे पनि प्रयोगकर्तालाई वेवास्ता गर्ने राष्ट्रहरु

केही देशमा भने गाँजाको मनोरञ्जनात्मक प्रयोगमा प्रतिबन्ध भए पनि प्रयोगकर्ताहरुलाई वेवास्ता गर्ने नीति लिइएको देखिन्छ । त्यहाँ रमाइलोको लागि गाँजा सेवनकर्ताहरुलाई सम्झाउने अथवा पुन नगर्ने सर्तमा छाड्ने गरिन्छ ।

यस रणनीतिको उदेश्य पनि देशका सक्रिय उमेर समुहका सदस्यहरुको आपराधिक रेकर्ड नबनोस् भन्ने हो ।

यो सुचिमा रहेका देशहरु निम्न छन् ः अष्ट्रेलिया, बंग्लादेश, कम्बोडिया, इजिप्ट, इस्टोनिया, फिनल्याण्ड, जर्मनी(थोरै मात्रामा भेटिएमा), भारत, इरान, इजरायल, इटाली, लाओस, लेसोथो, मोरक्को, म्यानमार, पाकिस्तान , स्पेन, थाइल्याण्ड, भियतनाम । यो सुचिमा अधिकाशं रुपमा एशियाली राष्ट्रहरु देखिन्छन् ।

चिकित्सकीय प्रयोगको लागि गाँजालाई वैधता दिएका राष्ट्रहरु

गाँजाको चिकित्सकीय गुणहरु उजागर हुदैं गएपछि विश्वका धेरै राष्ट्रहरुले धमाधम गाँजाको औषधोपचारमा वैधता दिन थालेका छन् ।

तल उल्लेखित राष्ट्रहरुको सुचि सन् २०१८ सम्मको भएकाले यी राष्ट्रहरुमा थप घट हुनसक्छ ।

गाँजालाई चिकित्सकीय प्रयोगको लागि पूर्ण छुट दिने राष्ट्रहरु निम्न छन् ः जिम्वावे, भानु–आतु, थाइल्याण्ड, स्वीजरल्याण्ड, श्रीलंका, दक्षिण अफ्रिका, साना मारिनो, पोर्चुगल, पोल्याण्ड, पेरु, नर्वे, नर्थन म्यासेडोनिया, न्यू–जील्याण्ड, नेदरल्याण्ड, मेक्सिको, माल्टा, लक्जर्मवर्ग, जमैका, इटाली, इजरायल, जर्मनी, ग्रीस, जर्जीया, डेनमार्क, चेक रिपब्लिक, साइप्रस, क्रोसिया, कोलम्बिया, चिल्ली, क्यानडा, बरमुडा, अष्ट्रेलिया, अर्जेन्टीना ।

माथि उल्लेखित देशमा धेरै जसो युरोपेली र सम्पन्न देशहरु छन् ।

अन्य केही देशले भने निश्चित सर्तहरुका साथ मात्रै गाँजालाई छुट दिएको छ । यसमा  ब्राजिल( स्याटीभेक्स नामक एक औषधीको लागि मात्र), फ्रान्स (केही गाँजा रहेका औषधीलाई छुट), स्लोभेनिया (गाँजामा आधारित ड्रग्सलाई मात्र, गाँजा अलग्गै प्रयोगमा भने रोग), स्पेन (सिमित रोगको लागि मात्र), दक्षिण कोरिया (तीन रोगको उपचारको लागि मात्र) छन् ।

तर इस्टोनिया, फिनल्याण्ड , आयरल्याण्डले चिकित्सकीय प्रयोजनको लागि गाँजालाई छुट दिएको भए पनि यसको लािग विशेष अनुमति लिइनुपर्छ ।

अमेरिकामा संघले गाँजाले प्रतिबन्ध लगाए पनि राज्यहरुमा अलग व्यवस्था

अमेरिकाले गाँजालाई बैध नबनाएको भए पनि एक पछि अर्को राज्यमा त्यहाँ गाँजामाथि रहेका प्रतिबन्ध हटाउने कानुन पारित भइरहेका छन् ।

संघीय स्तरमा अझै पनि गाँजा प्रतिबन्धित लागु–औषधीको सेड्युल–एक सुचिमा छ । तथापी अमेरिकाको संघीय प्रणालीमा राज्यहरु धेरै हदसम्म अधिकारसम्पन्न भएकाले एक पछि अर्को राज्यहरुले गाँजालाई बैध बनाइरहेका छन् ।

त्यहाँको राज्यहरुमा पनि विश्वको बाँकी भागमा अंगिकार गरिएजस्तै तीन विकल्प लिइएको छ ।

अमेरिकाका ५० राज्यमध्य १० राज्य र डिक्ट्रिक्ट अफ कोलम्बियाले गाँजाको मनोरञ्जनात्मक प्रयोगलाई समेत वैधता दिएका छन् ।

त्यस्तै वैधता नदिए पनि अमेरिका १३ राज्यले गाँजाको प्रयोगलाई वैधता प्रदान नगराएको भए पनि, प्रयोगकर्तालाई अपराधिक मुद्दा नचलाउने नीति लिएका छन् । 

चिकित्सकीय प्रयोगमा भने त्यहाँका राज्यहरु अगाडि आएका छन् । हालसम्म संयुक्त राज्यका ३३ राज्यहरुले चिकित्सकीय प्रयोगका लागि गाँजालाई वैध मान्यता दिएका छन् ।

नेपालमा भने अरु भन्दा फरक

नेपालमा भने अन्य दिन गाँजा प्रतिबन्ध भए पनि शिव रात्रीको बेला छुट हुने व्यवस्था थियो । तर पछिल्लो समय भने सरकारले शिव रात्रीको दिन पनि कडाई गर्न थालेको छ ।

अन्त्यमा उत्तर कोरियाले भने गाँजा प्रयोग सम्बन्धमा कुनै जानकारी उपलब्ध नगराएकाले त्यहाँको अवस्थामा भने अज्ञात रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप