बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मानवीय त्रुटीका कारण हुन्छ ७८ प्रतिशत दुर्घटना, सचेतना अभियान तीव्र बनाउँदै प्रहरी

सोमबार, २७ साउन २०७६, १२ : ०३
सोमबार, २७ साउन २०७६

काठमाडौँ । नेपालमा हुने सडक दुर्घटनामा मानवीय त्रुटीका कारण ७८ प्रतिशत दुर्घटना हुने तथ्याङ्कले देखाएको छ ।

सडक दुर्घटनामा नेपालमा वार्षिक रुपमा औसत २४ सय जनाले ज्यान गुमाउने गरेका छन् । गत वर्ष मात्र दुर्घटनामा ६ हजार २ सय ७ जना घाइते भएका थिए ।

काठमाडौँ उपत्यकामा मात्र गत आर्थिक वर्ष २ सय ५४ जनाको निधन भएको थियो । त्योभन्दा अघि १ सय ९४ ले ज्यान गुमाएकोमा गत आर्थिक वर्ष सो संख्या ३० प्रतिशतले वृद्धि भएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अधिकांश दुर्घटना मानवीय त्रुटीका कारण हुने देखिएपछि प्रहरीले यतिबेला ट्राफिक सचेतना कार्यक्रमलाई तीव्र बनाएको छ । प्रहरी प्रधान कार्यालय र महानगरीय ट्राफिक प्रहरी कार्यालयको समन्वयमा विशेष गरेर विद्यालयलाई लक्षित गरेर ट्राफिक जनचेतना कार्यक्रम गरिरहेको छ ।

नेपाल प्रहरीद्वारा सञ्चालित सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ट्राफिक व्यवस्थापनामा ट्राफिक भोलेन्टियरको जिम्मेवारी पाएका पूर्व प्रहरी निरिक्षक सीताराम हाछेथुले सचेनता अभियन्ताको रुपमा यतिबेला विद्यालयमा पुगेर ट्राफिक सचेतनासम्बन्धि कक्षा सञ्चालन गरिरहेका छन् ।

एक हप्ताको अवधिमा ३ हजार ३६९ जना विद्यार्थीले ट्राफिक सचेतनाबारे कक्षा लिइसकेका छन् । ख्वप माध्यमिक विद्यालय, बागेश्वरी माध्यमिक विद्यालय, माउन्ट एभरेस्ट, भारती स्कूल, विद्यार्थी निकेतन, मिनर्वा स्कूल, टोडलर्स एकाडेमी, फाइनान्स कम्पनी र भक्तपुर रोटरी क्लबमा प्रहरीले सचेतना कक्षा सञ्चालन गरिसकेको छ ।

हाछेथु भन्छन्, ‘कडा कारवाहीले मात्र दुर्घटना कम गर्न सकिँदैन । यसका लागि सडक सभ्यता सिकाउन र दुर्घटना कम गर्न सचेतना महत्त्वपूर्ण हुन्छ ।’ ट्राफिकलाई देखेपछि मात्र नियम पालना गर्ने यहाँको संस्कार रहेको अवस्थामा ट्राफिक नियम मेरै लागि हो भन्ने सचेतना फैलाउन सके दुर्घटनाको संख्यामा कमी ल्याउन सकिने उनले विश्वास व्यक्त गरे ।

हाछेथुका अनुसार ‘ट्राफिक नियम पालना आफैबाट शुरु गरौँ’ भन्ने मूल मन्त्रका साथ शुरु गरिएको यो अभियानमा ट्राफिक पालना किन आवश्यक छ, बाटोमा हिँड्ने तरिका, बाटो काट्ने तरिका र सवारी दुर्घटना न्यूनीकरणका उपायबारे कक्षा सञ्चालन गरिन्छ ।

‘सानो गल्तीले गर्दा ज्यान जाने मात्र होइन अपाङ्ग भएर जीवन बिताउनुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘एक जनाको गल्तीले परिवारलाई नै कष्ट हुन्छ । मोटरसाइकलको कुरा गर्दा चालकले सानो लापरवाही गर्दा अरुको ज्यान जाने मात्र आफू जेल जाने र ज्यान गुमाउने अवस्था आउँछ ।’

राजधानीमा सडक प्रयोगकर्ताले सडक अनुशासनको पालना नगर्ने समस्या देखिएको छ । त्यही भएर आकाशे पुल र जेब्रा क्रसिङको उपयोगिताबारे सचेनता आवश्यक रहेको हाछेथुको भनाई छ ।

यसमा पनि बालबालिकालाई सुरक्षित बनाउन विशेष पहलको आवश्यकता रहेको उनी औँल्याउँछन् ।

‘हामी घरमा र स्कूलमा बालबालिकालाई सबै सिकाउँछौ तर ट्राफिक नियमबारे कमै सिकाइन्छ । विद्यालयमा सबै विषयका शिक्षक हुन्छन् तर ट्राफिकबारे जानकारी दिने शिक्षक हुँदैन,’ उनी भन्छन्, ‘भविष्यका कर्णधारहरुलाई यसबारे शिक्षा दिए तत्काल र भविष्यमा दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।’

विद्यालय जाँदा आउँदा होस् या सामान्य कामको लागि आवतजावत गर्दा विद्यार्थीले सडक सवारीसाधानको प्रयोग गरेका हुन्छन् । अभिवाकसँगै नभएको बेलामा विद्यार्थीहरुले आफै पनि सवारी नियमबारे सचेत हुन जरुरी छ ।

प्रहरीले सचेतना अभियान शुरु गरेसँगै अहिले विभिन्न विद्यालयले आफै सम्पर्क गरेर सचेतना कक्षा सञ्चालनका लागि निमन्त्रणा गर्न थालेका छन् ।

कुनै पनि विद्यालयले आफ्ना विद्यार्थीका लागि ट्राफिक सचेतना कक्षा सञ्चालन गर्न चाहे हाछेथुको मोबाइल नम्बर ९८५१०९१७७७ मा सिधै सम्पर्क सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप