बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कविता : डाक्टरका अक्षर

शनिबार, २३ चैत २०७५, १२ : १८
शनिबार, २३ चैत २०७५

अच्यूतशाली घिमिरे


बाले म सानो हुँदा
अस्पतालमा
जँचाएको पुर्जी
सिरानीमा राख्नुहुन्थ्यो,
बा नभाको बेला
म ओल्टाई पोल्टाई हेर्थें
डाक्टरका अक्षरहरु
किरिङ मिरिङ
नबुझिने
अनि थुप्रै काला कमिलाले
एकै साथ
पाहड चढ्न आँटेको जस्तो
सानो मसिनो
बाको पावर वाला चस्मा लाएर नि हेर्थें
भताभुङ्ग बाङ्गा टिङ्गा
अनि अङ्ग्रेजीका अल्फाबेटहरु
सबै अस्पष्ट देख्थेँ 
सायद कक्षामा अक्षर
नराम्रो भएरै
धेरै चोटि कुखुरो बनेको
मेरो ज्यान
त्यो दिन बाख्रीको पाठो झैँ
खुशीले उफ्रिएको थियो
किनकि डाक्टरका
भन्दा म एक कक्षा पढ्ने
फुच्चेको
अक्षर स्पष्ट र बुझिने खालका थिए

म ठूलो हुँदै गए धेरै पढेँ
शुद्ध राम्रो अक्षर लेखन प्रतियोगितामा
प्रथम पनि भएँ
डिग्रीहरु हासिल गरेँ
तर खै आजकल समाजमा
प्रतिष्ठित डाक्टर भएर
एप्रोन लाएर
बिरामीको अगाडि हिस्ट्री लेख्न बस्दा
आफ्नै बालापनले 
मलाई नराम्रररी चिमोट्दछ,
मैले लेख्ने अक्षरहरु
एकआपसमा
कुस्ती खेलेर थाकेका
बलवान झैँ
बिनाइस्त्री सुटकेसमा
कोचिएको लुगाझैँ
बर्खामासको खहरेझैँ
सुकेका पत्झरहरुझैँ
अस्वीकृत गुलाफका
छिन्न भिन्न पत्रहरुझैँ
अन्धाधुन्ध पोखिन्छन्
कागजहरुमा ।
मलाई थाहा छैन
यो बिरामीको चापले हो कि ?
मसीको अभिशापले हो ?
तर धेरैले यसलाई
अल्छीपना सँगको डेटिङ भन्छन्
फार्मेसी र डाक्टरको सेटिङ भन्छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप