कविता : मुलुकको गति
-सविता सुवेदी
हो म पीडामा छु
तिमीले भनेजसरी, तिमीले देखे जसरी, अरे बाबा तिमी नै जसरी
तिमीले देखेका सपना जसरी
पश्चिमेली मुलुकको गति देखेर
दौड प्रणाली देखेर
आफ्नो देशका
रुखा सुखा ठुटाहरू मौलाउने आसमा
वसन्तको आगमनको झुल्को देख्दै
म होमिए बौदलका लागि
या लोकतन्त्र या गणतन्त्र सबैका लागि
छोटा समयमा धेरै नै दौडिएर गन्तव्य हराएपछि
हो म आत्तिएको छु, हरेक नागरिक जसरी
तिमी र म दुवै खुब लडेका थियौँ
कसको जित भन्दै
रामे काले सबैलाई आफ्नै प्यानल बनाउन
कस्सिएका थियौँ
कहिले तिमीले जित्यौँ, कहिले मैले जिते
मदिराको नसा शून्य रहेछ चुनावको अगाडि
आज रोएका छौँ,
गालीका वर्षा बर्साएका छौँ
दुवै नतमस्तक हुन्छौँ तिनका आगाडि
नहुनु पनि कसरी
रोजीरोटीको डर तिमीलाई पनि छ,
मलाई पनि छ
हाम्रो परिवार समाज सबैलाई छ
फेरि चुनाव आउँछ
उस्तै हुन्छ भुलभुलैया चक्र जसरी
हो म तिनकै पुच्छर हो, तिमी नै जसरी
म विश्वास कसैको गर्दिनँ
हैन बाबा गरूँ पनि कसरी ?
म नेतालाई भ्रष्ट देख्छु
कर्मचारी ठग देख्छु
हरेक व्यक्ति गुलाम देख्छु
विभिन्न सङ्घ संस्था, विदेशीको अखडा सोच्छु
देशको रक्षा गर्ने नै स्वयम् आफ्नै रक्षाको भीख मागेको देख्छु
सबै गलत देख्छु
सही केही पनि देख्दिनँ
राम्रो भए पनि देख्दिनँ नभए पनि देख्दिनँ
वा देख्ने चाहन्न या देखेकै छैन
पट्टी बाँधे जसरी, हो तिमी नै जसरी
नेतालाई संजाय दिनु पाए केके गर्थें होला
यी भोट दिने औँलाहरूलाई पनि
सोचिरहन्छु
मन कुडाउँछु
दाँत किटिरहन्छु
मुड्की बटारेर भुइँमा हान्दै
विध्वंश गर्न मन लाग्छ
लड्न मन लाग्छ के गर्नु, बेस्सरी गाली गर्न मन लाग्छ
त्यस्ता शब्द प्रयोग गरेर जुन बनेकै छैन
अङ्ग्रेजी हिन्दी उर्दु वा नेपाली सबै भाषामा
म मिचिएको छु
देशका सिमाना जसरी, तिमी नै जसरी
म पनि सपना देख्न थालेँ
हरेक रातपछिको बिहान यसरी बद्लियोस
मेरो देश सयौँ वर्ष फड्को मारेजसरी
परिवर्तन आओस्
झिना मसिना विकासको आँखै लाग्दैन
विकास भएको हो कि होइन
बुझ्नै सक्दिन, होइन बुझ्ने पनि कसरी
मैले चाहेको परिवर्तनको रुपरेखा नै देख्दिनँ
देख्छु उस्तै अनि मगज तातेर आउँछ
नेताका भाषणले झन् बढाउँछ
उम्लिएर भाँडा रित्तै बनाइदेऊ जसरी
म हुर्किएको छु तिमी नै जसरी
सर्टिफिकेटका पत्राहरु बोक्दा बोक्दै
आफन्त र पहुँचबिना
हरेक ढोकामा भएका धोका
ठूला इच्छा बोकेर देशमा
केही गर्ने सोचको युवा
बादलले ठक्कर खाएपछि झर्ने पानी
मेरा आँखा हुँदै चिउँडोबाट झरेर
माटोको अम्लियपना बढाए जसरी
अमिलिएका मन धमलिएका सर्टिफिकेट
सबै कसेर
खांडी मुलुक भासिएको छु,
कैयौँ युवा जसरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण